सामान्य अभिव्यक्तिका कारण भुटानमा नेपालीभाषी व्यवसायीलाई नाै वर्ष कैद सजाय

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

भुटानका नेपालीभाषी  व्यवसायी धीराज प्रधानलाई सामाजिक सञ्जालमा प्रसारित एक भिडियोमा गरिएको टिप्पणीका आधारमा पक्राउ गरी नाै वर्षको कैद सजाय सुनाइएको छ।

भुटानको साम्त्से जिल्लाको सांगाछोलिङ क्षेत्रका करिब ६० वर्षीय प्रधान सात वर्षदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न थिए। उनी स्थानीयस्तरमा समाजसेवीका रूपमा पनि परिचित रहेका छन्।

प्राप्त विवरणअनुसार एक गाइडमार्फत रेस्टुरेन्टमा आएका भारतीय पर्यटकहरूको समूहसँगको संवादका क्रममा खिचिएको फेसबुक लाइभ भिडियो सार्वजनिक भएपछि प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भिडियोमा उनले रेस्टुरेन्टको भित्तामा राखिएका तस्बिरबारे सोधिएको प्रश्नको जवाफ दिँदै भुटानमा रेस्टुरेन्टमा राजाको तस्बिर राख्नु अनिवार्य रहेको नत्र जरिवाना हुन सक्ने बताएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर भुटानी अधिकारीहरूले ‘त्सा–वा–सुम’ (राजा, देश र जनता) को सिद्धान्तविपरीत टिप्पणी गरेको आरोप लगाएका थिए। सोही आधारमा पक्राउ गरेर प्रहरीको मागअनुसार अदालतले उनलाई नाै वर्षको कैद सजाय सुनाएको जनाइएको छ।

प्रधानका एक आफन्तका अनुसार उनलाई पर्याप्त कानुनी सहायता उपलब्ध गराइएको छैन। भुटानमा संवेदनशील प्रकृतिका यस्ता मुद्दामा स्वतन्त्र कानुन व्यवसायीले बहस गर्दैनन् । यस घटनापछि भुटानमा अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष सुनुवाइ र कानुनी अधिकारहरूको अवस्थाबारे प्रश्न उठ्न थालेका छन्।

हाल प्रधानलाई थिम्पुको चेमगाङ केन्द्रीय कारागारमा राखिएको छ। यसै कारागारमा अर्का एक पूर्व राष्ट्रिय परिषद् उम्मेदवार रघुपति सुवेदी पनि फरक धारणा व्यक्त गरेको आरोपमा २४ वर्षको सजाय भोगिरहेका छन्।

यसैबिच, भुटानमा रहेका राजनीतिक बन्दीहरूको रिहाइका लागि पहल गर्न गठित अभियानका ग्लोबल कोअर्डिनेटर राम कार्कीले उक्त घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले प्रधानको विनासर्त रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।

प्रधानको मुद्दाबारे भुटानभित्र आधिकारिक मिडियामा कुनै समाचार प्रकाशित भएको छैन भने उनका परिवारजनहरू पनि प्रतिक्रिया दिन हिच्किचाइरहेका छन्। यस घटनाले भुटानको मानव अधिकार अवस्था र कानुनी प्रक्रियाको पारदर्शिताबारे चिन्ता थपिएको छ ।

See More On

सुझावित समाचार