विश्वकप चलिरहँदा आफ्नै विगत सम्झिएँ

नेपाली फुटबल ओरालो लागिरहेको देख्दा साह्रै दुःख लाग्छ

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

मोरङको दुर्गम गाउँमा मेरो बाल्यकाल बित्यो । त्यो समय हाम्रो परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । खान, लगाउनकै लागि धेरै संघर्ष गर्नुपर्‍यो । फुटबलप्रति भने सानैदेखि आकर्षित थिएँ । गाउँका केटाहरूले बल खेलेको देख्दा टाढैबाट हेरेर रमाउँथेँ । खेल्न मन त धेरै लाग्थ्यो, तर फुटबल किन्ने अवस्था थिएन । मोजाको बल बनाउँथ्यौँ र त्यही खेल्थ्यौँ । कहिलेकाहीँ भोगटेलाई बल बनाएर पनि खेलिन्थ्यो । 

मेरो फुटबलसँगको सम्बन्ध कुनै प्रशिक्षित वातावरणमा सुरु भएको होइन । गाउँको धुलाम्मे मैदान, धान काटिसकेका खेत र खुला चौरमै खेलेँ । अहिलेका खेलाडीले जस्तो व्यवस्थित मैदान, प्रशिक्षक, खेल सामग्रीको सुविधा हामीसँग थिएन । विद्यालय जानु, घरको काम गर्नु, गाईवस्तु चराउनु र फुर्सदको समयमा फुटबल खेल्नु मेरो दिनचर्या थियो । फुटबल मेरा लागि केवल एउटा खेल थिएन, सपना थियो । म जब बल खेल्न मैदानमा उत्रिन्थेँ, त्यो क्षणमा सबै दुःख र अभाव बिर्सिन्थेँ । खेलप्रतिको मोह यति गहिरो थियो कि सुविधा नभए पनि खेल्न छोड्ने सोच कहिल्यै आएन । बरु अभावले नै मलाई अझ जिद्दी बनायो ।

त्यो वेला फुटबल खेल्न बुट हुनु त ठुलो कुरा थियो । हामी अधिकांश समय नांगो खुट्टाले खेल्थ्यौँ । धान काटिसकेका खेतमा, कहिले ढुंगामाटो भएको चौरमा, कहिले हिलोमै बल कुदाउँथ्यौँ । दौडिँदा खुट्टामा चोट लाग्थ्यो, काँडा बिझ्थ्यो, कहिलेकाहीँ रगतसमेत बग्थ्यो । तर, त्यसले खेल्ने जोस घटाउँदैनथ्यो । बरु अर्को दिन फेरि त्यही मैदानमा पुगेर खेल्थ्यौँ ।

बल हावामा उठ्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अभ्यास त्यही गाउँका धुले मैदानले सिकाएको हो । त्यो समय हामीले भोगेको कठिनाइ अहिलेका पुस्तालाई कल्पना गर्न पनि गाह्रो हुन सक्छ । कहिलेकाहीँ खाली पेटमै मैदानमा उत्रिनुपर्थ्यो । राम्रो पोषण हुँदैनथ्यो, खेलाडीलाई चाहिने सुविधा थिएन । तर, एउटा कुरा थियो– फुटबलप्रतिको भोक । त्यो भोकले हामीलाई थकाइ, अभाव र कठिनाइ सबै बिर्साइदिन्थ्यो । मैदानमा गोल गर्ने चाहना र टोलीलाई जिताउने सपना नै सबैभन्दा ठुलो प्रेरणा थियो ।

अहिलेका खेलाडीले पाउने सुविधा देख्दा मलाई आफ्ना पुराना दिनको सम्झना आउँछ । त्यो निकै कठिन समय थियो । तर, त्यो कठिनाइले नै मानसिक रूपमा बलियो बनायो । नेपाल पुलिस क्लबबाट खेल्दा त्यही हेडिङ मेरो विशेष पहिचान बन्यो । तर, त्यो कुनै विशेष प्रशिक्षण वा आधुनिक अभ्यासको परिणाम थिएन, गाउँको कठिन परिवेशमा निरन्तर खेलेर हासिल गरेको सिप थियो । म हेडिङमा मात्र सीमित खेलाडी थिइनँ । म राम्रोसँग सुट हान्न सक्थेँ, डिफेन्समा पनि उत्तिकै प्रभावकारी थिएँ । त्यसैले आफूलाई अलराउन्ड खेलाडी मान्थेँ ।

