मौसम परिवर्तन हुने वेलामा भाइरल इन्फेक्सनको जोखिम उच्च हुन्छ । अझ वर्षात्को समयमा भाइरल इन्फेक्सनको खतरा धेरै हुन्छ । यतिवेला शरीरमा प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । पानीले भिज्दा, धुलो, चर्को घाममा हिँड्दा भाइरल इन्फेक्सन हुने गर्छ । जसले गर्दा चाँडै रुघाखोकी लाग्ने, ज्वरोजस्ता समस्या देखिन सक्छ ।
वर्षात्को समयमा बालबालिका र वृद्धवृद्धा अत्यधिक प्रभावित हुने गर्छन् । खासगरी बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् । विभिन्न संक्रमण फैलिने सम्भावना बढी हुन्छ । मौसम फेरबदल भइरहने भएकाले सरुवा रोगको प्रकोप बढ्ने गरेको हो ।
वर्षात्को समय विशेष गरी भाइरल ज्वरो, श्वास–प्रश्वासमा समस्या, रुघाखोकी, झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, मलेरिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ । बाढीपहिरो गएको ठाउँमा ब्याक्टेरियाको संक्रमण बढ्न सक्छ । भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिट्टै प्रभावित हुने गर्छन् । जसका कारण खोकी लाग्ने र ज्वरो आउने खतरा धेरै हुन्छ ।
सामान्यतया हावामा पानीको मात्रा बढी हुँदा कीटाणुहरू लामो समयसम्म बाँच्न सक्छन् । यस्तै, कीटाणुको प्रजनन बढी हुने हुँदासमेत सजिलै संक्रमण हुने गर्छ । नियमितजसो पानी पर्ने भएकाले जताततै पानी जम्ने गर्छ । जमेको पानीमा लामखुट्टे तथा अन्य जीवाणु हुर्किन पाउँछन् । यस्तै, दूषित पानी खाना र हावाबाट शरीरमा प्रवेश गर्छन् ।
गर्मीका कारण खानेकुरा छोटो समयमै कुहिने, ब्याक्टेरिया फैलिने हुन्छ । प्रदूषण बढ्दासमेत सरुवा रोगको सम्भावना बढेर जान्छ । बाइकमा हिँड्दा, पानीमा भिज्दा, चर्को घाममा हिँड्दा ज्वरो आउँछ । अहिले अधिकांशले मास्क लगाउन छाडेका छन् । जसले गर्दा पनि इन्फेक्सन हुन्छ । सामान्य रुघाखोकी लाग्दा पनि अरूमा सर्छ । आमाबाट बच्चालाई सर्छ ।
बच्ने उपाय
मास्क अनिवार्य लगाएर हिँड्नुपर्छ । बाइक, स्कुटीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउने गर्नुपर्छ । धुलो र हावाबाट बच्न न्यानो कपडा लगाएर हिँड्नुपर्छ । स्यानिटाइजर पनि अनिवार्य लगाउने गर्नुपर्छ । बाहिर निस्कँदा अनिवार्य रेनकोट बोकेर हिँड्ने गर्नुपर्छ । बाइक वा स्कुटीमा यात्रा गर्दा राम्रो हेलमेट पनि लगाउने, साथै मास्क पनि अनिवार्य लगाउने गरौँ । पानीमा भिजेपछि भाइरल इन्फेक्सन हुन्छ । ज्वरो आउने गर्छ । यस्तो वेला पानीमा धेरै भिज्नु हुँदैन ।
ज्वरो विभिन्न रोगको लक्षण हो । यदि समयमै रोकथाम गर्न सकिएन भने विभिन्न जटिल खालका संक्रमण हुने सम्भावना अत्यधिक रहन्छ । व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर, टोल र समाज सफा राख्नुपर्छ । फोहोर थुप्रिन दिनुहुँदैन, जसले गर्दा ब्याक्टेरियल संक्रमण छिटो फैलिन नपाओस् ।
पानी जम्ने ठाउँ सफा गर्नुपर्छ । पानी अड्केर बस्न सक्ने ठाउँ सधैँ सफा हुनु जरुरी छ । लामो समयसम्म पानी जम्दा लामखुट्टे तथा अन्य रोग सार्ने कीटाणु फैलिन्छन् । एकाएक घाममा हिँड्नु हुँदैन । चर्को घाममा हिँड्दासमेत ज्वरो आउने हुन्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । भाइरल संक्रमण अर्थात् पखाला, ज्वरो आदिको लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।