सर्वाधिक दर्शक ओइरिएका ६ विश्वकप

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

विश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्रको आम्दानी स्रोत नै टिकट बिक्री हो । जति धेरै समर्थक रंगशाला पुग्छन्, त्यति नै आयोजकको आम्दानी बढ्दै जान्छ । विश्वकपम दर्शकको उपस्थिति पातलो हुँदा आयोजक राष्ट्र घाटामा जान्छ । विश्वकप आयोजना गर्नु सामान्य होइन । विश्वकप आयोजक राष्ट्र घोषणा हुँदा उसले कम्तीमा एक दशक लगाएर तयारी गर्छ । आयोजकले भौतिक पूर्वाधारदेखि विश्वस्तरीय रंगशाला निर्माणमा अर्बौँ डलर लगानी गरेको हुन्छ । चार वर्षअघि भएको विश्वकपमा कतारले दुई सय २९ बिलियन पाउन्ड खर्चेको थियो । लगानीका रूपमा कतार विश्वकप अहिलेसम्मकै महँगो मानिएको छ । पछिल्लो संस्करणसम्मको विश्लेषणअनुसार ६ विश्वकपमा सर्वाधिक दर्शकको उपस्थिति भएको देखिन्छ । तथ्यांकअनुसार सन् १९९४ मा अमेरिकाले आयोजना गरेको विश्वकपमा अहिलेसम्म धेरै दर्शक रंगशालामा पुगेर फुटबल खेल हेरेका थिए ।

सन् १९९४ (अमेरिका) दर्शक उपस्थिति : ३५ लाख ६८ हजार पाँच सय ६७
अमेरिकाले आयोजना गरेको प्रतियोगितामा सर्वाधिक दर्शक ओइरिएका थिए । उत्तरी अमेरिका महादेशमा विश्वकप हुँदा दर्शकले विश्वस्तरीय रंगशालामा बसेर खेलको मजा लिए । अमेरिकामा विश्वकप आयोजना हुँदा अस्वाभाविक रूपमा दर्शकको उपस्थित नसोचेकै भयो । प्रतिखेलमा औसत दर्शकको उपस्थिति ६९ हजार एक सय ७४ रहेको थियो । ब्राजिल र इटालीबिच भएको फाइनल सञ्चालन गरेको रोज बाउल रंगशालामै एक लाखभन्दा बढी दर्शकले प्रतिस्पर्धा हेरेका थिए । अमेरिकाले नौ सहरका नौवटा रंगशालामा विश्वकपका समूह चरणदेखि फाइनलसम्म खेल आयोजना गरेको थियो । कुल ५२ खेलको विश्लेषण गर्दा ३५ लाख ६८ हजार पाँच सय ६७ दर्शक रंगशाला पुगेरै फुटबल हेरेका थिए । प्रतियोगितामा ब्राजिलले इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो ।

सन् २०१४ (ब्राजिल) दर्शक उपस्थिति : ३४ लाख ४१ हजार चार सय ५०
सन् २०१४ मा ब्राजिलले चरम आर्थिक संकट झेल्दै विश्वकप आयोजना गर्‍यो । यद्यपि, विश्वकपमा आर्थिक पक्षबाट केही असर भएन । ब्राजिलले विभिन्न १२ सहरका १२ वटै रंगशालामा विश्वकप आयोजना गर्‍यो । ब्राजिलमा दोस्रो सर्वाधिक दर्शकको उपस्थिति रह्यो । समग्रमा ३४ लाख ४१ हजार चार सय ५० दर्शक रंगशाला पुगेका थिए । प्रतिखेलको औसत दर्शक ५३ हजार पाँच सय ९२ रहेको थियो । ३२ राष्ट्र सहभागी भएको विश्वकपमा जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १–० ले पाखा लगाएको थियो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी अर्जेन्टिनी कप्तान लियोनल मेसी भए । जर्मनीका गोलरक्षक म्यानुएल नुएर उत्कृष्ट गोलरक्षक बने । विश्वकपमा ब्राजिलले जर्मनीसँग खराब रेकर्ड सेमिफाइनलमा राख्यो । जर्मनीले ब्राजिलको पोस्टमा ७–१ को गोल गरेको थियो ।

