सडक बन्नासाथ चाडपर्व लक्षित सामान तातोपानीबाट ल्याउने तयारी

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

सिन्धुपाल्चोक/ पहिरोले असार ३१ गतेदेखि बन्द रहेको कोदारी सडक सञ्चालनमा आएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको छ। सडक भासिएर साँघुरो भएको तातोपानीको घट्टेखोलामा सडक डिभिजनले ठुला मेसिनको प्रयोग गरेर बाटो फराकिलो पार्ने कामलाई निरन्तरता दिएको छ।

सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायणदत्त भण्डारीले ४० फिटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको जानकारी दिए। पछिल्लो वर्षाले मुस्ताङको कोरोला नाका पनि बन्द भएपछि चिनियाँ व्यापारी चाडपर्व लक्षित सामान तातोपानी नाकाबाट पठाउने तयारीमा जुटेका छन्।

ल्हासाबाट कोरोला हुँदै आएका हेभी कन्टेनरबिच बाटोबाट न्यालमतर्फ मोडिएका छन्। चिनियाँ ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिहरूका अनुसार चाडपर्वलक्षित फलफूल र रेडिमेड सामान बोकेका ४० फिटे कन्टेनर खासा जान न्यालमतर्फ हिँडेका छन्।

तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीन सरकारी अधिकारीलाई पटक–पटक भेटेर अनुरोध तथा दबाब दिँदै आएको नेपाल हिमालय सीमापार वाणिज्य संघले चाडपर्वलक्षित सामान ल्याउने विकल्प तातोपानी नाका मात्रै भएको बताएको छ। संघका कार्यकारिणी सदस्य तथा फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीले तातोपानी नाका खुलाउन चिनियाँ पक्ष लागिपरेको जानकारी दिए।

चीनमा ७ तारिखसम्म राष्ट्रिय दिवसका कारण सरकारी बिदा रहेकाले ८ तारिखदेखि तातोपानी नाका खुलाउन उनीहरू सक्रिय हुने पराजुलीले बताए। तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले पनि दसैँका सामान तातोपानीबाट आयात हुने सम्भावना रहेको बताए। 'आधिकारिक रूपमा केही भनेका छैनन्। तर, चिनियाँहरू तातोपानी खुलाउन सकारात्मक देखिएका छन्,' उनले भने।

'दसैँअघि तातोपानी नाका खुल्छ,' चिनियाँहरूसँग अनौपचारिक कुराकानी गर्दा यस्तो जानकारी पाएको बताउँदै व्यवसायी पराजुलीले भने, 'दसैँअघि १० दिन खुला भए मात्रै पनि पाँच सय कन्टेनर सामान आयात गर्न सकिन्छ।'

दसैँअघि मुस्ताङतर्फको सडकमा नयाँ ट्र्याक बने पनि हेभी गाडीको आवतजावत सम्भव नहुने उनले बताए। कोरोला नाकामा नेपालतर्फ ७० र चिनियाँ क्षेत्रमा ५० कन्टेनर स्याउ अलपत्र परेको उनले सुनाए। ‘दसैँअघि काठमाडौं नल्याउने हो भने ४० करोड रुपैयाँभन्दा बढीको फलफूल कुहिने निश्चित छ,’ उनले भने।

दसैँका लागि ल्याइएका फलफूल, बच्चाका कपडा तथा जुत्ता, तिहारका झिलिमिली सामान, ड्राइफ्रुट्स र लसुन सीमानाकामा अलपत्र परेका छन्।

नेपाल–चीनको सबैभन्दा छोटो नाका तातोपानी सञ्चालनमा समस्या आउनुको प्रमुख कारण विकट भूगोल हो। बाह्रबिसेदेखि तातोपानी–लिपिङसम्मको २६ किलोमिटर सडक जीर्ण छ। धेरै ठाउँमा पहिरो जाने र सडक भासिने गरेका कारण ४० फिटे कन्टेनर आवतजावत गर्न नसक्ने अवस्था छ।

नेपाल–चीन सीमा बैठकमा दोभासेको भूमिकासमेत निभाउँदै आएका नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले कोदारी सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै चिनियाँ पक्षले कन्टेनर पठाउने तयारी गरेको जानकारी दिए।

रसुवामा आएको बाढीपछि सामान आयात गर्न मुस्ताङ नाका खुला गर्नुको विकल्प नभएको उनको भनाइ छ। 'भोटेकोशीमा बाढी आएपछि तातोपानीबाट सामान ल्याउने चिनियाँ सोचाइ थियो। तर, कोदारी सडक धेरै ठाउँमा पहिरोले पुरिएकाले सम्भव भएन,' उनले भने।

नेपाल सरकारले ४० फिटे कन्टेनर गुड्ने गरी कोदारी सडक सञ्चालनमा ल्याउनासाथ चिनियाँ पक्षले कन्टेनर पठाउन सुरु गर्ने उनले बताए। खासाको पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि त्यहाँको भूगोलप्रति चीन सरकार चिन्तित रहेकाले स्थायी रूपमा तातोपानी नाका सञ्चालन गर्ने विषयमा भने टुंगो छैन।

यद्यपि, ठूला व्यापारी तातोपानी नाका सञ्चालनको पक्षमा देखिएका छैनन्। उनीहरूसँग पर्याप्त स्टक सामान मौज्दात रहेकाले उनीहरू स्थलमार्ग सहज रूपमा सञ्चालनमा आउने पक्षमा नरहेको बताइएको छ। पानीजहाजबाट आयात गर्दै आएका ठूला व्यापारी स्थलमार्ग सहज सञ्चालनको पक्षमा छैनन्।

तातोपानी नाका खुला नहुँदा दसैँको मुखमा एक हजार कन्टेनरका चालक, सहचालक, लोडर संघका सात सय मजदुर र नाकामा आश्रित सयौँ साना व्यापारी बेरोजगार भएका छन्।

तातोपानीबाट ५० हजार रुपैयाँ भाडामा कन्टेनर काठमाडौं आउँथे। कोरोला नाकाबाट चार लाख रुपैयाँ भाडा तिरेर पाँच सय किलोमिटर पार गर्दै काठमाडौं आएका सामानको मूल्यवृद्धिको भार आमउपभोक्तामा पर्न जान्छ।

सुझावित समाचार