रास्वपा सभापति रवि लामिछाने मेरो संघर्षका दिनहरूका साथी हुनुहुन्छ । उमेरले मभन्दा एक वर्ष कान्छा भए पनि म उहाँलाई ‘दाइ’ भन्छु, उहाँ पनि मलाई ‘दाइ’ नै भन्नुहुन्छ । हाम्रो सम्बन्ध नै त्यस्तो छ, दाइ–दाइ भनेर बोलाउने । तर, आपसी आत्मीयतामा ‘तिमी’ भनेर कुराकानी गर्छौँ । औपचारिक भेटघाटमा ‘तपाईं’ नै भनेर बोलिन्छ ।
०५२ सालतिरको कुरा हो । म आफ्नो पहिलो एल्बम ‘आशीर्वाद’ ल्याउने तयारीमा थिएँ । म संगीतमा सपना बोकेर काम गरिरहेको थिएँ । त्यही क्रममा रविजीसँग भेट भयो । गीत–संगीतका विषयमा कुराकानी भयो । त्यो वेला रविजी पनि मिडियामा आफ्नो ठाउँ बनाउने प्रयासमा हुनुहुन्थ्यो । उहाँले हास्य विधाअन्तर्गत ‘ट्वाक्क टुक्क’ कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो, साथै चलचित्रसम्बन्धी ‘तातोपिरो’ कार्यक्रम पनि चलाउनुहुन्थ्यो ।
त्यसवेला एल्बममा ‘न्यारेसन’ राख्ने चलन थियो । एल्बमको न्यारेसन पनि रविजीले नै लेख्नु भयो । आवाजचाहिँ हरिशरण लामिछाने दाइले दिनुभएको थियो । स्क्रिप्ट लेखनमा रविजी निकै सक्रिय हुनुहुन्थ्यो ।
दोस्रो एल्बम ‘आशिष’ निकाल्ने तयारीमा थिएँ । त्यसवेला उहाँ चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहनुभएको थियो । दोस्रो एल्बमका लागि धेरै सहयोग गर्नुभयो । त्यसरी सुरु भएको सहकार्य क्रमशः बढ्दै गयो । खासगरी मेरो दोस्रो एल्बमदेखि हामीबिचको सम्बन्ध अझ प्रगाढ भयो । आत्मीयता बढ्दै गयो । संघर्ष, सपना र साथ सँगसँगै अघि बढ्दै गयो ।
‘आशा’ एल्बमको तयारी गरेँ । त्यो एल्बममा ‘ओराली लागेको’लगायतका गीतहरू समेटिएका थिए । एल्बम विमोचन कार्यक्रममा पनि रविजीले सञ्चालन गर्नुभएको थियो । त्यसवेला उहाँले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाइदिनुभयो । ०५५ सालको कुरा हो । त्यसवेला रविजीको नेतृत्वमा नेपाल एकेडेमीमा एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो– ‘ढकाल मधुर साँझ’ । त्यो साँझ साँच्चै अविस्मरणीय बन्यो । कार्यक्रम सञ्चालन पनि उहाँले नै गर्नुभयो, जसले माहोल जीवन्त बन्यो । त्यसपछि हामी धेरै कार्यक्रममा सँगै हिँड्न थाल्यौँ ।
‘तिम्रो आगमनले...’
