राजनीतिक विश्लेषक रोशन जनकपुरीलाई ३ प्रश्न

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

एमालेमा अध्यक्ष ओली पहिलोपल्ट पदाधिकारी तहमा अल्पमतमा परे,यसको सन्देश के हो ?
एमालेको राजनीतिक दर्शन मूलतः अवसरवादी नै हो । त्यहाँ आउने नेता, कार्यकर्ता अवसरको खोजीमै आएका या आउने हुन् । विगतमा झलनाथ खनाल या माधव नेपालसित लड्दा उनीहरूलाई साथ दिने या विरोध गर्नेहरू सबै आ–आफ्नो स्वार्थअनुरूप नै चलेका देखिन्थे । अहिले अध्यक्ष ओलीको राजनीतिक हैसियत कमजोर देखिएको समयमा कसैले साथ छाड्नु र ओली अल्पमतमा पर्नु भनेको पनि अवसर खोजीकै परिणाम हो । 

एमालेमा देखिएको पछिल्लो समस्या समाधानको विकल्प के हुन सक्छ ?
विगतमा माधव नेपालले एमाले छाडिसकेपछि विद्या भण्डारीको सम्भावना बलियो देखिँदै आएको थियो । तर, बिचमा सदस्यता दिने या नदिने विषयमा विवाद देखिएसँगै भण्डारीको प्रभाव पहिलेजति छैन । तैपनि, एउटा पोलका रूपमा अगाडि आउने उहाँको सम्भावना भने जीवितै देखिन्छ । उहाँसँगसँगै चारमध्ये कुनै उपाध्यक्ष अगाडि आउने सम्भावना पनि हुँदै नभएको भने होइन । अझ भविष्यमा यो दोस्रो विकल्पचाहिँ बढी बलशाली देखिन पनि सक्छ । 

‘नेतृत्व छाड्दिनँ’ भन्ने अध्यक्षको हठले पार्टीमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरणको ढोका बन्द हुने त होइन ?
दलहरूमा पुस्तान्तरण नियमित प्रक्रिया हो । त्यसैले, एमाले एक रहे पनि या नरहे पनि एउटा निश्चित कालखण्डपछि या कुनै घुम्तीपछि कसैले चाहे पनि या नचाहे पनि पुस्तान्तरण रोकिन्न । खालि ढिलोचाँडोको कुरा मात्र हो । तर, यसरी आउने नेतृत्व कति बलियो देखिन्छ, त्यो त समयले नै बताउनेछ । पार्टीभित्रको कमान्डमा पुरानै नेताहरूको पडक देखिए पनि पार्टीको निर्णय प्रक्रियामा युवाको प्रभाव बलियो देखिन सक्छ । यसले पार्टी रूपान्तरणमा योगदान दिन सक्छ ।

सुझावित समाचार