राजनीतिक विश्लेषक प्रा. लोकराज बराललाई ३ प्रश्न

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

पार्टी संकटमा परेको समयमा कांग्रेस साँच्चै विभाजनको दिशातिर उन्मुख भएको हो ? 
नेपाली कांग्रेस फुटे पनि या नफुटे पनि राष्ट्रिय राजनीति र स्वयं कांग्रेसकै जीवनमा पनि तात्विक फरक पर्ला जस्तो लाग्दैन । जनतालाई पनि यसले केही फरक पार्दैन । विगतमा शेरबहादुरजीले पनि कांग्रेस फुटाउनुभएकै हो । तर, पछि मूलधारमा समाहित नभई भएन । अहिले पार्टी फुटाउने प्रयासमा रहेका भनिएका कांग्रेसका सबै नेता पहिल्यै ‘टेस्ट’ भइसकेकै हुन् । खट्न सक्ने, जनतामा विश्वास जगाउन सक्ने, जनतालाई ‘अपिल’ गर्न सक्ने क्षमता भएका नेताहरू पार्टी फुटको पक्षमा देखिन्नन् । भरसक कुनै पनि पार्टी नफुट्नु राम्रो हो । कांग्रेस पनि नफुट्दा नै राम्रै हुन्छ । कथं फुटी नै हाल्यो भने त्यसबाट आगामी दिनमा हुने निर्वाचनमा दुई–चार सिटसम्म तलमाथि पर्ला । त्यसबाहेक हुने केही होइन । 

कांग्रेस फुटको दिशातिर जानुमा कुन ‘फ्याक्टर’ले काम गरिरहेको देख्नुहुन्छ ?
यसमा कुनै विशेष ‘फ्याक्टर’ले भन्दा पनि नेताहरूको हामी ‘सिनियर’ हौँ भन्ने ‘इगो फ्याक्टर’ले काम गरेको हो । सबैलाई ठाउँ चाहिएको छ । यसमा पार्टी सभापति गगन थापाले आफूहरूलाई हात जोडून् भन्ने आग्रहले पनि काम गरेको देखिन्छ । सबै सँगै रहनुपर्ने अप्ठ्यारो अवस्थामा पनि यसरी भाँडिएर ‘मेरो गोरुको बाह्रै टक्का’ गरिरहनु सर्वथा उचित छैन । 

कांग्रेसलाई फुटको डिलबाट जोगाएर फर्काउन कसले के गर्नुपर्ला ?
कांग्रेसलाई फुटको डिलबाट जोगाएर एक ढिक्का गराउने अरूले होइन, स्वयं कांग्रेस नेताहरूले नै हो । यसमा सबैले आआफ्नो इगो छाडेर विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई साथ र सहयोग गरेर नियमित महाधिवेशनमा जानुपर्ने हो । अहिलेको ‘ट्रेन्ड’अनुसार नयाँ नेतृत्वमाथि नै आमकार्यकर्ता र शुभेच्छुकको भरोसा र विश्वास देखिन्छ । त्यसैले, त्यसलाई जोगाउन पनि नेताहरूले समयमै बुद्धि पुर्याउनुपर्छ । 

सुझावित समाचार