नवप्रवेशीसँग बराबरीमा स्पेन

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भार्डेले पूर्वविजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा साेमबार केप भार्डेले बहादुरीपूर्वक स्पेनलाई बराबरीमा रोक्दै समूह ‘एच’बाट महत्वपूर्ण १ अंक बटुल्न सफल भयो । २३औँ संस्करणको विश्वकपमा आफ्नो पहिलो खेलमै स्पेनले बराबरी खेलेपछि दोस्रो खेलमा दबाब सामना गर्नेछ । 

यस समूहमा साउदी अरेबिया र उरुग्वे छन् । सन् २०१० को विश्वकप विजेता स्पेन फिफा वरीयतामा दोस्रो स्थानमा छ । पछिल्लो संस्करणको युरो विजेतासमेत रहेको स्पेनले कोप भार्डेविरुद्ध बल पोसेसन बलियो बनाए पनि गोल गर्न सकेन । विश्वकपको पहिलो सहभागितामै कोप भार्डेले बलियो डिफेन्स रणनीति अपनाउँदा स्पेन निराश बनेको हो । 

उपाधि दाबेदारसमेत रहेको स्पेनविरुद्ध १ अंक दिलाउने क्रममा केप भार्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ४० वर्षीय गोलरक्षक भोजिन्हा खेल अवधिभरि उत्कृष्ट बचाउ गर्दै टोलीलाई विश्वकपकै आफ्नो पहिलो खेलमा १ अंक दिलाउन सफल रहे । उनले पहिलो हाफमा स्पेनको चार शतप्रतिशत गोल प्रयासलाई क्लियर गरेका थिए । 

भोजिन्हाले दोस्रो हाफमा पनि दर्शनीय प्रदर्शन गरे । उनी नै खेलका म्यान अफ दी म्याच भए । स्पेनले ७४ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको थियो । स्पेनले केप भार्डेविरुद्ध आठवटा सर्ट अन टार्गेट प्रहार गरेको थियो । फिफाको ६४औँ स्थानमा रहेको केप भार्डेले प्राविधिक खेल प्रस्तुत गरेको थियो । बराबरी नतिजासँगै केप भार्डेका खेलाडीले ऐतिहासिक प्रदर्शन गरेको जनाउँदै खुसी मनाएका थिए । 

दोस्रो हाफमा यामल र विलियम्सको प्रवेश
स्पेनिस ला लिगामा बार्सिलोनाका लागि गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्ट्राइकर लमिन यामल दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । स्पेनका मुख्य प्रशिक्षक लुइस लाले उनलाई पहिलो हाफमा बेन्चमा राखेका थिए । यामलको प्रवेशसँगै स्पेनले थप आक्रामक खेल प्रस्तुत गरेको थियो । यामल खेलको ७१औँ मिनेटमा मैदानमा प्रवेश गरेका हुन् । यसैगरी, प्रशिक्षक लुइसले मध्यान्तरपछि अर्का प्रमुख खेलाडी निको विलियम्सलाई मैदानमा छिराएका थिए । उनी खेलको ८६औँ मिनेटमा छिरेका थिए । दुई प्रमुख फिनिसर मैदानमा प्रवेश गरेपछि स्पेनले गोल गर्ने अनुमान थियो । तर, उनीहरूले पनि केप भार्डेको जबरर्जस्त डिफेन्स भत्काउन सकेनन् । 

खेलको अन्तिममा यामल र विलियम्सले मौका पाएका थिए । यद्यपि, केप भार्डेका गोलरक्षकले उत्कृष्ट बचाउ गरी अन्तिमसम्म टोलीलाई बचाएका थिए । यामलले ह्यामस्ट्रिङका कारण स्पेनिस ला लिगाको अन्तिमतिरका खेल गुमाएका थिए । यद्यपि, बार्सिलोना ला लिगा च्याम्पियन हुँदा उनी नै प्रमुख खेलाडी बनेका थिए । ‘यामल पूर्ण रूपमा फिट छन् । हामीले पहिलो हाफमा जोखिम उठाएनौँ,’ प्रशिक्षक लुइसले भने, ‘खेलको आवश्यकताअनुसारै उसलाई दोस्रो हाफमा मैदानभित्र प्रवेश गरायौँ ।’ खेलअगाडि नै प्रशिक्षक लुइसले यामललाई पहिलो सेटमा नखेलाउने बताएका थिए । उनले केप भार्डेविरुद्ध यामल उपलब्ध हुने जनाएका थिए ।

नवप्रवेशी केप भार्डेको उत्कृष्ट प्रदर्शन
विश्वकपमा डेब्यु गरेको चार राष्ट्रमध्ये केप भार्डे पनि हो । एटलान्टाको मर्सिडिज बेन्ज रंगशालामा केप भार्डेले सन् २०१० को विश्वकप विजेता स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकपकै अनुभवी तथा स्टार खेलाडीले भरिएको स्पेनविरुद्ध केप भार्डेले दुवै हाफमा दरिलो रक्षापंक्ति रणनीति बनाएको थियो । प्राप्त अवसरमा केप भार्डेले काउन्टर रणनीति अपनाएको थियो । पहिलो हाफमा केही राम्रा अवसर निकालेका थिए । यसविपरीत दोस्रो हाफमा केप भार्डे पूरै डिफेन्समा देखिएको थियो ।

विश्वकपअघि केप भार्डेले अभ्यास खेलमा जित निकालेको थियो । यही आत्मविश्वासका साथ केप भार्डेले स्पेनविरुद्ध प्रदर्शन गर्‍यो । प्रशिक्षक बुबिस्टाले पहिलो रोजाइमा अनुभवी खेलाडीलाई उतारेका थिए । कप्तान रायन मेन्डेस र डेलोन लिभ्रामेन्टोले खेलमा नियन्त्रणमा राखेका थिए ।

यामल विश्वकप खेल्ने युरोपकै कान्छा खेलाडी
स्पेनले केप भार्डेविरुद्ध गोलरहित बराबरी खेल्दा यामलले व्यक्तिगत रेकर्ड बनाएका छन् । उनी समग्र युरोपबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यसअघि उनले युरो– २०२४ खेल्दा प्रतियोगिताकै युवा खेलाडी बनेका थिए । केप भार्डेविरुद्ध विश्वकप डेब्यु गर्दा उनको उमेर १८ वर्ष ३३७ दिन रहेको छ । विश्वकपमा सन् २०२२ मा डेब्यु गर्दा इंग्ल्यान्डका जुडे वेलिंघमको उमेर १९ वर्ष १४५ दिन थियो । यामलले वेलिंघमको रेकर्ड तोडेका छन् ।

सुझावित समाचार