बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ६६ अर्ब ९४ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले चालू खर्चभन्दा विकास निर्माण र पूर्वाधार विस्तारमा केन्द्रित हुँदै पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै प्रदेशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। मन्त्री तामाङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न कुल ६६ अर्ब ९४ करोड ३३ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
सार्वजनिक गरिएको बजेटमा पुँजीगत खर्चको हिस्सा उल्लेखनीय रूपमा बढी राखिएको छ। कुल बजेटमध्ये ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ। प्रदेश सरकारले सडक, सिँचाइ, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकास खर्च बढाउने नीति लिएको देखिन्छ।
त्यसैगरी, चालू खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले चालू खर्च नियन्त्रण गर्दै विकासमुखी बजेट निर्माण गर्ने प्रयास गरेको दाबी गरेको छ।
पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरूको बजेट कार्यान्वयन क्षमता र पुँजीगत खर्चको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको सन्दर्भमा यसपटक पनि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहने देखिन्छ।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा प्रदेश सरकारले आन्तरिक राजस्व र संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणलाई मुख्य आधार बनाएको छ। बजेट वक्तव्यअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ। यो कुल बजेट स्रोतको सबैभन्दा ठुलो हिस्सा हो।
त्यस्तै, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। सेवा शुल्क, दस्तुर, प्राकृतिक स्रोत तथा अन्य गैरकर राजस्व यसअन्तर्गत पर्नेछन्।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। यस्तै, विभिन्न संस्थालाई गरिएको ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।
हेर्नुस् पूर्णपाठ :