गर्मी अत्यधिक बढ्दा त्यसका के–कस्ता असर देखिन सक्छन् ?
गर्मी अत्यधिक बढ्दा कतिपय स्थानमा कहिलेकाहीँ त्यसको घातक असर पनि देखिन सक्छ । खासगरी तराईमा लुको सम्भावना हुन्छ । त्यसले जनजीवनमै असर पुर्याउँछ । पश्चिमी तराईमा पहिलेपहिले पनि तापक्रम निकै उच्च हुने गर्थ्यो । अहिले झनै बढ्न सक्नेबारे जल तथा मौसम विज्ञान विभागले ‘अलर्ट’ गराइरहेको छ । गर्मीमा पानी कम पिइयो भने ‘डिहाइड्रेसन’को समस्या बढ्न सक्छ । गर्मीका कारण स्वास्थ्यमा पनि थप समस्या आउन सक्छ । यसपालि तापक्रम झनै बढ्ने प्रक्षेपण गरिएकाले मनसुनमा थप गर्मी बढ्न सक्छ । समुद्री सतह तात्ने प्रक्रिया ‘एलनिनो’ ‘स्ट्रङ’ हुँदा यहाँ कम पानी पर्छ । त्यसैले, यसपालिको बर्खामा खडेरी पर्न सक्छ । रोपाइँ गरिसकेपछि पनि सिँचाइको अभावमा धानखेतीमा असर गर्न सक्छ ।
यस्तो अत्यधिक गर्मीबाट जोगिन सर्वसाधारणले के गर्नुपर्छ ?
यस्तोमा सकभर घरबाहिर निस्कनुहुँदैन । बाहिर निस्कँदा पूरै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । सूर्यको प्रकाश शरीरमा सीधै पर्न दिनुहुँदैन । पर्याप्त पानी पिउनुपर्छ ।
अत्यधिक गर्मीबाट प्रभावितलाई सेवा दिन राज्यले के–कस्तो तयारी गर्नुपर्ला ?
यसमा राज्यले ठिक समयमा किसानलाई सुसूचित गर्नुपर्छ । सिँचाइ प्रणालीलाई ‘अप टु डेट’ राख्नुपर्छ । कुलो, नहरहरूको मर्मत पनि गर्नुपर्छ । पिउने पानीको पनि अभाव हुन सक्छ । राज्यले त्यसको विकल्पबारे पनि सोच्नुपर्छ । खानेपानीका ‘रिजर्भ्वायर’हरू मर्मत गर्नुपर्छ । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपत् प्राधिकरण र सरकारले आपसी समन्वयमा काम गर्नुपर्छ ।