एल निनो मौसमी ढाँचा आधिकारिक रूपमा सुरु

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

अमेरिकी वैज्ञानिकले एल निनो (प्राकृतिक मौसमी ढाँचा, जसले विश्वका निश्चित क्षेत्रमा तापक्रम बढाउँछ) आधिकारिक रूपमा सुरु भएको बताएका छन् । अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए)ले उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा एल निनो अवस्था अहिले चलिरहेको जनाएको छ । पछिल्ला महिनामा समुद्री सतहको तापक्रम तीव्र गतिमा बढेको छ । धेरै पूर्वानुमानअनुसार यो तथाकथित ‘सुपर’ एल निनोको रूपमा समाप्त हुन सक्छ, अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा बलियोमध्ये एक पनि हुन सक्छ ।

दशकौँदेखि मानव–सिर्जित तापक्रम वृद्धि हुँदै गर्दा यसले अर्को कीर्तिमानी तातो वर्ष ल्याउन सक्छ (सम्भवतः २०२७ मा) र मौसम, खाद्य आपूर्ति र अर्थतन्त्रमा अवरोध आउनेछ । एनओएएको यो घोषणा कुनै आश्चर्यको कुरा होइन । मध्य र उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रमले अब अमेरिकी वैज्ञानिकले एल निनो घटनालाई परिभाषित गर्न प्रयोग गर्ने औसतभन्दा ०.५ डिग्री सेल्सियस माथिको थ्रेसहोल्ड पार गरेको छ । ‘मध्यदेखि पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम (एसएसटी) औसतभन्दा माथि रहेको देखिएकाले विगत एक महिनामा एल निनो अवस्था विकसित भएका छन्,’ एजेन्सीले भन्यो । एनओएएले भूमध्यरेखीय प्रशान्त महासागरमाथिको हावाको दिशा पनि परिवर्तन हुन थालेको देखेको छ ।

एल निनोको तीव्रता प्रशान्त महासागरको प्रमुख क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा कति माथि बढ्छ भन्ने कुराले मापन गर्छ । १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको अवस्थालाई बलियो एल निनो र दुई डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई धेरै बलियोको रूपमा परिभाषित गरिएको छ । एनओएएको पछिल्लो अनुमानअनुसार ‘नोभेम्बरदेखि जनवरीमा धेरै बलियो एल निनो हुने सम्भावना ६३ प्रतिशत छ, जुन १९५० देखिको ऐतिहासिक रेकर्डमा सबैभन्दा ठुलो एल निनो गतिविधिमध्ये एक हुनेछ,’ एजेन्सीले भनेको छ । त्यसवेलादेखिका तीनवटा बलिया एल निनो गतिविधि १९८२÷८३, १९९७÷९८ र २०१५÷१६ मा भएका छन् ।

सुझावित समाचार