खेलजीवनकै क्रममा मेरो खुट्टामा गम्भीर चोट लाग्यो । लिगामेन्टमा समस्या आएपछि पहिलेजस्तो खुट्टाको प्रयोग गरेर खेल्न सक्ने अवस्था रहेन । सुट हान्न र नियन्त्रण गर्न कठिन हुन थाल्यो । त्यसपछि मैले आफ्नो खेल शैली परिवर्तन गर्नुपर्‍यो । विकल्प थिएन । खुट्टाभन्दा हेडिङमा बढी निर्भर हुन थालेँ । निरन्तर अभ्यास र अनुभवसँगै हेडिङ झन् प्रभावकारी बन्दै गयो । त्यसपछि धेरैले मलाई ‘हेडर’ खेलाडीका रूपमा चिन्न थाले, त्यही मेरो फुटबल करियरको प्रमुख परिचय बन्यो । 

२०४२ सालतिरको कुरा हो । गाउँमा हुँदा मैले धेरैजसो समय नांगो खुट्टाले नै फुटबल खेल्थेँ । त्यही क्रममा मेरो खेल देखेर विराटनगरमा बस्ने मेरा मामा प्रदीप भगतले मलाई प्रोत्साहन गर्नुहुन्थ्यो । उहाँले पहिलोपटक फुटबल बुट किनिदिनुभयो । जीवनमा पहिलोपटक बुट लगाएर मैदानमा उत्रिँदा आफू साँच्चै खेलाडी बनेको अनुभूति हुन्थ्यो । त्यसपछि फुटबलप्रतिको मोह झन् बढ्दै गयो ।

विराटनगर क्लबबाट खेल्न थालेपछि मेरो खेल यात्राले नयाँ मोड लियो । मनोज बस्नेतलगायत अग्रज खेलाडीको प्रेरणाले मैले फुटबललाई अझ गम्भीर रूपमा लिन थालेँ । बुट लगाउन थालेपछि खुट्टामा लाग्ने चोट पनि कम भयो र खेलमा आत्मविश्वास बढ्दै गयो ।

विराटनगरमा राष्ट्रियस्तरका खेलाडीलाई नजिकबाट देख्ने अवसर पनि मिल्यो । मेरो खेल देखेर धेरै अग्रजले सहयोग गर्नुभयो । पछि विराटनगरकै एक अग्रजको पहलमा म काठमाडौं आएँ र नेपाल पुलिस क्लबमा आबद्ध हुने अवसर पाएँ । पुलिस क्लबमा पुगेपछि विनोद अधिकारी, ज्ञान थापाजस्ता अनुभवी खेलाडीसँग खेल्ने अवसर मिल्यो । 

पुलिस क्लबबाट खेल्न थालेपछि मेरो प्रदर्शन निरन्तर सुधार हुँदै गयो । टोली सहभागी भएका धेरै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने अवसर पाएँ । त्यही प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीका लागि ढोका खुल्यो । फुटबलमा ठुलो सपना देखेर हिँडेको थिइनँ, तर संयोग, मिहिनेत र निरन्तर प्रदर्शनले मलाई त्यो अवसर दिलायो । गाउँको साधारण परिवारबाट आएको युवकका लागि राष्ट्रिय टोलीको जर्सी लगाउनु जीवनकै ठुलो उपलब्धि थियो ।

राष्ट्रिय टोलीबाट सन् १९९० मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ । सन् १९९१ मा दक्षिण कोरियामा भएको ओलम्पिक छनोट प्रतियोगिता तथा श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेँ ।

त्यसपछि विश्वकप छनोट, साफ प्रतियोगिता तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ । सन् १९९७ को विश्वकप छनोटमा जापान, दक्षिण कोरिया, इरान र कुवेतजस्ता एसियाका शक्तिशाली टोलीसँग खेल्नु करियरको महत्वपूर्ण अनुभव रह्यो । उनीहरूको तयारी, अनुशासन र व्यावसायिकता देख्दा हामीले अझ धेरै सिक्नुपर्ने रहेछ भन्ने महसुस हुन्थ्यो ।

