अछाममा सामाजिक कुरीतिविरुद्ध सक्रिय बने धामीझाँक्री

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

अछाममा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवाहरू नै सक्रिय हुन थालेका छन् । लामो परामर्शपछि उनीहरू स्वस्फूर्त रूपमा सक्रिय भएका हुन् । धामीझाँक्री तथा धार्मिक अगुवाहरू सकारात्मक नभएसम्म छाउपडी, बालविवाह, बहुविवाह र जातीय विभेदजस्ता सामाजिक कुरीति अन्त्य गर्न सम्भव नदेखिएपछि सामाजिक विकास कार्यालय अछामले विगत दुई वर्षदेखि उनीहरूलक्षित छलफल र अन्तरक्रियामार्फत परामर्श गर्दै आएको छ ।

जसका कारण धामीझाँक्री तथा धार्मिक अगुवाहरू मनोवैज्ञानिक रूपमा सकारात्मक बनेपछि उनीहरू आफैँ सामाजिक कुरीतिविरुद्ध खुल्न थालेका हुन् ।

बिहीबार सदरमुकाम मंगलसेनमा आयोजित अन्तरक्रियामा सहभागी हुन आएका मंगलसेन– १४, कालागाउँका देवताका धामी तपेन्द्रराज रेग्मीले कुरीतिविरुद्ध सकारात्मक धारणा राखे । ‘विगतभन्दा धेरै कुरा सुधार भइसक्यो,’ उनले भने, ‘अहिले पनि सिधै अर्ती दिन त मुस्किल छ । तर, हामीले दिने सल्लाह र परामर्शले अवस्था फेरिँदै गएको छ ।’ कुनै वेला छाउप्रथाको पक्षमा देखिने धामी तथा धार्मिक अगुवाहरू अहिले गाउँमा पुग्दा त्यसविरुद्ध लाग्न सल्लाह दिन थालेको उनले बताए ।

रेग्मीसँगै छलफलमा सहभागी तिखाडो देवताका धामी पुरन साउदलगायत अन्य धामीझाँक्री तथा धार्मिक अगुवाहरूले पनि छाउपडी, बालविवाह, बहुविवाह र जातीय विभेदजस्ता कुरीतिविरुद्ध आवाज उठाइरहेको बताए । उनीहरूसँगको छलफलका क्रममा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले समाज नफेरिएसम्म कुरीति अन्त्य गर्न सम्भव नरहेको भन्दै त्यसमा अझै सकारात्मक भूमिका खेल्न उनीहरूलाई अग्रह गरे । ‘यहाँहरूले भनेका कुरा समाजले विश्वास गर्छ,’ उनले भने, ‘तपाईंहरू अग्रसर बन्नुहोस् । कुरीति जरैबाट निकाल्न पहलकदमीमा लाग्नुहोस् ।’ सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलका अनुसार धामीझाँक्री तथा धार्मिक अगुवाहरूलाई संगठित रूपमा सामाजिक कुरीति रोक्ने काममा सक्रिय गराउन नियमित रूपमा परामर्श गर्ने गरिएको छ ।

जसअन्तर्गत बिहीबार उनीहरूलाई सदरमुकाम मंगलसेनमा भेला गरेर बालविवाह, बहुविवाह, छाउपडी र जातीय विभेदसम्बन्धी कानुनी व्यवस्थाबारे अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खानालमार्फत प्रशिक्षण दिइएको छ । त्यस क्रममा डिएसपी खनालले कतिपय सवालमा निर्मम ढंगले कानुनको प्रयोग गर्नुपरेको बताए ।  छाउगोठ भत्काउने कुरामा मान्छेलाई सम्झाएर मात्र नपुग्ने हुँदा त्यहाँ कानुनअनुसार गरिएको उनले बताए ।  

सुझावित समाचार