उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनालाई ३ प्रश्न

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

अहिले हाम्रो बजारको अवस्था कस्तो छ ?
अहिले नेपालको बजार समग्रमा हेर्दा अव्यवस्थित र उपभोक्तामैत्री बन्न नसकेको अवस्था छ । बजारमा मूल्य एकरूपता छैन । एउटै वस्तु फरक–फरक स्थानमा फरक मूल्यमा बिक्री भइरहेको छ । बिचौलियाको प्रभाव उच्च छ । जसले गर्दा उत्पादक र उपभोक्ता दुवै मारमा परिरहेका छन् । सरकारी अनुगमन प्रभावकारी नभएकाले बजार अझै पनि व्यापारीकेन्द्रित र अनियन्त्रित देखिन्छ ।

हरेक सिजनमा आँपमा अत्यधिक विषादीको गुनासो आउँछ, सुधार किन हुन सकेन ?
यो समस्या बर्सेनि दोहोरिनुका कारण बहुआयामिक छन् । पहिलो, किसान तहमा सुरक्षित विषादी प्रयोगबारे पर्याप्त ज्ञान र तालिम छैन । दोस्रो, सरकारी निकायबाट हुने परीक्षण र अनुगमन नियमित, व्यापक र प्रभावकारी छैन । तेस्रो, आयातित फलफूलमा सीमामा कडाइ गरिएको छैन । चौथो, अनुगमनबाट कोही दोषी भेटिएमा पनि उसलाई कडा कारबाही नहुँदा दण्डहीनता बढेको छ । साथै, उपभोक्ता पनि पूर्ण रूपमा सचेत र सक्रिय नभएकाले समस्या जस्ताको त्यस्तै रहेको हो ।

बजारलाई मूल्य, खाद्य स्वच्छता र गुणस्तरका आधारमा उपभोक्तामैत्री बनाउन किन नसकिएको होला ? 
मुख्य रूपमा नीतिगत अस्पष्टता, कमजोर कार्यान्वयन, संस्थागत समन्वयको अभाव र भ्रष्टाचारका कारण यस्तो भएको हो । अनुगमन गर्ने निकायसँग पर्याप्त स्रोत–साधन र दक्ष जनशक्ति उपलब्ध छैनन् । प्रविधिको प्रयोग न्यून छ । जसले गर्दा मूल्य, गुणस्तर र आपूर्ति प्रणाली पारदर्शी हुन सकेको छैन । उपभोक्ता पक्ष पनि अझै पूर्ण रूपमा संगठित र सक्रिय हुन सकेको छैन । बजार सुधारका लागि अब कडा अनुगमन, प्रविधिमा आधारित नियमन, दोषीमाथि कानुनतः कडा कारबाही र उपभोक्ता सचेतना अत्यावश्यक छ । उपभोक्ता आफैँ पनि सचेत, सक्रिय र अधिकारप्रति सजग नभएसम्म बजारमा सुधार सम्भव हुँदैन ।

सुझावित समाचार