सुर्खेतमा यसरी पक्राउ परेका थिए विष्णु पौडेल

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि एमाले नेताहरू सुर्खेत गएका थिए । सोहीअनुसार वीरेन्द्रनगर– ३, एरीचोकनजिकैको शुभ होटेलको सभाहलमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेलसहित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतका नेताहरू कार्यकर्तासँग सुझाव माग्दै थिए । सभाहलमा एमालेका प्रदेश र कर्णाली प्रदेशका १० वटै जिल्लाका पदाधिकारी सहभागी थिए । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई गरेको पत्राचारअनुसार प्रहरी पौडेललाई पक्राउ गर्न कार्यक्रमस्थल गएका थिए । पौडेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी ठाकुरप्रसाद पोखरेलको कमान्डमा १० जनाको विशेष प्रहरी टोलीले गएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार सोही कार्यक्रमस्थलबाटै साेमबार साँझ ५:४५ बजे उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल मञ्चमा थिए । उक्त कार्यक्रममा प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरू कार्यक्रममा चुनावी समीक्षा र पार्टीको पुनर्गठनका विषयमा छलफल गरिरहेका थिए । त्यही वेला सुर्खेत जिल्लाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक पोखरेलसहितको १० जनाको टोली त्यहाँ पुगेको थियो । 

कार्यक्रममा सहभागी एमाले नेताहरूका अनुसार उपाध्यक्ष पौडेललाई प्रहरीले ‘केही काम छ’ भनेर हलबाहिर बोलाएका थिए । प्रहरीले बोलाएपछि उनी बाहिर आएका थिए । तर, हलमा रहेका धेरै नेता–कार्यकर्ताले त्यसवेलासम्म पौडेललाई प्रहरीले किन बोलायो भन्ने मेसो पाएका थिएनन् ।

केहीबेरमै उपाध्यक्ष पौडेल पक्राउ परेको समाचार आउन थाले । त्यसपछि मात्र उनी पक्राउ परेको जानकारी आएको र हलमा खैलाबैला भएको एक सहभागीले बताए । पौडेल पक्राउ परेको थाहा पाएपछि तत्काल कार्यक्रम स्थगित गरिएको थियो । मंगलबार होटेल डिनमस्तेमा पुनः कार्यक्रम हुने एमालेका नेताहरूले बताएका छन् । 

पक्राउ परेलगत्तै उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । त्यसपछि उनलाई काठमाडौं लैजानका लागि नेपालगन्ज लगिएको थियो ।

पौडेल गिरफ्तारीपछि ओलीले भने– राजनीतिक प्रतिशोधको पराकाष्ठा, प्रतिवाद गर्ने चेतावनी
उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र राजनीतिक पूर्वाग्रहको निरन्तरता भएको भन्दै एमालेले यसको विरोध गर्दै प्रतिवाद गर्ने बताएको छ । सोमबार साँझ अध्यक्ष केपी ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले कानुनी प्रक्रिया र विधिको शासनको समेत अवहेलना गर्दै अधिनायकवादी शैलीमा कदम चालेको आरोप लगाइएको छ ।

एमालेले सार्वजनिक पदमा रहेका र कानुनको सम्मान गर्ने व्यक्तिलाई ‘सस्तो राजनीतिक स्टन्ट’का लागि नियतवश पक्राउ गरिएको दाबी गरेको छ । ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै वेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने हुँदाहुँदै गिरफ्तार गरिएको छ । सार्वजनिक पद धारण गरेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तिलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि नियतवश गिरफ्तार गरिएको छ । सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,’ ओलीले जारी गरेको विज्ञप्तिमा छ, ‘वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ— विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।’

पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका वेला पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन् । उनले यसका विरुद्ध सामूहिक प्रतिवाद गर्नसमेत विभिन्न पक्षसँग आह्वान गरेका छन् । ‘एमाले सधैँ कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र एमालेमाथि लगातार भइरहेका षड्यन्त्रविरुद्ध प्रहार र राजनीतिक पूर्वाग्रहको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ ओलीले भनेका छन्, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।’

सुझावित समाचार