नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले किसानलाई ठुलो रकमको अनुदानभन्दा पनि मल, बिउ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने बताएका छन्।
धान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेको भन्दै किसानलाई सम्भावित क्षतिबाट जोगाउन सरकारले कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।
पोखरेलका अनुसार दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई लक्षित अनुदान कार्यक्रम सकारात्मक भए पनि आमकिसानको पहुँचभन्दा बाहिर भएकाले साना किसानलाई प्रत्यक्ष लाभ नहुने अवस्था छ।
‘सरकारले कृषिमा दुई करोडभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ। व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम नराम्रो होइन,’ उनले भने, ‘तर, प्रश्न उठ्छ, के आमनेपाली किसान यति ठुलो लगानी गर्न सक्षम छन् ?’
उनले कृषि र किसानको योगदानलाई बेवास्ता गर्न नहुने भन्दै खाद्य सुरक्षाको आधार कृषि नै भएकाले राज्यले यस क्षेत्रलाई अझ प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।