स्ट्रेट अफ हर्मुजमा आउजाउ गर्ने जहाजमाथि फेरि आक्रमण भएको छ । ओमान तटनजिक ‘लिक्विफाइड नेचुरल ग्यास (एलएनजी)’ बोकेको ट्यांकरमा मंगलबार बिहान आक्रमण भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ ।
बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अप्रेसन्स (युकेएमटिओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिकबाट दक्षिणतर्फ गइरहेको एलएनजी बोकेको ट्यांकरको बायाँ भागमा आक्रमण भएको थियो ।
विश्वमा खपत हुने करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने स्ट्रेट अफ हर्मुज पछिल्लो इरान युद्धका क्रममा प्रभावित बनेपछि विश्वको ध्यान गएको थियो । तथापि, युद्धविराम सुरु भएदेखि त्यसबाट जहाजको आउजाउ बढेको छ ।
इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्यांकर आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको जिम्मेवारी तेहरानले औपचारिक रूपमा स्वीकार गरेको छैन । यसअघि इरानले स्ट्रेट अफ हर्मुजको पनि आफूले स्वीकृत दिएको विन्दुबाहेक क्षेत्रबाट जहाजलाई चेतावनी दिँदै आएको थियो ।
डेटा विश्लेषण संस्था केप्लरका अनुसार गत सप्ताहन्तमा मात्र कम्तीमा १०८ वटा जहाजले विभिन्न मार्ग प्रयोग गर्दै हर्मुज स्ट्रेट पार गरेका थिए ।