- २३औँ संस्करणको फिफा विश्वकपको माध्यमबाट संसारभरि आफ्नो ब्रान्डिङ गर्न एडिडासले पाँच करोड र नाइकले सात करोड अमेरिकन डलर लगानी गरेका छन्
अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरिरहेको २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा रेकर्ड बनिरहेका छन् । खेलाडी र सहभागी ४८ प्रतिस्पर्धीले विभिन्न रेकर्ड बनाएका छन् । खेलाडी–खेलाडी र राष्ट्र–राष्ट्रबिचको भिडन्तले रोमाञ्चक बनिरहेको छ । विश्वकपमा विश्व प्रसिद्ध कम्पनीहरूले जर्सीदेखि खेलाडीले प्रयोग गर्ने किट्समा विज्ञापन गरिरहेका छन् । ती बहुराष्ट्रिय कम्पनी कम छैनन् । ती कम्पनीले सहभागी राष्ट्रका खेलाडीको माध्यमबाट ब्रान्डिङ गरिरहेको छ । विशेषतः नाइक र एडिडासबिच पनि ब्रान्डिङको भिडन्त भइरहेको छ ।
विश्व खेलजगत्मा यी दुवै संस्था प्रमुख खेलकिट्स उत्पादनमध्येमा पर्छन् । उनीहरूको नजरमा फिफा विश्वकप सर्वाधिक हेरिने प्रतियोगिता हो । यसै अवसरको फाइदा लिँदै नाइक र एडिडासले किट्सदेखि विज्ञापनसम्म करोडौँ अमेरिकी डलर खर्चेका छन् । विश्वकपमा मार्केटिङ पनि यही पक्ष लागू हुन्छ । कुन ब्रान्डको बजार पुँजीकरण सबैभन्दा बढी छ । एकदम सहज भाषामा भन्नुपर्दा बजारमा कसको सामान बढी बिक्री भइरहेको छ । विश्वकपमा केलियन एम्बाप्पे, एर्लिन हाल्यान्ड, क्रिस्टियानो रोनाल्डो र ली ब्रोन जेम्सले नाइक कम्पनीको किट्स प्रयोग गरिरहेका छन् ।
त्यही नै एडिडासले लामिन यामल, जुडे बेलिंघम र लियोनल मेसीलाई प्रायोजन गरेको छ । कुनै समयमा एडिडासले जिनेदिन जिदानमा राम्रो ब्रान्डिङ गरेको थियो । यति मात्र नभएर इंग्लिस फुटबलकै आइकोनिक खेलाडी डेभिड बेकह्यामले पनि आफ्नो करिअरमा एडिडासबाहेक अन्य कम्पनीलाई रोजेनन् । फुटलब खेलाडीबाहेक यी दुवै बहुराष्ट्रिय कम्पनीले हलिउडका स्टार कलाकारसँग पनि नाता जोडेको देखिन्छ ।
चालू विश्वकपमा जर्मन कम्पनी एडिडासले पाँच करोड अमेरिकी डलर लगानी गरेको बिबिसीले उल्लेख गरेको छ । यो प्रारम्भिक सूची मात्र हो । विश्वकप सकिँदासम्म यो लगानी बढन सक्छ । विश्वकपमा पहिलोपटक सर्वाधिक टोली हुँदा खेलाडी संख्या पनि बढ्यो । फेरि १०४ खेल ३९ दिनमा सकिनेछ । अघिल्लो संस्करणको तुलनामा विश्वकप नौ दिन लम्बिएको छ भने खेल संख्या पनि दोहोरो अंकमा बढेको छ । विश्वकपभरि अर्बौँ फुटबल समर्थक हुँदा एडिडासले आफ्नो लगानी बढाएको हो । यसअघि एडिडासले पाँच करोड अमेरिकी डलरभन्दा कम विज्ञापनमा खर्च गरेको थियो ।
विश्वबजारमा एडिडासको एक मात्र प्रतिस्पर्धी नाइकले विश्वकपमा कीर्तिमानी लगानी गरेको छ । अमेरिकन कम्पनी नाइक खेल सामग्री उत्पादन गर्ने एक नम्बर कम्पनी हो । घरमै आयोजना भइरहेको विश्वकपमा नाइकले सात करोड अमेरिकी डलर लगानी गरेको छ । नाइक कम्पनीको उपाध्यक्ष कामिलो एन्ड्रेडाले खेलको माध्यमबाट ब्रान्डिङ गर्न सहज हुने बताए । ‘अहिले विश्वकपमा हामीले उत्पादन बढीभन्दा बढी मार्केटेबल बनाउन लगानी पनि गरेका छौँ,’ कामिलोले भने, ‘डिजिटल समयमा यो प्रभावकारी बढी हुन्छ, तर विश्वकपमा भने उपस्थित दर्शकबाट नाइकको प्रचार गर्छौँ ।’
