सगरमाथा चढ्ने किशोर पुस्ता

सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर किशोर पुस्ताले समेत कीर्तिमान राखिसकेको छ

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

७३ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखे । उनीहरूले सन् १९५३ मे २९ तारिखका दिन बिहान साढे ११ बजे सगरमाथामा पाइला राखेका थिए । त्यसपछि सयौँ आरोहीहरू सगरमाथाको चुचुरोमा पुगेर साहस प्रदर्शन गरिसकेका छन् । यसमध्ये २० वर्षमुनिका युवाहरूले पनि सगरमाथाको शिखरमा पुगेर आफ्नो कीर्तिमान राखिसकेका छन् । उनीहरूको शाहसले हिमाली क्षेत्रका नयाँ पुस्तालाई मात्र होइन, देशभरका किशोर–किशोरी र युवालाई पनि ठुलो सपना देख्न, त्यसका लागि निरन्तर प्रयास गर्न प्रेरित गरेको छ ।

जोर्डन रोमेरो (१३ वर्ष)
कम उमेरमा सगरमाथा चढ्ने आरोहीहरूमध्ये अमेरिकाका जोर्डन रोमेरो हुन् । उनले १३ वर्ष १० महिनामै सगरमाथा आरोहण गरेका थिए । उनले सन् २०१० मे २२ मा तिब्बततर्फबाट सगरमाथा आरोहण गरेका थिए । उनले आफ्नो बुबा र आमासँगै सगरमाथाको सफल आरोहण गरेका थिए । क्यालिफोर्नियाका उनले नौ वर्षको उमेरमै विद्यालयमा सगरमाथाको भित्तेचित्र देखेपछि नै सगरमाथा आरोहण गर्ने सपना बोकेका थिए । सगरमाथा आरोहणको तयारीस्वरूप एक वर्षसम्म उनले कडा अभ्यास गरेका थिए । 

मालवाथ पुर्णा (१३ वर्ष)
भारतकी मालवाथ पुर्णा सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी महिला हुन् । उनले १३ वर्ष ११ महिनामै सगरमाथा आरोहण गरेकी थिइन् । उनले सन् २०१४ मे २५ मा सगरमाथा आरोहण गरेकी हुन् । तेलंगनाकी उनी सगरमाथाको शिखरमा पुग्ने भारत तथा विश्वकै सबैभन्दा कम उमेरकी बालिका बनिन् । सगरमाथा आरोहणको तयारीका क्रममा उनले लद्दाख र दार्जिलिङका पहाडमा पदयात्रा गरेकी थिइन् । सगरमाथाको आरोहणपछि उनले सन् २०१६ मा माउन्ट किलिमन्जारोको सफल आरोहण गरिन् । सन् २०१७ मा रुस तथा युरोपको सबैभन्दा अग्लो शिखर ‘माउन्ट एल्ब्रस’मा भारतीय झन्डा फहराइन् ।

मिङकिपा शेर्पा (१५ वर्ष)
मिङकिपा शेर्पाले १५ वर्ष १० महिनामै सगरमाथा आरोहण गरेकी थिइन् । उनले सन् २००३ मे २४ मै सगरमाथा आरोहण गरेकी थिइन् । उनी सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी नेपाली हुन् । उनले नेपालतर्फबाटै सगरमाथा आरोहण गरेर रेकर्ड कायम गरेकी थिइन् । १६ वर्षभन्दा कम उमेरका पर्वतारोहीहरूलाई आरोहण गर्न नेपाली कानुनले रोक लगाएको भए तापनि मिङकिपाले आफ्ना दाजु र दिदीसँग मिलेर सफल आरोहण गरेकी थिइन् ।

तेम्बाछिरी शेर्पा (१६ वर्ष)
तेम्बाछिरी शेर्पाले सन् २००१ मे २३ मा सगरमाथा आरोहण गरेका थिए । त्यतिवेला उनी १६ वर्ष पुगेका थिए । उनले तिब्बततर्फबाट सगरमाथा आरोहण गरेका थिए । दोलखाका उनी अहिले पनि पर्वतारोहण क्षेत्रमा सक्रिय छन् ।

