पुरानो सहमतिलाई आधार मानेर अहिले प्रदेशको सरकारमा पालो फेर्नैपर्ने बाध्यता किन आइलाग्यो ?
विगतमा कांग्रेस र एमालेबिच आलोपालो नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार नै प्रदेशमा सरकार कायम छन् । यतिखेर दुवै पार्टीभित्र एमालेले नेतृत्व गरेका प्रदेशमा कांग्रेस र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा एमालेले नेतृत्व गर्ने गरी अघि बढ्नुपर्छ भन्ने मत बलियो भइरहेको छ । यतिखेर हामीसित पूर्वसहमतिअनुसार नेतृत्व बदल्ने, यसैलाई कायम राख्ने या नयाँ समीकरण बनाउने तीनवटा विकल्प छन् । तर, पहिलो विकल्प भने नेतृत्व बदल्ने नै रहेको छ ।
साढे तीन वर्षमा २८ मुख्यमन्त्री र दुई सय ९१ मन्त्री बनिसके । अझै कति थप्ने ?
विगतमा संघमा गठबन्धनको अभ्यास गर्दा त्यसलाई हामीले यति विकृत बनायौँ कि जनतालाई जवाफ दिनसमेत नसक्ने अवस्था बन्यो । तल प्रदेशमा पनि त्यस्तै विकृत अभ्यास देखियो । सरकार बनाउने संख्या भए पुग्ने अवस्था सिर्जना भयो । त्यसलाई जनताले पटक्कै रुचाएनन् । जसले गर्दा पछिल्लो निर्वाचनमा हामी दण्डित पनि भइसक्यौँ । त्यसैले, हामीले यस विषयमा पनि गम्भीरतापूर्वक छलफल गर्नुपर्ने अवस्था छ ।
पुरानै नेताले गरेको सहमति नछाड्ने भए कांग्रेसमा नयाँ नेतृत्व आएको अर्थ के भयो ?
हो, नयाँ नेतृत्व आएपछि पनि किन पुरानै सहमतिलाई निरन्तरता भन्ने प्रश्न उठ्ने चुनौती पनि छ । यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ र अझै थप छलफल गर्नेछौँ । औसत छलफलले आगामी चुनौतीलाई सम्बोधन गर्न सकिन्न । त्यसैले, यस्तो चुनौती चिर्न हामी ‘आउट अफ बक्स’ जानुपर्ने पनि हुन सक्छ । यस विषयमा पनि हामी सचेततापूर्वक छलफल गर्नेछौँ ।