मैले चार संस्करणका दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ गेम्स) खेल्ने अवसर पाएँ । सन् १९९१ मा श्रीलंकामा आयोजित प्रतियोगिताबाट सुरु भएको यात्रा सन् १९९३, सन् १९९५ (छैटौँ साफ गेम्स) र त्यसपछिका संस्करणसम्म जारी रह्यो । मेरो खेल जीवनको सबैभन्दा स्मरणीय उपलब्धि छैटौँ साफ गेम्समा फुटबलतर्फ स्वर्णपदक जित्नु हो । सीमित स्रोतसाधन, कमजोर तयारी र पर्याप्त सरकारी सहयोगविनै हामीले त्यो सफलता हासिल गरेका थियौँ । धेरैले पदकको अपेक्षा गरेका थिएनन्, तर हामीले देशका लागि स्वर्ण जितेर देखायौँ । प्रतियोगिताका क्रममा मैले गरेको एउटा महत्वपूर्ण ‘स्लाइडिङ क्लियरन्स’ आज पनि धेरैले सम्झिन्छन्, जसले टोलीलाई गोल खानबाट जोगाएको थियो ।

हाम्रो समयको अर्को ठुलो चुनौती सरकारी उदासीनता पनि थियो । खेलकुद क्षेत्रलाई आवश्यक प्राथमिकता दिइँदैनथ्यो । खेलाडीको समस्या सुन्ने र समाधान गर्ने प्रणाली कमजोर थियो । धेरै प्रतिभाशाली खेलाडी अवसर नपाएर हराएका उदाहरण पनि छन् । अहिलेको जस्तो प्रविधि थिएन । सामाजिक सञ्जाल थिएन । हामी फुटबल खेले पनि अहिलेजस्तो चर्चा हुँदैनथ्यो । अहिलेको पुस्ताले फुट जर्सी पाउँछन् । खाना पनि पाउँछन् । त्यसवेला अन्डाचना खान पनि मुस्किल हुन्थ्यो । 

सीमित सुविधा र विभिन्न चुनौतीबिच हामीले देशका लागि खेलेका थियौँ । त्यो समयको व्यवस्थापन अहिलेको तुलनामा धेरै फरक थियो । खेलाडीलाई आवश्यक सबै सुविधा उपलब्ध हुँदैनथ्यो । यात्रा कठिन हुन्थ्यो, तयारीका लागि स्रोतसाधन सीमित हुन्थे । तर, जब राष्ट्रिय झन्डा छातीमा टाँसेर मैदानमा उत्रिन्थ्यौँ, ती सबै कठिनाइ एकैछिनमा बिर्सिन्थ्यौँ । राष्ट्रका लागि खेल्नु नै हाम्रो सबैभन्दा ठुलो पुरस्कारजस्तै थियो ।

आज आफ्नो यात्रा फर्केर हेर्दा गर्व महसुस गर्छु । धुलाम्मे मैदानबाट सुरु भएको यात्रा राष्ट्रिय टोलीसम्म पुग्यो । नांगो खुट्टाले खेलेको फुटबलले मलाई देशको जर्सी लगाउने अवसर दियो । त्यो यात्रा सजिलो थिएन, तर प्रत्येक कठिनाइले मलाई केही न केही सिकायो । फुटबलले मलाई अनुशासन सिकायो । हारबाट उठ्न सिकायो । संघर्षसँग मित्रता गर्न सिकायो । सफलताको मूल्य बुझायो । जीवनमा जुनसुकै ठाउँ पुगे पनि निरन्तर मिहिनेत र धैर्यको विकल्प हुँदैन भन्ने पाठ फुटबलले नै सिकायो ।

फिफाको निलम्बनमा एन्फा
अहिलेका युवा खेलाडीलाई सुविधा हुनु राम्रो हो, तर सफलता केवल सुविधाले आउँदैन । खेलप्रतिको प्रेम, इमानदारी, अनुशासन र मिहिनेत नै सबैभन्दा ठुलो शक्ति हो । विश्वकप चलिरहँदा आफ्नै विगत सम्झिरहेको छु । त्यसवेला नेपाली फुटबल निकै बलियो अवस्थामा पुगेको थियो । दक्षिण एसियामा नेपाल उत्कृष्ट टोलीमध्ये एक मानिन्थ्यो । भारतसँग पनि कहिलेकाहीँ मात्र हार व्यहोर्नुपर्थ्यो । त्यसवेला हामी इरान, इराक, दक्षिण कोरिया, जापानजस्ता थियौँ । यी देशले अहिले विश्वकप खेलिसकेका छन् । हामीले पहिले विश्वकप छनोटका खेल खेलेका थियौँ । त्यस्ता देशसँग प्रतिस्पर्धा गर्ने स्तरमा पुगेको नेपाली फुटबल आज भने निकै पछि परेको देख्दा दुःख लाग्छ ।

