सरकारले कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरिएको हो । अहिले युवालाई स्टार्टअपमा सहयोग गर्न सहुलियत ब्याजदरमा सरकारले अधिकतम २५ लाख रुपैयाँसम्म ऋण दिँदै आएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेका बजेटमा नवउद्यम (स्टार्ट–अप), नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने उल्लेख छ । ‘नवउद्यमलाई पहिचान, सिप, बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा–आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरणमार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ,’ बजेट वक्तव्यमा भनिएको छ ।
स्टार्टअप र साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लाटफर्मका रूपमा नेपाल इन्टरप्राइज फसिलिटी स्थापना गरिने भएको छ । प्लाटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपरकरणको पहिचान र पँहुच, इन्क्युवेसनसहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् । युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने तथा खगोलीय पर्यटन प्रवर्द्धन गर्न सगरमाथा आधार शिविरमा ‘अब्जर्बेटरी केन्द्र’ स्थापना गरिने भएको छ ।