एमाले नेता प्रदीप ज्ञवालीलाई ३ प्रश्न

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

अहिलेको अवस्थामा वाम एकताको औचित्य र सम्भावना कति देख्नुहुन्छ ?
यतिवेला नेपालको राष्ट्रिय राजनीति जतातिर जाँदै छ, त्यसले एक किसिमको आशंका पैदा गरिरहेको छ । नयाँ निर्वाचनपछि बनेको सरकारले संविधानका आधारभूत मूल्य–मान्यता र मर्ममाथि नै प्रहार गरिरहेको अवस्थामा वामपन्थी शक्ति मात्र नभई ०६२/६३ को जनआन्दोलनका सहयात्री लोकतान्त्रिक शक्तिसित समेत सहकार्यको खाँचो छ । अहिले संसद्मा देखिएको कांग्रेस, एमाले र नेकपाबिचको सहकार्य या समझदारीलाई आवश्यकताअनुसार विस्तार गर्दै जानुपर्छ । त्यसैले, अहिले एकताभन्दा पनि सहकार्यको बढी खाँचो छ । 

एकताको खोजी कम्युनिस्ट विचारधारा जोगाउन हुँदै छ कि नेताहरूको भविष्य सुरक्षित गराउन ?
पार्टी एकताका विषयमा अहिलेसम्म एमाले र नेकपाले औपचारिक संस्थागत निर्णय गरेका छैनन् । यसरी औपचारिक निर्णय नभएको अवस्थामा कतैबाट एकताको चर्चा चल्नु भनेको पक्कै पनि फुटेरभन्दा जुटेर र छिन्नभित्र भएर भन्दा एकढिक्का भएरै आसन्न संकट टार्न सकिन्छ भन्ने सदाशय हुनुपर्छ । तर, कहिलेकाहीँ संस्थागत निर्णयविनै नेतृत्वले आफूखुसी एकताको पहल गरेको अवस्थामा भने त्यस्तो प्रयास आफ्नो गुटगत स्वार्थ जोगाउने र आफ्नो पदीय हैसियत सुदृढ गर्ने प्रयास नहोला भन्न सकिन्न । 

सम्भावित त्यस्तो एकताको दिगोपनबारे कति विश्वस्त हुनुहुन्छ ?
अहिले वातावरण एकताको तहमा पुगेकै छैन । खासगरी, पछिल्लो चुनावपछि विकसित राजनीतिक परिवेशमा सबै दलले आत्मसमीक्षा र आत्म शुद्धीकरण नगरी एकताको पहल गर्नु भनेको आफूमा भएको समस्या अरूमा सार्नु मात्र हो । तसर्थ, विगतमा एकताबद्ध हुँदा हामी कहाँकहाँ चुक्यौँ, त्यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ । नीतिहरूमा स्पष्टता, अन्तर्विरोधको व्यवस्थापन र भावनात्मक एकताको स्कुलिङविना कुनै पनि एकता दिगो हुन सक्दैन । त्यसैले, एकतापूर्व सबै दल आन्तरिक रूपमा व्यवस्थित हुनुपर्छ । तर, त्यसअघि वाम वृत्तमा मात्र सीमित नभई लोकतान्त्रिक शक्तिसँग समेत सहकार्य गर्नुपर्छ । 

सुझावित समाचार