विश्व फुटबलको सफलता हेर्दा देशको जनसंख्याले मात्रै अर्थ नराख्ने रहेछ । पाँच लाख जनसंख्या भएको केप भर्डेले विश्वकपमा आफ्नो क्षमता प्रमाणित गरिरहेको छ । करिब एक लाख ६० हजार जनसंख्या भएको कुराकाओले पनि विश्व फुटबलमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । युद्ध र राजनीतिक अस्थिरताले लामो समय प्रभावित भएको हाइटीजस्तो देश पनि फुटबलमा आफूलाई स्थापित गर्न सफल भएको छ । कंगोजस्तो देशले पनि आफ्नो प्रतिभा विश्वसामु प्रस्तुत गरिरहेको छ । यी उदाहरणले राम्रो योजना, लगानी र व्यवस्थापन भए सानो वा कठिन परिस्थितिमा रहेका देशले पनि ठुलो सफलता हासिल गर्न सक्छन् भन्ने देखाउँछ । 

हाम्रो त करिब तीन करोड जनसंख्या छ । त्यसैले, जनसंख्या कम भएकै कारण पछि परेको भन्ने तर्क गर्न मिल्दैन । फुटबलमा सफलता हासिल गर्न सबैभन्दा आवश्यक कुरा लगाव, दीर्घकालीन योजना र राम्रो व्यवस्थापन हो । ती पक्षमा ध्यान दिन सकियो भने नेपालले पनि राम्रो गर्न सक्छ ।

अहिले नेपाली फुटबल ओरालो लागिरहेको छ, यो आफैँमा दुःखद विषय हो । फुटबल अझ माथि उक्लिनुपर्ने समयमा उल्टै कमजोर बन्दै गएको देखिन्छ । विश्वकप चलिरहेका वेला फिफाले एन्फामाथि निलम्बन गरेको खबर सुन्दा निकै पीडा हुन्छ । यस्तो अवस्था आउनु नै हुँदैनथ्यो । लामो समय नियमित लिग सञ्चालन हुन नसक्नु नेपाली फुटबलको ठुलो कमजोरी बन्यो । यसले नयाँ पुस्तालाई पनि राम्रो सन्देश दिँदैन । 

निरन्तर घरेलु लिग नहुनु, फुटबलमा अनावश्यक राजनीति प्रवेश हुनु र व्यवस्थापन कमजोर हुनु नेपाली फुटबलको छवि बन्यो । अब पुराना र नयाँ पुस्ताका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा सबै सरोकारवाला एक भएर अघि बढ्नुपर्छ । फुटबललाई राजनीतिबाट टाढा राखेर व्यावसायिक ढंगले सञ्चालन गर्न सके नेपाली फुटबल फेरि उकासिन सक्छ ।

फुटबलको बलियो आधार ग्रासरुटबाट निर्माण गर्नुपर्छ । विद्यालय तहदेखि नै फुटबललाई प्राथमिकता दिँदै प्रतिभा उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । राज्यले पनि खेलकुदमा पर्याप्त लगानी र दीर्घकालीन नीति अवलम्बन गर्नुपर्छ । अहिले नै ठुलो परिवर्तन नदेखिए पनि त्यसको सकारात्मक परिणाम भविष्यमा अवश्य देखिनेछ । सबैभन्दा महत्वपूर्ण कुरा, नियमित र व्यवस्थित लिग सञ्चालन हुनुपर्छ । त्यही लिगले खेलाडी उत्पादन गर्छ, राष्ट्रिय टोलीलाई बलियो बनाउँछ र नेपाली फुटबललाई फेरि उचाइमा पु‍र्‍याउने आधार तयार गर्छ ।

(चौधरी, पूर्वराष्ट्रिय फुटबलर हुन्)

(कुराकानीमा आधारित)

See More On

सुझावित समाचार