गीतको अन्तरकथा
रविजी गीत लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । अर्को मेरो मिल्ने साथी नवीन के. भट्टराई हो । नवीनजी अंग्रेजी गीतहरू गाउने, नयाँ शैलीका ट्युन बनाउने गर्नुहुन्थ्यो । उहाँले एक दिन एउटा ट्युन तयार पार्नुभयो । त्यो ट्युन मलाई निकै मन पर्यो ।
मैले नवीनजीलाई भनेँ, ‘मेरा लागि ट्युन बनाउनु । गीत रविजीले लेख्नुहुन्छ ।’ त्यसपछि मैले रविजीसँग कुरा गरेँ । नवीनजीले तयार पारेको ट्युनमा रविजीले शब्द भर्न थाल्नुभयो ।
गीतको अन्तरा मैले आफैँ लेखेको थिएँ । त्यसवेला एक्लै बम्बई पुगेर रेकर्ड गरेँ । त्यसरी ‘तिम्रो आगमनले फेरि नयाँ उमंग ल्यायो...’ गीत जन्मियो । त्यतिवेला आधुनिक गीतकै प्रभाव बढी थियो, त्यसैले मैले पप शैलीको गीत गाएको सुन्दा धेरैले अचम्म मान्दै भन्न थाले,‘रामकृष्ण ढकालले पप गीत पनि गाउन थाल्यो ।’ त्यो समय म आधुनिक गीत गाइरहेको थिएँ । तर, मनभित्र कतै नयाँ शैलीमा केही गर्ने इच्छा पनि पलाइरहेको थियो । त्यो गीत मेरो सांगीतिक यात्रामा फरक स्वाद बोकेको सिर्जना बन्यो । आज पनि दर्शक–श्रोताले त्यसलाई उत्तिकै माया गरिरहेको देख्दा मन सन्तुष्ट हुन्छ ।
नेपालभित्रका धेरै कार्यक्रममा सँगै हुन्थ्यौँ, एउटै मञ्चमा उभिन्थ्यौँ । रविजी आफैँ पनि राम्रो गाउनुहुन्थ्यो– उहाँको गायन क्षमता पनि उत्तिकै राम्रो थियो । संयोगले हामी सन् २००१ तिर जापानको सांगीतिक कार्यक्रममा सँगै जाने अवसर पायौँ । एउटै स्टेजमा गीत गाउने मौका मिल्यो । हामीले ‘तिरिरी मुरली बज्यो बनैमा’ र ‘रेशम फिरिरी’जस्ता गीतहरू प्रस्तुत गर्यौँ । ‘रेशम फिरिरी’ गीत जापानमा निकै मन पराइयो, दर्शकहरूको उत्साह देख्दा हामी झन हौसियौँ । तर, स्टेजमा गीत गाउनुअघि उहाँले गीतका लाइन नबिर्सियोस् भनेर हातमै लेख्नुहुन्थ्यो । कहिलेकाहीँ अगाडिको लाइन मात्रै टिपोट गर्नुहुन्थ्यो । त्ससवेला हार्मोनियम बजाउँदै गीत गाउँथेँ, कुनै वेला मैले शब्द बिर्सन लागेँ भने उहाँ हातले देखाएर सम्झाइदिनुहुन्थ्यो ।
एकपटक गीत गाइरहँदा हामी यत्तिकै हाँस्यौँ । कार्यक्रम बिचमै रोकियो । गीतको पहिलो शब्द मात्रै लेखेको देखेर मलाई हाँस उठेको थियो । हाँसोले ट्र्याक नै छुट्यो, तर त्यो क्षण निकै रमाइलो र सम्झनलायक बन्यो । करिब ५० दिन जापानमा सँगै बस्यौँ, सँगै हिँड्यौँ । जापान बसाइँभरि हामीबिच गीत–संगीतका कुरा हुन्थे, भविष्यका योजना बुनिन्थे । आ–आफ्ना अनुभव साटासाट हुन्थे ।
रविले खिचेको त्यो म्युजिक भिडियो
