अहिले रेबिज र सर्पदंशको भ्याक्सिन किन अभाव भएको होला ?
बाहिर हल्ला भएजस्तो खोपको अभाव छैन । अस्पतालहरूमा खोप उपलब्ध छ । खरिद क्यालेन्डरअनुसार पाँच लाख भाइल खोप खरिद गर्नुपर्नेमा अन्तर्राष्ट्रिय बजारमा खोपको चर्को मूल्यवृद्धि भएकाले समयमै खरिद गर्न नसकिएको हो । माघमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुँदा मूल्यवृद्धिकै कारण लगत मूल्यभन्दा बढीका बोलपत्र परेकाले सम्भव भएन । तर, अत्यावश्यक अवस्थामा अस्पतालहरूले निश्चित मूल्य सीमाभित्र रहेर स्थानीय बजारबाटै खरिद गरी प्रयोग गर्दै आएका पनि छन् ।
भनेपछि भ्याक्सिन अभावका कारण डराउनैपर्ने अवस्था छैन त ?
हो, डराउनुपर्ने अवस्था बिल्कुलै छैन । समस्या परे केही महँगो भए पनि बजारबाट किनेरै पनि लगाउन सकिन्छ । सरकारी अस्पतालहरूमा निःशुल्क लगाइने खोपको मात्र कमी भएको हो । यी खोपले रोगको उपचार गर्ने होइनन्, रोगको रोकथाम गर्ने मात्र हुन् । खोपको व्यवस्थापनसँगै हामीले घरपालुवा कुकुरलाई नियमित खोप लगाउने गर्नुपर्छ । यस्तो खोप स्वदेशमै उत्पादन हुन्छ र सस्तो पनि पर्छ । साथै, सडक कुकुरको व्यवस्थापन पनि गर्नुपर्छ । तिनको संख्या घटाउन वन्ध्याकरण पनि गर्नुपर्छ । जंगली जनावहरूको सम्पर्कबाट कुकुरहरूलाई जोगाउनु पनि जरुरी छ । सकभर कुकुर र अन्य जनावरको टोकाइबाट जोगिने प्रयास गर्ने हो भने पनि ठुलो परिमाणमा महँगो खोप जरुरी पर्दैन ।
कहिलेसम्ममा भ्याक्सिन सर्वसुलभ भइसक्ला त ?
पछिल्लोपटक आह्वान गरिएको बोलपत्र यही १६ असारमा खोलिँदै छ । त्यसको प्राविधिक अध्ययन भइसकेको छ । अब बोलपत्र खोलेपछि आर्थिक मूल्यांकन गरी खरिद प्रक्रियामा गइन्छ । यसबाट समयमै खोप आइपुग्नेमा हामी विश्वस्त छौँ । कथं समयमै आएन भने वैकल्पिक व्यवस्था गरेरै भए पनि खोप उपलब्ध गराउन मन्त्रालय तयारी अवस्था छ ।