बर्ड–फ्लु कति डराउनुपर्ने रोग हो ?
बर्ड–फ्लु त्यति धेरै आत्तिनुपर्ने रोग होइन । यसबारे अलि बढी चर्चा भएको मात्र हो । यो रोग हरेक मानिसलाई सजिलै सर्छ, कुखुराको मासु र अन्डा छुन या खानै हुँदैन भन्ने हल्ला मात्र हो । खासगरी कुखुरा पाल्ने कृषक, ढुवानी तथा लोड–अनलोड गर्ने व्यक्ति र वधशालामा काम गर्ने व्यक्तिको कुखुरासित लामो र प्रत्यक्ष सम्पर्क हुन्छ । त्यसले गर्दा उनीहरूमा चाहिँ जोखिम अलि बढी हुन सक्छ । त्यसैले, उनीहरूले अलि बढी सतर्क हुनु जरुरी छ । यो रोग मानिसबाट मानिसमा सजिलै सरेको ‘हिस्ट्री’ त्यति भेटिन्न । भविष्यमा भाइरसको ‘म्युटेसन’ भएर यसले आफ्नो ‘क्यारेक्टर चेन्ज’ गर्यो र मानिसबाट मानिसमा पनि व्यापक सर्न थाल्यो भने त्यतिखेर फरक उपाय अपनाउनुपर्ने हुन सक्छ । तर, कुनै व्यक्ति संक्रमित भएर लक्षण देखिएकामध्ये पहिले–पहिले ६० प्रतिशत र अहिले ५० प्रतिशतको मृत्यु हुने गर्छ । त्यसैले, सचेत भने हुन जरुरी छ ।
यसबाट जोगिन सर्वसाधारणले कस्तो सावधानी अपनाउनुपर्ला ?
हामीकहाँ मासु पकाएर र अन्डा उसिनेर या पकाएर खाने चलन छ । यसले गर्दा खासै डराउनुपर्दैन । किनकि, बर्ड–फ्लुको भाइरस ७० डिग्री सेल्सियसभन्दा माथिका तापक्रममा बाँच्न सक्दैन । पसलबाट भान्छासम्म पुग्दा संक्रमणको ठुलो जोखिम हुँदैन । तर, माथि भनिएका ‘क्लोज कन्ट्याक्ट’मा रहनेहरूले भने सचेत हुनुपर्छ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, कसैकसैमा पखाला लाग्नेजस्ता लक्षण देखिएमा भने चिकित्सकसँग परामर्श गर्दा राम्रो हुन्छ ।
धेरैतिर फैलिरहेको बर्ड–फ्लु रोक्न राज्यले चाहिँ के गर्नुपर्ला ?
राज्यले बर्ड–फ्लुबारे पर्याप्त जनचेतना फैलाउन जरुरी छ । कुखुरासित ‘क्लोज कन्ट्याक्ट’मा रहने व्यक्तिलाई यसबारे विशेष रूपमा सचेत गराउनुपर्छ । प्रभावित फर्ममा त ‘प्रोटोकल’अनुसार काम भई नै हाल्छ ।