- अत्यन्त त्रासद इतिहासको बाबजुद धेरै युवा रुवान्डाली सम्भावित भावी नरसंहारलाई बढावा दिने विभाजन नहोस् भन्नेमा एकमत छन्
धेरै युवा रुवान्डालीका लागि जुलाई ४ मा पर्ने मुक्ति दिवस विगतको सम्झना गर्ने दिन मात्र नभई भविष्य परिभाषित गर्ने आशाको दिन पनि बनेको छ । क्लाउडेट कामिकाजीको स्मारिका पसल आउने जोकोही पर्यटकले रुवान्डा बाँकी संसारसामु आफूलाई कसरी प्रस्तुत गर्न चाहन्छ भन्ने एक झलक पाउँछन् । पछिल्लो समय सरकारले पर्यटन क्षेत्रमा ठुलो लगानी गरेकाले विदेशी आगन्तुकको आगमन बढेको छ र विगत केही वर्षदेखि यस क्षेत्रमा निरन्तर वृद्धि देखिएको छ ।
देशलाई चिनाउने पर्यटन क्षेत्रमा जोडिएकी कामिकाजीको जीवनलाई भने उनको देशको सबैभन्दा अँध्यारो अध्यायले अझै आकार दिइरहेको छ । २९ वर्षीया युवती कामिकाजीको जन्म सन् १९९४ मा तुत्सी समुदायविरुद्ध मच्चिएको नरसंहारपछि भएको थियो । सन् १९९४ अप्रिलदेखि सुरु भएर करिब १०० दिन मच्चिएको जातीय सफायाका क्रममा लगभग आठ लाख मानिस मारिएका थिए । कैयौँ रुवान्डावासीलाई ३२ वर्षपछि पनि नरसंहारको सम्झना अझै जीवितै छ ।
हरेक वर्ष जुलाई ४ का दिन रुवान्डाले ‘मुक्ति दिवस’ मनाउँछ । त्यस दिन वर्तमान राष्ट्रपति पल कागामेको नेतृत्वमा रहेको ‘रुवान्डा प्याट्रियट्रिक फ्रन्ट (आरपिएफ)ले सैन्य विजय हासिल गरेपछि नरंहार मच्चाइरहेको हुतु शासन पतन भएको थियो । त्यसै दिनको सम्झनामा यस दिन मुक्ति दिवसका रूपमा मनाइन्छ । ‘म सानो छँदादेखि नै मेरो बुबा जेलमा हुनुहुन्छ । नरसंहारमा बच्न सफल मेरी आमा एक्लैले भाइबहिनी र मलाई हुर्काउनुभएको हो । दशकौँअघि मेरो देशमा घटेको इतिहासले मलाई हरेक दिन पछ्याउँछ,’ कामिकाजीले किगालीस्थिति आफ्नो पसलमा पत्रकारसँग कुरा गर्दै भनिन् ।
कामिकाजीको कथाले रुवान्डा नरसंहारको विभिन्न स्थायी जटिलतामध्ये एकलाई प्रतिबिम्बित गर्छ । नरसंहारका क्रममा केही हुतु अतिवादीले तुत्सी जातिका आफ्नै पतिपत्नी, अझ बालबच्चासमेत मारेका थिए । फेरि केही हुतु जातिका परिवारले भने आफ्नो ज्यान जोखिममा पारेर छिमेकी तुत्सी जातिका परिवारलाई आफ्नो घरमा लुकाएर बचाएका थिए । कामिकाजीकी आमा बाँचिन्, तर उनका हुतु जातिका बुबा भने नरसंहारका दोषी ठहरिए र सन् १९९८ मा आजीवन कारावासको सजाय पाए । ‘मुक्तिको अर्थ मेरी आमाका लागि जीवन बाँच्नु रह्यो । उनी बाँचेकैले हामी सन्तानले आजको यो जीवन बाँच्न पाइरहेका छौँ । सँगसँगै यस दिनले मेरा बुबा कहाँ हुनुहुन्छ भन्ने कुरा पनि सम्झना दिलाउँछ । यसैले, यो दिनले गराउने अनुभूतिको व्याख्या गर्न गाह्रो छ,’ कामिकाजीले भनिन् ।
एक नरसंहार : फरक–फरक अर्थ
