भूकम्पको छैटौँ दिन १८ दिनका शिशु र आमाको जीवितै उद्धार

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

भेनेजुएलामा भूकम्पको छैटौँ दिनमा १८ दिनका एक शिशुसहित आमाको उद्धार गरिएको छ । भूकम्पपछि भत्किएको घरको भग्नावशेषबाट सोमबार १८ दिनको शिशुसहित एक महिलाको उद्धार भएको हो । ती महिलाले आफ्नो नवजात शिशुको मायाले आफूलाई जीवित राख्न प्रेरित गरेको बिबिसीलाई बताएकी छिन् । भूकम्पको ४० घण्टापछि उद्धार गरिएकी दयाना पाटिनो नामक गरेकी ती महिलाले छोरा जुआन डेभिडले आफूलाई ‘जाग्ने र सतर्क रहन प्रेरणा’ दिएको बताइन् । ‘जबसम्म ऊ जीवित थियो, म जीवित रहनेछु । शिशुले सास फेर्दै छ भन्ने थाहा पाउन म वेलावेलामा उसको नाक छुन्थेँ,’ महिलाको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । भुइँचालो जाँदा उनी उत्तरी तटीय क्षेत्र ला गुइरामा रहेको आफ्नो आठौं तलाको अपार्टमेन्टमा भाँडा माझ्दै थिइन् । भूकम्पपछि उनी तुरून्तै छोरालाई काखमा लिन दौडिन् ।

उद्धारको फुटेज विश्वभरि सेयर गरिएको छ र जुआन डेभिड भेनेजुएलामा आशाको प्रतीक बनेका छन् । बुधबार देशमा आएको दुईवटा भूकम्पले देशका भौतिक संरचना ध्वस्त बनाएको छ । सोमबार साँझसम्म भूकम्पले कम्तीमा १,४५० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । राजधानी काराकास र वरपरका क्षेत्रमा भत्किएका भवनमा अझै धेरै मानिस फसेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पमा दसौँ हजारभन्दा बढी हराइरहेका छन् । यसअघि सोमबार भत्किएका भवनहरूको भग्नावशेषबाट दुई ११ वर्षीय बालकहरूलाई छुट्टाछुट्टै उद्धार गरिएको थियो । देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पलाई भेनेजुएलाको इतिहासमा ‘सबैभन्दा क्रूर प्राकृतिक प्रकोप’ भनेकी छिन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण गर्ने संस्था युएसजिएसका अनुसार बुधबार साँझ काराकासबाट लगभग २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपनजिकै ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पहिलो भूकम्प गएको एक मिनेट पनि पूरा नहुँदै राजधानीबाट लगभग २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिकै केन्द्रविन्दु भएर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

३९ सेकेन्डभित्र गएका दुई भूकम्पका कारण सयौँ भवन भत्किएका छन् । धेरै मानिस भवनभित्र फसेका छन् । हतास परिवारहरू आफ्ना प्रियजनलाई खोज्न हातले भग्नावशेष खन्ने काम गरिरहेका छन् । भूकम्पले ठुलो क्षति पुर्याएपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै खोजी तथा उद्धार कार्य तीव्र बनाएको छ । आपत्कालीन अवस्थापछि देशको मुख्य विमानस्थलदेखि पठनपाठनसम्म बन्द गरिएका छन् । घाइतेको खोजी तथा उद्धारका लागि ठुलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भूकम्पबाट ठुलो क्षति भएको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छिन् ।

See More On

सुझावित समाचार