सन् २०२२ (कतार) दर्शकको उपस्थिति : ३४ लाख चार हजार २५२
फिफाले चुनौतीको सामना गर्दै मध्यपूर्वी एसियामा विश्वकप आयोजना गर्न अवसर दिएको थियो । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले कतारलाई सन् २०२२ को आयोजक राष्ट्र छनोट गर्दा ठुलै विरोध भएको थियो । तर, चार वर्षअघिको आयोजक कतारले चर्को गर्मीको मौसममा पनि सफलतापूर्वक विश्वकप आयोजना गर्न सफल भयो । कतारले सबै रंगशालामा एयरकुलिन व्यवस्था गरेको थियो । जसले खेलाडी तथा दर्शकले गर्मीको महसुस गर्न पाएनन् । यस विश्वकपमा दर्शकको उपस्थितिले पनि रेकर्ड राख्यो । यहाँ प्रत्यक्ष रूपमा ३४ लाख चार हजार २५२ दर्शकले रंगशालामै फुटबल खेले । मेसीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकप उपाधि जित्यो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।

सन् २००६ (जर्मनी) दर्शक उपस्थिति : ३३ लाख ६७ हजार
आठ वर्षको अन्तरमै युरोपले विश्वकप आयोजना गर्‍यो । सन् १९९८ मा फ्रान्स विश्वकप आयोजक राष्ट्र बनेको थियो । सन् २००६ मा जर्मनीले विश्वकप आयोजना गरेको थियो । युरोपियन भूमिमा विश्वकप फर्कंँदा दर्शकको उपस्थिति त्यति सन्तोषजनक हुन सकेन । जर्मनीले १२ सहरका १२ वटा विश्वचर्चित रंगशालामा ६४ वटा खेल खेलाएको थियो । फाइनलसम्मको दर्शक उपस्थितिअनुसार चौथो सर्वाधिक संख्या हुन गयो । विश्वकपमा ३३ लाख ५९ हजार चार सय ३९ दर्शकले रंगशालामै पुगेर हेरे । प्रतिखेल दर्शक औसत ५२ हजार चार सय ९१ रहेको थियो । प्रतियोगितामा मिरोस्लाम क्लोज सर्वाधिक गोलकर्ता हुँदा पाँच गोल गरेका थिए । जर्मनीको भूमिमा इटालीले चौथोपटक विश्वकप उचाल्यो ।

सन् २०१० (दक्षिण अफ्रिका) दर्शक उपस्थिति : ३१ लाख ७८ हजार आठ सय ५६
दक्षिण अफ्रिकाले पहिलोपटक आयोजना गर्‍यो । सन् २०१० मा दक्षिण अफ्रिकी भूमिमा विश्वकप हुँदा दर्शकको उपस्थिति न्यून हुने अनुमान थियो । अफ्रिकाको लाइफ स्टायल र त्यहाँ फुटबल कल्चर नहुँदा आयोजक घाटामा जान सक्ने विश्लेषण गरियो । तर, अफ्रिकी भूमिमा घरेलु दर्शकको उपस्थिति उल्लासमयी रह्यो । जसका कारण दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा पाँचौँ सर्वाधिक दर्शक ओइरियो । यस विश्वकपमा ३१ लाख ७८ हजार आठ सय ५६ दर्शकले प्रत्यक्ष फुटबल खेल हेरेका थिए । विश्वकपमा प्रतिखेलमा ४९ हजार ६ सय ७० दर्शक आएका थिए । स्पेनले पहिलोपटक विश्वकप उपाधि उचालेको थियो । स्पेनले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हरायो । प्रतियोगितामा पाँचजना खेलाडीले समान पाँच गोल गर्दै गोल्डेन बुट जिते ।

सन् २०१८ (रसिया) दर्शक उपस्थिति : ३० लाख ३१ हजार सात सय ६८
रसियाले विश्वकप आयोजना गर्दा समर्थक निकै दंग परेका थिए । आयोजक रसियाले विश्वकपभरि नै ‘फ्री सेक्स’ गरेको थियो । युरोपियन, दक्षिण अमेरिका तथा दक्षिण अफ्रिकी राष्ट्रका समर्थक फ्री सेक्सप्रति मोहित बनेका थिए । राजनीतिक तनावबिच विश्वकपमा ३० लाख ३१ हजार सात सय ६८ दर्शक उपस्थित भए । रसियाले १२ मध्ये ११ सहरका रंगशालामा खेल खेलायो । कुल ६४ खेल भएको विश्वकपमा प्रतिखेल ४७ हजार तीन सय ७१ जना दर्शकको उपस्थिति थियो । फ्रान्सले उपाधि जित्दा क्रोएसियालाई हराएको थियो । प्रतियोगितामा इंग्ल्यान्डका ह्यारी केन ६ गोलका साथ सर्वाधिक गोलकर्ता बने । 

See More On

सुझावित समाचार