सन् २००० मा राष्ट्रपति पदभार ग्रहण गरे । हालसम्म निरन्तर सोही पदमा रहेका पल कागामेले (नरसंहार रोक्न उनी नेतृत्व पार्टी सफल भएदेखि सन् २००० सम्म भने उनी देशका उपराष्ट्रपति थिए) देशको पुनरोत्थानलाई पुनर्निमाणमा मात्र जोड नदिई बृहत्तर उद्देश्यमा जोड्ने प्रयास गरेका छन् । उनको सरकारले देशको नयाँ लक्ष्यलाई एकता, आर्थिक रूपान्तरण र मुक्ति संघर्ष केन्द्रित दीर्घकालीन राष्ट्रिय परियोजनाको रूपमा प्रस्तुत गर्छ ।
पर्यटन, प्रविधि, खानी र कृषि व्यवसायमा गरिएको उच्च लगानीले विगत एक दशकको अवधिमा रुवान्डाको अर्थतन्त्र प्रतिवर्ष औसतमा लगभग सात प्रतिशतले विस्तार भएको छ । जनसंख्याको ६५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका युवालाई देश पुनर्निर्माणमा जोड्न सरकारले प्राथमिकता दिएको छ । यद्यपि, सबैले आर्थिक प्रगतिको फाइदा भने महसुस गर्न सकिरहेका छैनन् । क्रिस्टोफर टेगान्याका लागि देशको मुक्ति दिवस गर्वको कारणका साथसाथै बाँकी चुनौतीको सम्झना गराउने दिन पनि हो । ‘मुक्ति दिवस नयाँ रुवान्डाका लागि एक उत्कृष्ट सुरुवात हो, तर सरकारले अझ धेरै गर्न बाँकी नै छ,’ हालै स्नातकोत्तर डिग्री पूरा गरेर पनि रोजगारी पाउन नसकेका २६ वर्षीय टेगान्याले भने, ‘हामी मुक्ति दिवसलाई हाम्रो इतिहासको एक महŒवपूर्ण भागको रूपमा सम्मान गर्छौं । तर, भावी सम्झाना देखिन छाडेपछि केही कुराको पनि अर्थ रहँदैन ।’
अधुरा वाचा
विगत तीन दशकको अवधिमा रुवान्डाको राजनीतिक तथा आर्थिक परिदृश्यमा नाटकीय परिवर्तन आएको छ । पूर्वाधार, प्रविधि, खानी र पर्यटनमा गरिएको लगानीले देशका केही भाग चिन्नै नसकिने गरी बदलिएका छन् । राजधानी किगालीबाट करिब ४० किलोमिटर टाढा निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता कैयौँ ठुला विकास परियोजनाले हजारौँ रोजगारी सिर्जना गरेका छन् । तैपनि, बढ्दो युवा जनसंख्याका लागि अझै देशले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन । यो कागामे सरकारको अहिले पनि सबैभन्दा कठिन चुनौतीमध्ये एक बनेर रहेको छ । पछिल्लो सरकारी सर्वेक्षणले पनि देशमा युवा बेरोजगारी लगभग १४ प्रतिशत रहेको देखाउँछ ।
‘हामीले चाहेको मुक्ति, सरकारले हरेक वर्ष सिर्जना गर्ने वाचा गरेको दुई लाखको नयाँ रोजगारी हो, जुन मेरो विचारमा पूरा भएको छैन,’ टेगान्याले सन् २०२४ को राष्ट्रपति चुनावका क्रममा कगामेको सत्तारुढ ‘रुवान्डा प्याट्रियटिक फ्रन्ट (आरपिएफ)’ले गरेको प्रमुख प्रतिज्ञालाई उल्लेख गर्दै भने । त्यस वर्षको राष्ट्रपतीय निर्वाचनमा किगामेले ९९ प्रतिशतभन्दा बढी मत पाएर जितेका थिए । तथापि, त्यतिवेला किगामेमाथि सरकारी संयन्त्रको दुरुपयोग गरी राजनीतिक प्रतिद्वन्द्वी, र नागरिक समाजमाथिको धरपकड गरेको आरोप लागेको थियो । देशका प्रमुख विपक्षी नेता भिक्टोयर इन्गाबिरेविरुद्ध जारी मुद्दाले पनि देशभित्र र बाहिर राय विभाजित गरिरहेको छ ।
