दुर्गममा लोकप्रिय बन्दै राष्ट्रिय सेवा दल

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) प्रति अछामका युवा विद्यार्थीहरुको व्यापक आर्कषण देखिएको छ । यो पटक एनसिसीमा आवेदन दिनेको संख्या थपिएपछि आर्कषण बढेको देखिएको हो ।

नेपाली सेनाको गोरख बक्स गण मंगलसेन ब्यारेकका सेनानी लक्ष्मण थापाका अनुसार एनसिसीका लागी आवश्यक ६० जनामा १६१ बढीले आवेदन दिएका छन् । यो संख्या विगत वर्षको तुलनामा धेरै हो ।

जिल्लाको ढकारी स्थित गुरुकुल मावि र मेल्लेखको दुर्गादेवी मावि यो वर्ष राष्ट्रिय सेवा दलका लागी छनौट भएका थिए । यी दुबै विद्यालयमागरी १६१ बढी विद्यार्थीले आवेदन दिएका हुन् । त्यसमापनि छात्रभन्दा छात्राको संख्या उत्साहजनक देखिएको सेनानी थापाले बताए ।

आवेदन दिएकाहरुको उचाइ, तौल, छाती, आँखा, कान, दाँत र रक्तचाप लगायत शारीरिक जाँच र स्वास्थ्य परीक्षणपछि गुरुकुलबाट १५ छात्र र १५ छात्रा गरी ३० र दुर्गादेवीबाट पनि १५ छात्र र १५ छात्रा गरी ३० जनालाई छनौटगरी प्रशिक्षणको तयारी थालिएको छ । त्यसका लागी गोरख बक्स गणबाट जमदार गणेश कुमार तामाङ र अमल्दारहरु दिलकुमारी चौधरी, निरजंग बम, जगत रोकाय र निर्मला कुमारी दुवाल प्रशिक्षकका रुपमा खटिएका छन् ।

उनीहरुले ७९ दिनसम्म तालिम दिएपछि क्याडेटहरुलाई थप २१ दिने विशेष आवासीय प्रशिक्षणका लागी पश्चिम तालिम शिक्षालय कोहलपुर पठाइने छ । त्यहाँ उनीहरुलाई चरित्र, नेतृत्व गुणस्तर, खेलकुद, निःस्वार्थ सेवाको आदर्श भावनाको विकासका लागी जुनियर डिभिजन समूहको तालिम दिइने सेनानी थापाले बताए ।

अन्त्यमा १०० दिनको प्रशिक्षणपश्चात् क्याडेटहरूले प्रतिष्ठित पास आउट परेड प्रदर्शन गर्नेछन् । पिओपी कार्यक्रम पूरा भएपछि उनीहरूलाई योग्यता अनुसारको दज्र्यानी चिह्न प्रदान गरिनेछ । यसले अभिभावक र समुदायमा पनि सकारात्मक सन्देश विस्तार गर्ने विस्वास लिइएको सेनानी थापाले बताए । ‘विद्यार्थीको बानी व्यवहार तथा आचरणमा परिवर्तन देखेपछि अहिले विभिन्न विद्यालयमा यो तालिम माग बढेको छ,’ भर्ना छनौट परीक्षणका क्रममा उनले भने, ‘अभिभावकहरू पनि सेवादलको तालिमप्रति सकारात्मक देखिनु भएको छ ।’

गुरुकुल मावि व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बुढाले यो तालिमले विद्यार्थीहरुलाई अनुभव आदानप्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने बताए । त्यसका लागी अभिभावकहरुको सकारात्मक भूमिका हुनुपर्ने उनको भनाई छ ।

प्रधानाध्यापक भिमबहादुर शाहीले विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्न एनसिसीले मद्दत गर्ने विस्वास व्यक्त गरे । दुर्गादेवी माविका प्रधानाध्यापक कृष्णबहादुर बिकले यो तालिमले सैद्धान्तिक र व्यावहारिक ज्ञानको समेत विकास हुने भएकाले आर्कषण बढेको बताए।

नेपाली सेनाले गत वर्ष अछामको तुर्माखाँद स्थित भैरव मावि र त्यसअघि साँफेबगरको जनकल्याण मावि, मंगलसेनको शोडषा मावि, विनायकको विद्या मन्दिर मावि र मंगलसेनको गंगा माविका विद्यार्थीलाई एनसिसी तालिम दिएको थियो ।
 

सुझावित समाचार