२७ संस्थान नाफामा, १६ घाटामा

आर्थिक वर्ष ०८१/८२ मा संस्थानको खुद नाफा १२.०३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख पुग्यो

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

आर्थिक वर्ष ०८१/८२ मा बैंकिङ, व्यापार र सेवा क्षेत्रका संस्थान नाफामा रहेका अर्थ मन्त्रालयले जनाएको छ । सञ्चालनमा रहेका कुल ४५ संस्थानमध्ये २७ नाफामा र १६ संस्थान घाटामा सञ्चालन भइरहेको अर्थ  मन्त्रालयद्वारा बुधबार प्रकाशित ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८३’ मा उल्लेख छ ।

अर्थका अनुसार २० पूर्ण स्वामित्वका र २५ सरकारको अधिकांश स्वामित्वमा रहेका गरी कुल ४५ संस्थानको सम्पत्ति पनि ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ । संस्थानमा सरकारी लगानी अघिल्लो वर्षको तुलनामा १३.४४ प्रतिशतले वृद्धि भई सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । जसमा सेयर लगानी तीन खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रहेको छ ।

संस्थानको कुल आय र कुल सञ्चालन आयमा पनि सुधार भएर क्रमशः ७ खर्ब २१ अर्ब र ६ खर्ब ७२ अर्ब पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल आय र सञ्चालन आयको अनुपात क्रमशः ११.८० र १०.८५ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा संस्थानको खुद नाफा १२.०३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ । नाफामा रहेका संस्थानको खुद नाफा भने ४८ अर्ब ८९ करोड ६ लाख रहेको छ भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान ३ अर्ब ८० करोड ५७ लाख रहेको छ । संस्थानको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.५८ प्रतिशतले बढेको हो । 

गत आवसम्ममा विद्युत् प्राधिकरण, दूरसञ्चार कम्पनी लिमिटेड र नागरिक उड्डयन प्राधिकरणको सञ्चित नाफा सबैभन्दा धेरै रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षझैँ सरकारमातहतका सबै उद्योग घाटामै सञ्चालन भएका छन् । सरकारमातहत उदयपुर सिमेन्ट, हेटौँटा सिमेन्ट, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, दुग्ध विकास संस्थान, धौवादी फलाम कम्पनी, ओरियन्ट म्याग्नेसाइट, नेपाल औषधि, नेपाल मेटल र बुटवल धागो कारखाना स्वामित्वमा छन् । 

गत आवमा संस्थानबाट ८ अर्ब ३७ करोड ७६ लाख लाभांश प्राप्त भएको छ । जुन कुल सेयर लगानीको तुलनामा २.३ प्रतिशत लाभांश प्राप्ति हो । संस्थानमा कुल ३८ हजार २ सय ८५ स्वीकृत दरबन्दी रहेकोमा ३० हजार ३ सय ५२ जनालाई रोजगारी प्राप्त भएको छ । संस्थानहरूले प्रशासनिक र कर्मचारी खर्चबापत ६१ अर्ब ५ करोड खर्चेका छन् । 

आयल निगम सर्वाधिक नाफामा
आर्थिक वर्ष ०८१–८२ मा सबैभन्दा धेरै नाफा आर्जन गर्ने संस्थानको सूचीमा आयल निगम परेको छ । निगमले सो वर्ष १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, सबैभन्दा धेरै घाटा व्यहोर्नेमा वायुसेवा निगम रहेको छ । वायुसेवा निगमले सो वर्ष एक अर्ब २३ करोड घाटा व्यहोरेको थियो । 

नाफा गर्ने संस्थानको सूचीमा विद्युत्् प्राधिकरण र टेलिकम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, घाटामा सञ्चालित १६ संस्थानको सूचीमा वायुसेवा निगम पहिलो र खानेपानी संस्थान दोस्रो स्थानमा छन् । 

See More On

सुझावित समाचार