छिरिङ पासाङ शेर्पा (१६ वर्ष)
जब अधिकांश किशोरहरू भविष्यको सपना बुन्दै विद्यालयका कक्षामा व्यस्त हुन्छन्, त्यही उमेरमा छिरिङ पासाङ शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा उभिएर इतिहास रचेका छन् । १६ वर्षको उमेरमै उनले नेपालतर्फ (दक्षिण मोहडा)बाट सगरमाथा आरोहण गरेका थिए । उनी नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो किशोर हुन् । उनले भने,‘जब शिखरमा पुगेँ, मेरो परिवार सम्झिएँ । मेरा बाबा र आमाले टेकेको शिखर यही हो, जहाँ मैले टेकेँ भन्ने सम्झिएँ ।’ उनलाई अरू पनि हिमाल चढ्न सक्छु भन्ने लाग्यो । एसइई दिएको तीन दिनमै सगरमाथा आरोहणका लागि घरबाट निस्किएका छिरिङले ४०औँ दिनमा सगरमाथा आरोहण गर्न सफल भएका थिए ।

सोलुखुम्बुका उनका आमाबुबाले सगरमाथाको फेदमै संघर्ष गरे । त्यहीँ आफ्ना कठिन दिनहरू गुजारे । तर, उनले यो अवस्था भोग्नुपरेन । उनी काठमाडौंमै जन्मे, हुर्के । तर हिमाललाई नजिकबाट हेर्ने, छुने अवसर पाएनन् । तैपनि सानैदेखि उनले आफ्नावरिपरि हिमालसँग जीवन जोडिएका मानिसहरू देखे । छिरिङका बुबा लाक्पा तेम्बा शेर्पाले तीनपटक सगरमाथा आरोहण गरिसकेका छन् । उनको आमा डोल्मा लामाले एकपटक सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनीहरूलाई नै पछ्याउँदै छिरिङले पनि सगरमाथाको सफल आरोहण गरे ।

छिरिङ अब अर्को महत्वपूर्ण यात्राको तयारीमा छन् । यसपटक उनको लक्ष्य अर्को हिमालको चुचुरो छुनु मात्र होइन, आफ्नो आमासँगै एउटा साझा सपना पूरा गर्नु पनि छ । सगरमाथा आरोहण गरिसकेकी उनकी आमा र छिरिङ अब विश्वको आठौँ अग्लो हिमाल मनास्लुतर्फ अघि बढ्दै छिन् । जब उनीहरू मनास्लुको शिखरतर्फ अघि बढ्नेछन् । एकातिर अनुभवले भरिएको आमाको आत्मविश्वास हुनेछ, अर्कोतिर युवा जोशले भरिएको छोराको उत्साह । ‘मैले सगरमाथा मात्र चढ्न खोजेको होइन, म प्रत्येक हिमालको शिखरमा पुग्न चाहन्छु । मनास्लु, अन्नपूर्ण, आमादब्लमलगायत सबै हिमाल चढ्ने सपना बोकेको छु । हेरौँ कहाँसम्म पुगिन्छ ।,’ उनले भने । 

सोनाम शेर्पा (१७ वर्ष)
२०७८ साल जेठ १० गते बिहान ८:५० बजे । सगरमाथाको चुचुरो धेरै टाढा थिएन । उचाइसँगै हावाको वेग बढिरहेको थियो । प्रत्येक पाइला कठिन बन्दै गएको थियो । सास फेर्नसमेत संघर्ष गर्नुपर्थ्यो । तर, मनभित्रको सपना भने कमजोर भएको थिएन । अनेक चुनौती र कठिनाइ पार गर्दै १७ वर्षीय सोनाम शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथामा पाइला टेके । त्यो ऐतिहासिक क्षणमा उनका साथमा थिए बुबा पूर्णकुमार शेर्पा ।

