फ्रान्स र युरोपका अन्य धेरै भागमा अहिले तातो लहर चलिरहेको छ । यही तातो लहरबाट राहत पाउन नदी तथा पोखरीमा पौडी खेल्ने क्रममा फ्रान्समा कम्तीमा ४८ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार फ्रान्सले अहिलेसम्मकै सबैभन्दा तातो रात रेकर्ड गरेकै दिन बोल्दै प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले डुबेर मृत्यु हुने संख्याबारे जानकारी गराएका हुन् । मंगलबार बोलाइएको आपत्कालीन मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग बोल्ने क्रममा प्रधानमन्त्री लेकार्नुले मर्नेमा अधिकांश युवा रहेको बताए ।
त्यस्तै अलग घटनामा स्थानीय अधिकारीले दक्षिणपूर्वी फ्रान्सको कार्पेन्ट्रास सहरमा घरबाहिर रोकिराखेको कारमा बेहोस अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको जनाएको छ । दुई वर्ष र चार वर्षका ती बालबालिकाको मृत्युको कारण पनि गर्मीको लहर भएको बताइएको छ ।
स्थानीय अधिकारी सोफी ब्रोकासले फ्रान्स टिभीसँग बोल्ने क्रममा बोर्दो क्षेत्रमा गर्मीसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण ८० देखि ९५ वर्ष उमेरका थप तीनजनाको मृत्यु भएको जानकारी दिइन् । फ्रान्सको मौसम विज्ञान विभागले सोमबार र मंगलबारबिचको रात देशले सन् १९४७ मा तापक्रमको रेकर्ड राख्न सुरु गरेयताकै रातको समयको सबैभन्दा गर्मी भएको बताएको छ ।
युरोपका अन्य भागमा पनि उस्तै गर्मी महसुस गरिएको छ । बेलायतको मौसम कार्यालयले सोमबारदेखि चार दिनसम्म देशमा तापलहर आउने चेतावनी दिएको छ । यस अवधिमा देशका केही भागमा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुग्ने उसले बताएको छ । यसअघि मे महिना पनि बेलायतमा रेकर्ड राख्न थालिएपछिकै सबैभन्दा उच्चतम तापक्रम रेकर्ड गरिएको थियो ।