अर्को रोचक कुरा छ, हामीले जापान बसेर म्युजिक भिडियो खिच्यौँ । ‘तिम्रो आगमनले...’ गीतको अडियो तयार भइसकेको थियो । तर, त्यसको म्युजिक भिडियो बनाइएको थिएन । जापान बसाइँकै क्रममा हामीले त्यसको भिडियो बनाउने योजना बनायौँ । त्यही वेला मैले जापानमै सोनीको ह्यान्डिक्याम (क्यामेरा) किनेँ । त्यसपछि हामी भिडियो खिच्न थाल्यौँ ।
जापानका राम्रो देखिने स्थानमा म उभिएर गीत गाउँथेँ, रविजीले ह्यान्डिक्याम समातेर दृश्य खिच्नुहुन्थ्यो । टोकियो टावरजस्ता ठाउँहरूमा पनि पुग्यौँ, जहाँको दृश्यले भिडियोलाई अझ आकर्षक बनायो । जापानमै ७०० सिसीको होन्डा बाइकसमेत प्रयोग गरेका थियौँ, जसले भिडियोमा फरक स्वाद थप्यो । त्यो भिडियोको क्यामेराम्यान र निर्देशक रविजी आफैँ हुनुहुन्थ्यो । निकै सीमित साधन र उत्साहका बिच बनेको त्यो म्युजिक भिडियो बन्यो । भिडियोको क्लोजिङ सिन भने नेपालमै खिच्यौँ । त्यो ५० दिन हाम्रो सिर्जनात्मक सहकार्यको सुन्दर सम्झना बन्यो ।
सुरमा गाउन सक्ने गायक
उहाँले ‘चरीले त छाडेर गै गयो...’ गीतको म्युजिक भिडियो निर्देशन गर्नुभएको हो । त्यो भिडियो साँच्चै राम्रो बनेको थियो । उहाँको निर्देशकीय खुबी गजबको छ । दृश्यलाई कसरी जीवन्त बनाउने भन्ने कला उहाँमा छ ।
गायकीमा पनि कमजोर हुनुहुन्न । उहाँसँग राम्रो गायकी क्षमता छ । ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्ती ...’ गीतको केही अंश उहाँले पनि गाउनुभएको छ । फिल्म ‘गंगा’को ‘ताक्छु गुलेले...’ भन्ने गीत पनि उहाँले नै गाउनुभएको हो ।
उहाँ सुरमा गाउन सक्ने मान्छे हुनुहुन्छ । स्वर तानेर गाउन त्यति सहज नहुन सक्छ, तर सुर समात्ने क्षमता उहाँमा राम्रो छ । त्यसैले उहाँभित्रको कलाकार सधैँ जीवित छ भन्ने लाग्छ ।
त्यो फोन कल
०५८ सालतिरको कुरा हो । मैले फिल्म ‘आशीर्वाद’ बनाउने योजना बनाएको थिएँ, यसमा पनि रविजी र मेरो सहकार्य निरन्तर रह्यो । फिल्म निर्माणदेखि विभिन्न काममा हामीसँगै थियौँ । हामी फिल्मको रेकर्डिङका लागि बम्बईसँगै गएका थियौँ । रेकर्डिङदेखि प्रचार–प्रसारसम्म हामीसँगै थियौँ । झापाको दमकलगायतका ठाउँमा पुगेका थियौँ ।
फिल्म रिलिज भएको पहिलो हप्ता चलिरहेको थियो । त्यही वेला पोखरामा कार्यक्रमको तयारी थियो । मैले भर्खरै गाडी किनेको थिएँ, त्यसैले आफैँ ड्राइभ गरेर पोखरा पुगेँ । पोखरामा रविजी जान पाउनुभएन । पोखरामा फिल्म देखाउने कार्यक्रम तय थियो । मैले मोबाइल अफ गरेर बसेको थिएँ, त्यसैले सुरुमा थाहा भएन । बिहान रेडियो अन्तर्वार्ताको तयारी गर्दै थिएँ, त्यही वेला रविजीले होटेलको फोनमा सम्पर्क गर्नुभएछ । उहाँले भन्नुभयो, ‘दाइ, तपाईंलाई थाहा छैन ? यहाँ त राजाको हत्या भयो, टिभी हेर्नु ।’ त्यो खबर सुन्नासाथ म स्तब्ध भएँ र तुरुन्तै पोखराबाट काठमाडौं फर्किएँ ।
