नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू बढीमा तीन वर्ष मात्रै पदमा रहने बताएका छन्। पदभार ग्रहणपछि मन्त्री पुनले युवालाई अवसर दिनुपर्ने भन्दै आफू पूरा कार्यकाल पदमा नबस्ने बताएका हुन्।
‘पदमा म धेरै बस्दिनँ, पाँच वर्षको सरकार हो, पाँच वर्षमा रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो। नयाँ युवा नेता र भाइबहिनीहरूलाई स्थान दिने हो,’ उनले भने।
आफूले माग गरेअनुसारकै मन्त्रालय पाएका उनले अब आफ्नो सोच र भिजनलाई प्रविधि तथा आविष्कारको क्षेत्रमा प्रयोग गर्ने बताए। आफ्नो मन्त्रालय नयाँ भएको भन्दै उनले जग नभएकाले द्रुत गतिमा रातदिन काम गर्ने प्रस्ट पारे।
‘यो मन्त्रालय नयाँ हो, यसको जग छैन, भोलिदेखि टिम बनाएर काम गर्ने हो, विज्ञान प्रविधिको विकासको लागि ढिलो हिँडेर ठाउँमा पुगिँदैन, द्रुत गतिमा रात दिन काम गर्ने हो,’ उनले भने।