अहिले राष्ट्रिय परिचयपत्र बनाउन र त्यसलाई प्राप्त गर्न कति सहज छ ?
अहिले राष्ट्रिय परिचयपत्र बनाउन सजिलो छ । घरैबाट अनलाइनमार्फत आफ्नो विवरण भर्ने व्यवस्था मिलाइएको छ । त्यसरी विवरण भरेर आउने सेवाग्राहीको बायोमेट्रिक लिएर फोटो खिचाउन चार–पाँच मिनेट समय लाग्छ । त्यति गरेपछि राष्ट्रिय परिचयपत्र नम्बर तत्काल पाइन्छ । कार्ड लिन भने केही दिन लाग्छ । त्यसमा पनि सकभर ढिलाइ नहोस् भनेर काम भइरहेको छ । अहिले नियमित रूपमा हरेक जिल्ला प्रशासन कार्यालयबाट र अभियानका रूपमा वडावडाबाट पनि राष्ट्रिय परिचयपत्रको काम भइरहेको छ । वडाबाट विवरण भर्नेको कार्ड वडाबाटै प्राप्त गर्ने व्यवस्था छ ।
राष्ट्रिय परिचयपत्र बनाउन शुल्क लाग्दैन भने पनि कतिपय स्थानमा प्रतिलिपिका लागि भनेर पाँच सय लिइँदै छ रे नि ?
हो, पहिलोपटक राष्ट्रिय परिचयपत्र बनाउन कुनै शुल्क लाग्दैन । तर, कुनै कारणवश हरायो, च्यातियो या जल्यो भने प्रतिलिपि लिनचाहिँ पाँच सय रुपैयाँ दस्तुर लाग्छ । जेन–जी आन्दोलनका क्रममा छापिइसकेका कार्ड जलेपछि पुनः छपाइ गर्न प्रतिलिपि लिनुपर्छ । त्यसका लागि चाहिँ शुल्क नतिरी कार्ड उपलब्ध गराउन सक्ने व्यवस्था छैन । कसैलाई तत्कालै कार्ड चाहियो भने अहिले दस्तुर तिर्नुको विकल्प छैन । तर, हामी यसलाई सच्याउन छलफलमै छौँ । छिटै सकारात्मक परिणाम आउँछ । विगतमा नियमावली बनाउँदा यसरी जल्छन् भन्ने कल्पना गरिएन । अहिले त्यसैले अप्ठ्यारो पारेको छ ।
सरकारले जनताका कार्ड जोगाउन नसक्दा पनि सजायचाहिँ जनताले भोग्नुपर्ने हो ?
यसबाट गलत ‘म्यासेज’ गएको छ । त्यसैले, हामी छलफलमै छौँ । मन्त्रालयस्तरमा छलफल भइरहेको छ । परिचयपत्र जलेका नागरिकले पनि दस्तुर नबुझाई कार्ड लिन पाउने व्यवस्थाका लागि पहल भइरहेको छ ।