लुकेका चोट
सब्रिन गेटेसीका लागि रुवान्डाको पुनर्निर्माण केवल विकास पूर्वाधारले मात्र मापन गर्न सकिँदैन । यसलाई आमनागरिकको ठुलो हिस्साले कसरी लिइरहेको छ भन्ने कुराले पनि मापन गर्न सकिन्छ । ‘मुक्ति भनेको हामीले बाहिरबाट नदेखिने तर हरेक दिन महसुस गर्ने चोट निको भयो कि भएन भन्ने कुरासँग सम्बन्धित हुन्छ,’ पेसाले नर्स रहेकी ३० वर्षीया गेटेसीले भनिन्, ‘नरसंहारले छाडेको आघात अझै पनि धेरै मानिसको मनमा कायम नै छ । यो निको हुन लामो समय लाग्न सक्छ ।’ रुवान्डाको स्वास्थ्य अधिकारीले गरेको अनुसन्धानका अनुसार देशमा पाँचमध्ये एकजना मानिसमा मानसिक वा स्वास्थ्य विकारसहित बाँचिरहेकोमा यसमा नरसंहारबाट बचेकाहरूको संख्या आधाभन्दा बढी पुगेको छ । तर, यस्तो विकराल मानसिक अवस्था सम्बोधन गर्न देशमा पर्याप्त मानसिक स्वास्थ्य पेसाकर्मीको अभाव रहेको अधिकारीले बताए, ‘हामी हरेक वर्ष जुलाई चारमा नरसंहार रोकेको सम्झनामा मुक्ति दिवस मनाउँछौँ । साथै यस दिन हामी देशले विगत तीन दशकमा गरेको उल्लेखनीय रूपान्तरणको पनि सम्झना गर्छौं । तर, मानसिक स्वास्थ्यको विकरालत अवस्थाले हामी अझै पनि एक राष्ट्रको रूपमा निको भइरहेका छैनौँ भन्ने देखाउँछ । यस्तोमा मेरा लागि वास्तविक मुक्ति अझै हासिल भइसकेको छैन,’ गेटेसीले भनिन् ।
भावी कार्यदिशा
रुवान्डा सरकारले पनि मुक्ति दिवसले नरसंहार अन्त्यको सुनिश्चित गर्ने बताएको छ । सरकारले सन् २०५० सम्ममा रुवान्डालाई उच्च आय भएको देशमा रूपान्तरण गर्ने उद्देश्यले चलिरहेको राष्ट्रिय परियोजनासँग मुक्ति दिवसलाई जोड्ने गरेको छ । अत्यन्त त्रासद इतिहासको भारका बाबजुद पनि, धेरै युवा रुवान्डालीहरू नरसंहारलाई बढावा दिने विभाजनमा कहिल्यै नफर्कने संकल्प कायम रहने आशा व्यक्त गर्छन् । कामिकाजीका लागि त्यो आशाले अझ व्यक्तिगत रूपमा छुन्छ । मेलमिलाप प्रयास सफल हुँदै जाँदा पुनर्स्थापना तथा मेलमिलाप कार्यक्रमअन्तर्गत नरसंहारमा दोषी ठहरिएका कैदीहरू बिस्तारै रिहा हुन थालेका छन् । यस्तोमा कुनै दिन आफ्नो बुबा पनि जेलबाट रिहा भएर घर फर्कने अपेक्षा गर्छिन् कामिकाजी ।
जेलबाट पिताको फिर्तीले जीवनको ठुलो हिस्सालाई परिभाषित गर्ने अध्याय बन्द गर्ने उनको आशा छ । यस्तोमा कामिकाजीका लागि मुक्ति न त एउटा सरकारी दिवस हो, न त राजनीतिक नारा । ‘मुक्ति त्यो दुःखद विगतको अन्त्य हो, जसले उज्ज्वल भविष्यका लागि जीवन्त आशा देखाउँछ । यस दिनमा म नरसंहार भोगेकी मेरी आमालाई देख्छु । त्यस्तै, यसमा म सधैँ कैदीका रूपमा मात्र चिनेको बुबालाई पनि देख्छु, जो कुनै दिन स्वतन्त्र मानिस भएको आशा पनि यसै दिनमा देख्छु । साथसाथै, म यस दिनमा मेरो पसल पनि देख्छु, जसले आज मेरो जीवनलाई परिभाषित गर्छ ।’
अलजजिराबाट