पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई धम्क्याएको तथा अभद्र व्यवहार गरेको आरोपमा उपेन्द्रबहादुर शाही पक्राउ परेका छन्। प्रहरीले सोमबार मन्त्रालयबाटै उनलाई पक्राउ गरेको हो।
सचिव पुडासैनीलाई कार्यकक्षमा गएर दुर्व्यवहार गरेको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। आफूले भनेका मान्छेको सरुवा गर्न तथा ठेक्का दिन दबाब दिँदै शाहीले धम्क्याएको मन्त्रालय स्रोत बताउँछ। उनले सचिवसँगको टेलिफोन कुराकानीको अडियो बनाएर सोही आधारमा समेत ब्लाकमेलिङ गरेको उजुरी परेको छ।
पक्राउ परेका शाहीलाई आपराधिक विश्वासघात र एक्सटोर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। अदालतले उनलाई ५ दिन थुनामा राख्न म्याद दिएको छ। विगतमा पनि उनले यसैगरी पैसा असुली गरेको सूचनाका आधारमा प्रहरीले शाहीउपर सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान थालेको छ।