राजा वीरेन्द्रसहितको परिवारको हत्याको खबरले हामी सबैलाई पीडा दियो । त्यसवेला शोक प्रकट गर्ने एउटा चलनझैँ बनेको थियो– कपाल खौरिने । म र रविजी पनि एउटै सैलुनमा गएर कपाल खौरिएका थियौँ । दुःख, सुख र संवेदनाका हरेक क्षणमा सँगै उभिने, हाम्रो सम्बन्ध त्यस्तो थियो ।
पारिवारिक सम्बन्ध
हामी पारिवारिक रूपमा पनि निकै नजिक थियौँ । उहाँ मेरोमा आउनुहुन्थ्यो । म उहाँकोमा पुगिरहन्थेँ । खसीको मासु उहाँको मन पर्ने परिकारमध्ये एक थियो । उहाँ आफैँले पकाएर खुवाउनु हुन्थ्यो । उत्तिकै मिठो बनाउनु हुन्थ्यो । निह्यु बज्राचार्य दाइ, दीपकराज गिरीजी, रविजी र म प्रायः सँगैजस्तै हुन्थ्यौँ । कहिलेकाहीँ म्यारिज पनि खेल्थ्यौँ । सानो–सानो रमाइलोमै ठूलो खुसी खोज्थ्यौँ । स्रोत–साधन सीमित थिए, तर आत्मीयता र उत्साह असीमित थिए । हामी प्रायः छुट्टिँदैनथ्यौँ । मित्रता, संगीत र जीवनका ससाना खुसीहरू सँगै बाँडिएका थियौं ।
रवि धरधरी रोएको त्यो क्षण
०५९ सालतिरको कुरा हो । म त्यतिवेला लाजिम्पाटमा बस्थेँ । जीवनमा एउटा यस्तो चरण पनि आउँछ, जहाँ आर्थिक दबाबले मानिसलाई बिस्तारै थिच्दै लैजान्छ । आफ्नै बाध्यता हुन्छन्, परिवारसँगै जिम्मेवारी पनि थपिँदै जान्छन् ।
त्यसैबिच उहाँले अमेरिका जाने योजना बनाउनुभयो । त्यो वेला अमेरिका जानु आफैँमा ठुलो कुरा मानिन्थ्यो । भिसा लागेपछि खुसी हुनु स्वाभाविक थियो । उहाँको पनि भिसा लाग्यो, अमेरिका जाने अघिल्लो दिन मलाई भेट्न आउनुभयो ।
त्यो भेट आज सम्झिरहेको छु । उहाँले मलाई अंकमाल गर्नुभयो र, एक्कासि धरधरी रुन थाल्नुभयो । छुट्टिनुपर्दाको पीडा त्यति गहिरो थियो । त्यो क्षण शब्दले व्यक्त गर्न गाह्रो पर्छ । म पनि भावुक भएँ । त्यो क्षण मेरो जीवनकै सबैभन्दा भावुक क्षणमध्ये एक हो, जुन म कहिल्यै बिर्सिन सक्दिनँ ।
उहाँ अमेरिका जानुभएपछि आ–आफ्नो जीवनमा व्यस्त भयौँ, भेटघाट कम हुँदै गयो । तर, फोनमा कुराकानी भइरहन्थ्यो, पुराना सम्झना साटिन्थे । पछि म पनि अमेरिका पुगेँ, त्यतिवेला फेरि भेट भयो । त्यहाँका सांगीतिक कार्यक्रमहरूमा हामीसँगै हुन्थ्यौँ, फेरि उही आत्मीयता फर्किएको महसुस हुन्थ्यो । समय र दूरीले केही टाढा बनायो होला, तर सम्बन्धको न्यानोपन कहिल्यै घटेन ।
