नेपाली सेनाले अछाम जिल्लाका ६० जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ। छनाेटमा परेका दुई विद्यालयका उनीहरूका लागि तालिम सुरु गरिएको हो । गोरख बक्स गण मंगलसेन ब्यारेकले यो वर्षका लागि जिल्लाको ढकारी– १ मा रहेको गुरुकुल मावि र मेल्लेख– ७ मा रहेको दुर्गादेवी माविका ३०–३० जना गरी ६० जनालाई तालिममा समावेश गराएको छ ।
जुनियर डिभिजन अन्तर्गत कक्षा ८ देखि १० सम्मका उनीहरूलाई मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी राजु महर्जनले प्रथम प्रवचन दिएर तालिम सुरु गरेका हुन् । उनका अनुसार सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा सञ्चालन हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमानदारिता र बफादारिताबारे प्रशिक्षित गरिने गणपति महर्जनले बताए ।
‘यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाबारे विद्यार्थीलाई तालिम दिइन्छ,’ उनले भने । योसँगै विपत् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइनेछ । एनसिसीप्रति विद्यार्थीको बढ्दो आकर्षणले जनप्रतिनिधिहरूसमेत उत्साहित बनेका छन्। ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले यसको क्षेत्र विस्तार गर्न आग्रह गरे। ‘यो त प्रत्येक विद्यालयमा आवश्यक छ,’ उनले भने, ‘यसमा बरु हामी पनि अग्रसर हुन्छौँ । अब एनसिसीलाई क्षेत्र विस्तार गरौँ।’
उपाध्यक्ष नेत्रकलादेवी शाहीले छात्राहरू पनि यसप्रति आकर्षित भएको देखेर खुसी व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले यसले नैतिक शिक्षा प्रदान गर्ने हुँदा युवाहरूलाई सही बाटोमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे। गुरुकुल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बुढाले छनाेट भएका विद्यार्थीलाई थप क्रियाशील बनाउन आफूहरू नियमित रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मेल्लेखस्थित दुर्गादेवी माविमा सेनानी पुजन थापाले प्रथम प्रवचन दिएर तालिम प्रारम्भ गरेका थिए। एनसिसीका लागि यसपटक दुवै विद्यालयबाट १६० भन्दा बढीले आवेदन दिएका थिए। त्यसमध्ये ६० जना छनाेट भएका हुन्। जसमा एक विद्यालयबाट १५–१५ जना छात्र–छात्रा सहभागी छन्। नेपाली सेनाले गत वर्ष अछामको तुर्माखाँदस्थित भैरव मावि र त्यसअघि साँफेबगरको जनकल्याण मावि, मंगलसेनको शोडषा मावि, विनायकको विद्या मन्दिर मावि र मंगलसेनको गंगा माविका विद्यार्थीलाई एनसिसी तालिम दिएको थियो। नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक हजारौँ विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ। सरकारमार्फत सेनाले विभिन्न मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।