गत तीन वर्षको तथ्यांकअनुसार अछाममा लागुऔषध दुर्व्यसनसम्बन्धी मुद्दाको संख्या बढ्दै गएको पाइएको छ। पहिलो वर्षको तुलनामा हाल लागुऔषधसम्बन्धी मुद्दाको अवस्था तेब्बर बढी देखिन्छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आर्थिक वर्ष ०८०/८१ मा लागुऔषधबारेका तीनवटा मुद्दा दर्ता भएका थिए। त्यसपछि ०८१/८२ मा नाै र ०८२/८३ मा पनि नाैवटै मुद्दा दर्ता भएका छन्। सदरमुकाम मंगलसेनमा आयोजित धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको नियमन एवं नियन्त्रणसम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरूलाई जानकारी दिँदै खनालले मुद्दा दर्तापछि पहिलो वर्ष सात, दोस्रो वर्ष १२ र यो वर्ष ११ जनालाई पक्राउ गरिएको बताए।
यस क्रममा आर्थिक वर्ष ०८०/८१ मा खैरो हेरोइन ७४० मिलिग्राम, चरेश २८.९२ ग्राम र नाइट्रिजिपाम १२ ट्याब्लेट बरामद गरिएको छ। उनका अनुसार आव ०८१/८२ मा खैरो हेरोइन ६७० मिलिग्राम, चरेश २७५.५४ ग्राम, गाँजा २४.८ ग्राम र ट्रामाडोल ५६ क्याम्पसुल बरामद भएको छ। चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म चरेश ९९.८२ ग्राम, खैरो हेरोइन २०९ ग्राम र ट्रामाडोल ६६ क्याप्सुल बरामद गरिएको खनालले बताए। उनले लागुऔषध दुर्व्यसनको दलदलमा सबैभन्दा बढी विद्यालय उमेर समूहका बालबालिका रहेको उल्लेख गरे। जसको सुधारका लागि प्रहरीले विद्यालयस्तरमा परामर्श गर्ने गरेको छ।
अन्तरक्रियामा स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले दीर्घरोग लाग्नुको कारण र धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको नियमन एवं नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए। उनले अभिभावककै कमजोरीका कारण बालबालिकाहरू कुलतमा फसेको भन्दै यसको सुधारका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए।
अन्तरक्रियामा खनाल र ढुंगानाले प्रस्तुत गरेका तथ्यांकहरूको विश्लेषण गर्दै मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले बालबालिकाहरू कुलतमा फसिरहेको विषय यथार्थ र दुःखद भएको भन्दै अछाम जिल्लालाई लागुपदार्थबाट मुक्त बनाउने अभियानमा आफू रहेको बताए। ‘म उहिल्यैदेखि यो अभियानमा छु,’ बोहराले भने, ‘हामीले भनेको अभिभावक नै मान्दैनन्। यसमा अब कडाइ गर्नुपर्छ।’
जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा खम्मबहादुर बोगटीका अनुसार अनुगमन र नियमन व्यवस्थित नहुँदा यो समस्या दोहोरिरहेको देखिन्छ। यसका लागि नियमनबारे स्पष्ट निर्देशनको खाँचो रहेको उनले बताए। छलफलमा गोरख बक्स गणका गणपति प्रमुख सेनानी राजु महर्जन, मंगलसेन– ५ का वडाध्यक्ष झंकरप्रसाद भाट र नेपाल रेडक्रस सोसाइटीका सभापति रत्नप्रसाद ढुंगानालगायतले भाग लिएका थिए।