मैले चिनेको रवि लामिछाने रमाइलो स्वभावका, ह्युमरले भरिएका र सहयोगी भावना भएको मान्छे हो । रविजी ‘डाउन टु अर्थ’ हुनुहुन्छ । उहाँमा अरूलाई सहयोग गर्ने मन ठुलो छ । सायद त्यही कारणले मिडियामा रहँदा उहाँले धेरैलाई उद्धार गर्नुभएको छ । आफ्नो नाम बनाउनेभन्दा पनि सहयोग गर्ने भाव उहाँमा बढी देखिन्छ । रविमा सकारात्मक सोच छ । उहाँ सार्प माइन्डेट हुनुहुन्छ, अध्ययन गर्न पनि उत्तिकै रुचि राख्नुहुन्छ ।
तर, मानिस भएका कारण कमजोरी पनि स्वाभाविक हुन्छन् । कतिपय स्वभाव मेरो र उहाँको मिल्छ । म चाँडै विश्वास गर्ने, सानो कुरामा पनि उत्साहित हुन्छु । खुसी लागेको कुरा तुरुन्तै अरूसँग बाँडिहाल्ने बानी छ । साना सफलतामा पनि सेलिब्रेट गर्न मन लाग्छ । रविजीमा पनि मैले त्यही कुरा देखेको । कहिलेकाहीँ छिटो निर्णय गर्ने र सहजै विश्वास गर्दा धोका पाइन्छ । यो हामी दुवैमा समान छ । रविजीमा सकारात्मक सोच र सहयोगी भावना बढी छ । तर, मानवीय स्वभावका सामान्य कमजोरी पनि छन् ।
उहाँ राजनीतिमा लागेपछि धेरै व्यस्त हुनुभएको छ । कहिलेकाहीँ मनमा आउँछ– कतै एकान्तमा बसौँ, पुरानो दिनहरू सम्झौँ । गीत–संगीतका कुरा गरौँ, म मेरा नयाँ–पुराना गीतहरू उहाँलाई सुनाऊँ । तर, त्यो समय जुरेको छैन । म बुझ्छु, उहाँमाथि ठुलो जिम्मेवारी छ । कहिलेकाहीँ फोनमा छोटो कुराकानी हुन्छ ।
उहाँ जेलमा हुँदा म भेट्न गएको थिएँ– भैरहवामा पनि पुगेँ, काठमाडौं आएपछि नक्खु जेलमा दुईपटक भेटेँ । त्यो समयका भेटहरू आत्मीय भेट थिए । भेटमा पुराना दिन सम्झिन्थ्यौँ । छोटो–छोटो भेटघाटमै पनि धेरै कुरा साटिन्थ्यो । उहाँ निर्वाचित भएपछि एकपटक भेट भयो, बधाई दिएँ । अहिले त्यस्तो सहजता छैन, तर सम्बन्धको आत्मीयता भने उस्तै छ ।
मेरा सुझाव
हामी भेट्दा पुराना दिनहरू नै सम्झिन्छौँ । रमाइला गफ गर्छौँ, हाँसो–ठट्टा गर्छौँ, सौहार्दपूर्ण समय बिताउँछौँ । तर, नजिकको साथी भएको नाताले केही कुरा भन्न मन लाग्छ । उहाँले चाहेर पनि समय दिन सक्ने अवस्था हुँदैन । कहिलेकाहीँ मेरो फोन पनि उठ्दैन । अरू पुराना साथीहरूबाट पनि सुन्छु– ‘रवि त्यो ठाउँमा पुग्यो, फोन गर्दा उठेन ।’ तर, यो स्वाभाविक हो । उहाँको जिम्मेवारी ठुलो छ ।
हिजो दुःख–सुख साटेका साथीहरूलाई कहिल्यै नबिर्सिनुहोस् । हामी एउटै परिवारजस्तै हौँ, सबै मान्छे हामीलाई चाहिन्छ । हाम्रो देशमा धेरै चिज बिग्रिएका छन् । बिग्रिएका चिजलाई सुधार्दै लैजाने हामी सबैको कर्तव्य हो । उहाँ ठाउँमा हुनुहुन्छ । हिजोका पुराना राजनीतिक नेताहरूले जे–जति गर्नुभयो, त्यो आफ्नो ठाउँमा छ । तर, रविजीप्रति आज ठुलो अपेक्षा छ । देशमा चुनौती पनि उत्तिकै छन् ।