सगरमाथाको शिखरमा पुगेर सोनामले संसारलाई माथिबाट हेरे । हिमालहरू तल देखे । बादलहरू पाउमुनि देखे । त्यो क्षण शब्दमा बयान गर्न गाह्रो हुन्छ, उनलाई । ‘हिमालको यात्रा बल्ल थाहा पाएँ,’ उनले मुस्कुराउँदै भने,‘मौसम छिनछिनमै बदलिन्थ्यो । उडाउलाजस्तो हावा चल्थ्यो । चुनौती धेरै थिए । तर, खुसीको कुरा हामीले सफल आरोहण गर्‍यौँ ।’

त्यो सफलताको कथा भने चुचुरोबाट सुरु भएको थिएन । त्यो कथा धेरै वर्षअघि सुरु भएको थियो । सोनामको बाल्यकाल गाउँमै बित्यो । घरमा बारम्बार हिमालको चर्चा हुन्थ्यो । प्रकृतिको कुरा हुन्थ्यो । जलवायु परिवर्तनको चिन्ता सुनिन्थ्यो । यी सबै कुरा सुनाउने व्यक्ति थिए उनका बुबा पूर्णबहादुर शेर्पा ।

सगरमाथा चढ्नु मात्रै सोनामको लक्ष्य थिएन । उनी एउटा सन्देश बोकेर त्यहाँ पुगेका थिए । त्यो थियो, जलवायु परिवर्तनको सन्देश । सगरमाथाको चुचुरोबाट उठेको उनको आवाज वास्तवमा पृथ्वी बचाउने अभियानको आवाज हो । सोनामको कथा केवल सानै उमेरमा सगरमाथा चढेको आरोहीको कथा मात्र होइन, बाबु–छोराको प्रकृतिप्रतिको प्रेमको कथा पनि हो ।

१७ वर्षको उमेरमा धेरै किशोर आफ्नो भविष्य खोजिरहेका हुन्छन् । सोनाम भने संसारको सर्वोच्च शिखरमा उभिएर भविष्यको पृथ्वी बचाउने सन्देश दिइरहेका थिए । त्यसैले उनको आरोहण विशेष थियो । सगरमाथाको चुचुरोमा उभिएको त्यो किशोर आज पनि एउटा सन्देश सुनाइरहेको छ,‘प्रकृति बचाउन सके मात्र हिमाल बच्छ, हिमाल बचे मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ ।’

निमा रिन्जी (१७ वर्ष)
निमा रिन्जी शेर्पाले सन् २०२३ मे २४ मा सगरमाथा आरोहण गरे । संखुवासभाका उनले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए । उनी बिहानै २ बजेर १५ मिनेटमै सगरमाथाको शिखर पुगेका थिए । घामको किरणभन्दा अघि सगरथामा पुग्नुको कारण भने उनलाई सोही दिन ल्होत्से हिमाल पनि आरोहण गर्नु थियो । ‘मनास्लु र आमादब्लमपछि मैले सगरमाथा आरोहण गरेको हुँ । सगरमाथाको आरोहणलगत्तै ल्होत्से हिमालमा पाइला राख्ने उद्देश्यले घामको किरणभन्दा पनि छिट्टै म र मेरो परिवारको अर्को सदस्यसँगै सगरमाथा पुगेको थिएँ,’ निमा रिन्जीले भने । ए लेभल अध्ययन गरिरहेका उनी १५ दिनमा दुई हिमाल आरोहण गरेर काठमाडौं परीक्षा दिन आइपुगेका थिए । काठमाडौंबाट उनी पाँच दिनमै बेसक्याम्प पुगे । १० दिनमै सगरमाथा आरोहण गरेर फर्किएँ । उनी अहिले पनि पर्वतारोहण क्षेत्रमै सक्रिय छन् । 

