बेलायतका पूर्वप्रधानमन्त्री केयर स्टारमरले सांसद पदबाट पनि राजीनामा दिने भएका छन् । गत जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका स्टारमरले ‘क्याम्डेन न्यू जर्नल’लाई दिएको अन्तर्वार्तामा आगामी दिन अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनी मध्य–लन्डनको निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
यसअघि स्टारमरले सांसदको आफ्नो कार्यकाल पूरा गर्ने प्रयास गर्ने बताएका थिए । तर, अहिले पदबाट राजीनामा दिने उनको निर्णयले उनको निर्वाचन क्षेत्रमा उपचुनाव गर्नुपर्ने भएको छ ।
‘देशको सबैभन्दा उत्तममध्ये एक निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नु पाउनु मेरा लागि ठुलो सम्मान र सौभाग्यको कुरा हो । तर, अब म अन्य कुरामा ध्यान केन्द्रित गर्नेछु । म द्रुत गतिमा परिवर्तनशील विश्वमा रक्षा, सुरक्षा, व्यापार तथा प्रविधिसहित अन्तर्राष्ट्रिय मामिला सरिक हुनेछु,’ स्टामरले पत्रिकासँगको अन्तर्वार्तामा भने ।
उता कन्जर्भेटिभ पार्टीका नेता केभिन होलिनरेकले भने स्टारमरको निर्णयको विरोध गरेका छन् ।
‘संसद् त्याग्ने स्टारमरको पछिल्लो कदमले उनको राजनीतिको मूल चरित्र बनेको यू–टर्न प्रवृत्तिको अर्को उदाहरण बनेको छ । यस राजीनाले करदाताका लागि महँगो उपचुनाव गर्नुपर्ने हुनेछ,’ होलिनरेकले भने । सरकारको चौतर्फी विरोध र स्थानीय निर्वाचनमा धक्कापछि उनले जुलाईमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।