सजाय छल्न नाम नै परिवर्तन

१३ वर्षअघि हत्या गर्दा एउटा नाम, पक्राउ पर्दा अर्कै

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण
  • ०७० भदौमा महमद अवासको हत्या मुद्दामा दोषी ठहर भएका दिप्सन चौधरी हाल पक्राउ परेपछि नाम फेरेको भेद खुलेको हो

दमक नगरपालिका–८ का दिप्सन चौधरीले अपराधको सजाय छल्न नाम नै परिवर्तन गरेको पाइएको छ । १३ वर्षअघि ०७० भदौमा मोरङ कटहरी घर भई साबिक दमक–१३ (हाल दमक–८) मा बस्ने महमद अवासको हत्या मुद्दामा दोषी ठहर भएका चौधरी हाल पक्राउ परेपछि नाम फेरेको भेद खुलेको हो । उनको नाम त्यतिखेर दिवस चौधरी थियो । 

११ भदौ ०७० मा महमदमाथि दिप्सनसहितको समूहले गुन्डागर्दी गर्दै कुटपिट गरे । त्यसको १० दिनपछि अर्थात् २१ भदौ ०७० मा महमदको मृत्यु भयो । त्यसवेला दिवस चौधरीसहित पाँचजनाको नाममा इलाका प्रहरी कार्यालय दमकमा जाहेरी पर्यो । उनीबाहेक सबै पक्राउ परे । तर, चौधरी भागेर भारत पुगे । १०वर्ष भारतमै काम गरे । त्यसबिचमा उनी ०७३ मंसिरमा नेपाल आए । १५ मंसिर ०७३ मा जन्मदर्ता बनाए भने १९ मंसिरमै दिप्सन चौधरीको नाममा नागरिकतासमेत बनाए । यसरी नाम परिवर्तन गरेर नागरिकता बनाउनु उनको एउटै उद्देश्य थियो, अपराधको कानुनी कारबाही छल्नु ।

नाम नै परिवर्तन गरेपछि प्रहरीले पक्राउ गर्दैन भनेर तीन वर्षअघि निर्धक्क भएर नेपाल फर्किए । उनी दमकमै बस्न थाले । १९ चैत ०७९ मा जिल्ला अदालत झापाले दिवस चौधरीको नाममा १० वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालत विराटनगर र इलाम इजलासले समेत त्यही फैसला सदर गर्यो । तर, उनको नागरिकता र जन्मदर्ताको नाम भने दिप्सन थियो । उनी हत्यामा संलग्न हुँदा उमेर १५ वर्ष मात्रै थियो । तर, अहिले उनी २८ वर्ष भए । इलाका प्रहरी कार्यालय दमकले फैसला कार्यान्वयनका सिलसिलामा उनलाई १९ जेठमा पक्राउ गरी जिल्ला अदालत झापामा बुझाएको थियो । उनी अहिले जिल्ला कारागार झापामा छन् । 

इलाका प्रहरी कार्यालय दमक स्रोतका अनुसार उनले यसरी नाम परिवर्तन गरेर पक्राउ पर्नबाट जोगिन खोजेका हुन् । ‘हामीले निगरानी गरिरहेका थियौँ । दिवस र दिप्सन एउटै हो भन्ने भएपछि हामीले पक्राउ गरेर अदालतमा बुझायौँ,’ इलाका प्रहरी कार्यालय दमक स्रोत भन्छ, ‘घटनाको १३ वर्षपछि पक्राउ पर्नुले कानुनविपरीत काम गर्ने जोकोहीलाई कानुनले छाड्दैन भन्ने एउटा प्रमाण पनि बनेको छ, यो घटना ।’

See More On

सुझावित समाचार