प्रत्येक चार–चार वर्षमा आयोजना हुने विश्वकपलाई धेरै कम्पनीले आफ्नो ब्रान्डिङ गर्ने माध्यम बनाएको उनी बताउँछन् । ‘टेलिभिजनदेखि रंगशालासम्म विश्वकप हेर्छन् । त्यस वेलामा कुन खेलाडी वा विज्ञापन होडमा कसको विज्ञापन आइरहेको छ भन्ने चासो हुन्छ । सामान्य करोडको हाराहारीमा फुटबल हेर्दा हाम्रो पनि विज्ञापन प्रसारित हुन्छ । यसले हाम्रो ब्रान्डिङ सहज बनाएको छ,’ कामिलोको विश्लेषण गरेका छन्, ‘विज्ञापन एक किसिमले फुटबल कल्चर हो । योविना अब कुनै खेल चल्न सक्दैन ।’
५६ वर्षदेखि एडिडास विश्वकपमा
विश्वकपमा एडिडासको साझेदारी नाइकको तुलनामा पुरानो हो । सन् १९७० देखि एडिडास विश्वकपमा प्रवेश गर्यो । लगातार ५६ वर्षदेखि एडिडास विश्वकपको एक प्रमुख पार्टनरका रूपमा छ । कपितय संस्करणमा एडिडास नै विश्वकपमा प्रयोग हुने मुख्य बलको प्रायोजक बनेको छ । कतार विश्वकपमा समेत एडिडास लोगो अंकित एडिडास बल प्रयोग भएको थियो । जसलाई टेल्सटार नाम दिइएको थियो । एडिडासको उपाध्यक्ष फलोरिन अल्टले मार्केटमा आफ्ना ग्राहकसँग नजिक हुन विश्वकप एउटा अंश भएको बताए ।
‘हाम्रो अभियान विभिन्न प्रतियोगिता हुन्छ, तर विश्वकप फरक हो । यहाँ हजारौँ दर्शक आउँछन् । उनीहरूको नजरमा एडिडास पर्छ,’ फलोरिनले भने, ‘एक फुटबल खेलाडीले एडिडासको लोगो प्रयोग गर्न पाउँदा गर्वको महसुस गर्छन् । उसले प्राप्ति गर्न वर्षौँ मिहिनेत गरेका हुन्छन् । भविष्यमा उनै खेलाडी लिजेन्ड बन्छन् ।’ एडिडासले सामान्य एक खेलाडीलाई स्टार बनाउन मैदानभित्र र बाहिर सहयोग गरिरहेको उनले बताए । ‘हामी खेलाडीको हकहितका लागि अगाडि बढिरहेको संस्था हो । उनीहरू लिजेन्डका रूपमा बिदा हुँदा हामी पनि खुसी हुन्छौँ,’ उनले भने, ‘एडिडास र खेलाडीबिचको सम्बन्ध यही हो ।’
नाइक र एडिडासलाई पछ्याउँदै पुमा
विश्वकप फुटबलमा नाइक र एडिडासको चर्चा भइरहँदा खेल सामग्री उत्पादक अर्को बहुराष्ट्रिय कम्पनी पुमा कम छैन । विभिन्न अवसरमा पुमाले पनि विश्वकपमा मुख्य प्रायोजकका रूपमा देखिन्छ । अहिलेसम्म विश्वकपमा खेलाडीहरूलाई प्रदान गरिने खेल किट्सको प्रायोजन एडिडासले १४ तथा नाइकले १२ पटक गरेका छन् । नाइकले ११ पटक मुख्य प्रायोजक बनेको छ । एक किसिमले यी तीनवटै कम्पनीले खेलमा हालीमुहाली गरिरहेका छन् । ‘सामान्य रूपमा यो तीनवटै कम्पनीमा नजर परेका हुन्छन्, तर कुन वेला को हाबी हुन्छन् भन्नै सकिँदैन,’ खेल विश्लेषक क्रिसम्यानले भने, ‘खेलाडीको जीवनमा उनीहरूको प्रायोजनले धेरै प्रभाव पारेको हुन्छ ।’
खेलाडी मात्र नभएर फुटबल समर्थक पनि त्यस्ता कम्पनीबाट उत्पादित जर्सी लगाउन चाहेको उनले बताए । ‘पछिल्लो समयमा फुटबलमा फेसन हाबी छ । यस्तोमा महँगो कम्पनीका जर्सीदेखि पहिरन लगाउन खेलाडीले प्राथमिकतामा राखेका छन्,’ उनले भने, ‘ब्रान्डअनुसार खेलाडीहरूको मूल्यांकन समर्थकहरूले गरेका छन् ।’ पोर्चुगलका कप्तान रोनाल्डोले नाइकसँग प्रतिवर्ष १.८ मिलियन अमेरिकी डलर सम्झौता गरेका छन् । नाइक र रोनाल्डोबिच एक दशकदेखि सहकार्य भइरहेको छ । सन् १९९८ मा एडिडासले सिंगो ब्राजिलकै प्रायोजन रहेको थियो ।