रविजीका कामबारे मैले राय, सल्लाह दिनुपर्छजस्तो लाग्दैन । उहाँ आफैँ सक्षम हुनुहुन्छ । उहाँले उठाएका मुद्दाहरू सम्बोधन हुनुपर्छ । गर्नैपर्ने केही आधारभूत काम छन् । तीमध्ये सबैभन्दा ठुलो विषय भ्रष्टाचारको निर्मूल गर्नु हो । हाम्रो देशलाई भ्रष्टाचारले गहिरोसँग गाँजेको छ । मिडियामा हुँदा उहाँले मालपोतमा हुने घुसखोरीदेखि विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारसम्म धेरै विषय उठाउनुभयो । त्यही कामले उहाँलाई जनतामाझ चिनायो ।
राजनीतिमा आएपछि पनि उहाँको मुख्य एजेन्डा भ्रष्टाचारविरुद्धको लडाइँ नै थियो । पहिलोपटक संसद्मा जाँदा उहाँ चर्चामा हुनुहुन्थ्यो, गृहमन्त्री पनि बन्नुभयो । बिचमा केही व्यक्तिगत झमेला आए, तर फेरि उठेर अघि बढ्नुभयो । अहिले उहाँसँग ठुलो जनमत छ । पाँच वर्षमा धेरै काम गर्ने अवसर पनि छ । मलाई लाग्छ, उहाँलाई रोक्न कसैले सक्दैन, यदि उहाँ दृढ रहनुभयो भने ।
मेरो विचारमा, देशलाई भ्रष्टाचारमुक्त बनाउने काम नै पहिलो प्राथमिकता हुनुपर्छ । बिचौलियाहरूले लिइरहेको फाइदा अन्त्य गर्नु जरुरी छ । यदि यो काम सफल भयो भने, त्यो नै सबैभन्दा ठुलो उपलब्धि हुनेछ । अरू काम पनि धेरै छन्, तर सबै कुरा रातारात सम्भव हुँदैन । यसमा हामी नागरिक पनि सचेत हुनुपर्छ ।
नेपाल कला, संस्कृति र संगीतमा निकै धनी देश हो । तर, हामी कलाकार अझै संघर्ष गरिरहेका छौँ । मैले गाएका गीतहरूले मेरो जीविका सहज रूपमा चल्छ भन्ने अवस्था छैन । रोयल्टीबाट बाँच्न सक्ने स्थिति छैन । यो निकै गम्भीर विषय हो ।
रविजी आफैँ पनि गीत–संगीतमा रुचि राख्नुहुन्छ । त्यसैले नेपाली संगीतको कपिराइट र रोयल्टी प्रणालीलाई व्यवस्थित गर्नु आवश्यक छ । यसले हामीजस्ता कलाकारलाई बाँच्न सहज बनाउँछ ।
मैले धेरै गीत गाएको छु, तर ती गीतबाट अरूले फाइदा लिइरहेका छन् । हामी गायकहरू भने मर्कामा छौँ । त्यसैले कलाकारको हक–अधिकार सुनिश्चित गर्ने काम पनि प्राथमिकतामा पर्नुपर्छ । समग्रमा हेर्दा, उहाँले गर्नुपर्ने काम धेरै छन् । आमनागरिकलाई प्रत्यक्ष असर पार्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । नयाँ नीति–नियम बनाउनुपर्छ, पुराना संरचनालाई सुधार गर्नुपर्छ । कार्यान्वयनलाई कडाइका साथ अघि बढाउनुपर्छ । देशमा रहेका विकृति र विसंगति अन्त्य गर्नु नै अहिलेको मुख्य आवश्यकता हो ।
पुराना राजनीतिक दलहरूले गल्ती गर्दा पनि पद नछोड्ने पराम्परा थियो । अहिले सानो गल्तीमा पनि मन्त्रीहरूले पद छाड्न थालेका छन् । यो राम्रो संकेत हो । कानुन सबैका लागि बराबर हो भन्ने सन्देश बलियो बन्दै गएको छ । म चाहन्छु, यो अभ्यास सधैँ कायम रहोस् ।