शम्भु तामाङ (१७ वर्ष)
सिन्धुपाल्चोक लिसंखु पाखरका शम्भु तामाङ १७ वर्ष ६ महिना १५ दिनको उमेरमै सगरमाथाको शिखरमा पुगे । उनले सन् १९७३ मे ५ मा सगरमाथाको सफल आरोहण गरेर ‘गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड’मा पहिलोपटक सबैभन्दा कम उमेरको आरोहीका रूपमा नाम दर्ता गराएका थिए । उनको कीर्तिमान झन्डै २८ वर्षसम्म कसैले तोड्न सकेको थिएन ।

उक्त दिन दुई नेपाली शम्भु तामाङ, लाक्पा तेन्जिङ शेर्पा र दुई इटालियन रिनाल्डो कारेल र मिरको मिनुज्जो सगरमाथाको शिखरमा पुगेका थिए । उनीहरूको त्यो आरोहणको कथा अन्तर्राष्ट्रियस्तरमै चर्चा भएको थियो । किर्तिमानी इटालियन आरोहीहरूलाई त्यहाँको सरकारले प्रतिष्ठित पदक क्याभलरीले सम्मान गरेको थियो । उनीहरू उत्तरी मोहोडा अर्थात् तिब्बती क्षेत्रबाट पनि सगरमाथाको शिखर पुगेका थिए । शम्भु तामाङको क्यान्सरको कारण २०७९ असार २३ गते निधन भयो ।

पेम्बा ग्याल्जेन शेर्पा (१८ वर्ष) 
पेम्बा ग्याल्जेन शेर्पाले १८ वर्षकै उमेरमा सगरमाथा आरोहण गरे । उनले सन् २००८ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । पेम्बा ग्याल्जेनले सोलुखुम्बुकै गुम्बामा नौ वर्ष लामा पढे । तर, उनलाई गुम्बामा बस्न मन लागेन । गाउँका शेर्पाहरूले हिमालमा गएर पैसा कमाएको देखे । त्यसपछि पेम्बालाई पनि लाग्यो, अब हिमालमा काम गर्नुपर्छ । पैसा कमाउने उदेश्यले उनी काठमाडौं आए । काठमाडौं उनका लागि सजिलो थिएन । चिनेजानेका कोही पनि थिएनन्  । जेठा दाइ पनि हिमालतिर भारी बोक्न गइरहन्थे । काठमाडौंमा उनले काम पाएनन्  । फेरि उनी भरियाको रूपमा काम गर्न लुक्ला फर्किए । तीन वर्षपछि फेरि उनी काठमाडौं आए  । ‘त्यसवेला मलाई दाइले नै भारी बोकेर मात्रै हुँदैन भनेर बोलाउनुभयो  । अब गाइडको काम गर्नुपर्छ भन्नुभयो  । मलाई क्लाइम्बिङका लागि तालिम केन्द्रमा भर्ना गरिदिनुभयो,’ उनले सम्झिए । त्यसपछि उनले पर्वतारोहण क्षेत्रमै काम गरिरहेका छन् ।

सेरोज कसिफ (१९ वर्ष)
पाकिस्तानको लाहोरमा जन्मिएका १९ वर्षीय सेरोज कसिफले सन् २०२१ मे ११ मा सगरमाथा आरोहण गरे । सगरमाथाको चुचुरोमा पाकिस्तानको झन्डा फहराएसँगै उनी पाकिस्तानको सबैभन्दा कान्छो सगरमाथा पर्वतारोही बने । कसिफले सानैदेखि हिमाल आरोहण गर्ने सपना बुनेका थिए । उनले ३८८५ मिटरको माकरा पिक, ४०८० मिटरको मुसु कामुसल्ला पिक, ४६०० मिटर छेम्ब्रा पिकको समेत आरोहण गरिसकेका छन् । 

See More On

सुझावित समाचार