कांग्रेसको आन्तरिक किचलोलाई कसरी हेर्नुभएको छ ?
कांग्रेस लोकतान्त्रिक चरित्र बोकेको पार्टी हो । यस्तो पार्टी आन्तरिक विवादका कारण फुटको डिलमा पुगेको देखिनु पक्कै पनि चिन्ताको विषय हो । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सर्वोच्चले समेत मान्यता दिइसकेपछि त्यसलाई स्विकारेर जानुको विकल्प छैन । जनमानसमा पुरानाले केही गरेनन्, गर्न सक्दैनन् र ती सबै खत्तम हुन् भन्ने भाष्यले जरा गाडिसकेको अवस्थामा परिणाम सुखद नआए पनि नेताहरूले यही नेतृत्वलाई स्विकारेर निर्वाचनमा गएको सत्य हो । यस्तोमा राष्ट्रियता, महँगी, जनजीविकालगायत अनेकौँ सवालमा एकढिक्का भई सशक्त आवाज उठाउनुपर्ने कांग्रेसका नेताहरू आफैँ जुध्नु राम्रो भएन ।
इतर समूहका नेताहरूले एकताको रट लगाएको देखिए पनि फुटको अभ्यास गरिरहेका छन्, भनिन्छ नि ?
पूर्वमहामन्त्री शशांक कोइरालाले फार्टी फुटको दिशामा अग्रसर भएको बताएका छन् भने अर्का नेता शेखर कोइरालाले चाहिँ पार्टी फुट्न नदिने उद्घोष गरेका छन् । तर, सायद पार्टीभित्रको सुरक्षित जीवनका लागि ‘बार्गेनिङ’ गर्न यो सबै विवाद मच्चाइएको पनि हुन सक्छ । यस्तो विवाद हुँदा अन्य पार्टी भए फुटिसक्थे । तर, कांग्रेसभित्र विरोध गर्न पाइने, आफ्ना कुरा राख्न पाइने हुनाले पनि यो पार्टी फुटी पो हाल्छ कि जस्तो देखिए पनि फुटकै अवस्थामा भने नपुग्ला र नपुगोस् पनि ।
आगामी दिनमा कांग्रेस कसरी अघि बढ्नु ठिक होला ?
दुवै पक्षले राजनीतिक प्रतिशोध हटाउनुपर्छ । अनुशासनको डन्डा चलाउन छाड्नुपर्छ । आरोप–प्रत्यारोप छाडेर संवादहीनता अन्त्य गर्दै नेताहरूले आआफ्ना कुरा प्रस्ट राख्नुपर्छ । संकटको डिलमा उभिएको पार्टीमा सहमति छाडेर फुटको बाटोमा गए दुवै पक्षका नेता, कार्यकर्ताको भविष्य अन्धकारमय हुने पक्का छ । त्यसैले, विवाद थाती राखेर सबै पार्टीको विधि, विधानअनुसार अघि बढ्नुपर्छ ।