नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनीषलाल प्रधान निर्वाचित भएका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले मनोनयन गराएका थिए । ढकालले पछि उम्मेदवारी फिर्ता लिए । कोषाध्यक्ष पदमा मनीषलाल प्रधान अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी परेको थियो ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित वैद्यले ५६ मत ल्याउँदा प्रतिस्पर्धी संघाईले ३० मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा विजयी प्रधानले ६१ मत ल्याउँदा पौडेलले २५ मत मात्रै ल्याए । महासंघको विधान–२०४९ (सातौँ संशोधनसहित) को दफा २९.५ र २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिएको हो ।
६ जना केन्द्रीय सदस्य मनोनीत
यसैबिच आजै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुईजना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी छन् ।
महासंघको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुने गरी कम्तीमा दुईजना महिलासहित सातजना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ । सोही प्रावधानबमोजिम अध्यक्ष श्रेष्ठले शुक्रबार ६ जना सदस्य मनोनीत गरेका हुन् । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनयन गर्न बाँकी रहेको छ ।
नवनिर्वाचित तथा मनोनीत पदाधिकारी एवं सदस्यहरूलाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । सो अवसरमा बधाई ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यावसायिक हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले देशभरका उद्योगी–व्यवसायीका माग सम्बोधन गर्दै आर्थिक समृद्धि र विकासका लागि महासंघ सक्रिय रहने धारणा राखे ।
महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपछि विधानको २९.३ को (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) व्यवस्थाअनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । ०८१ मंसिरमा गरिएको सातौँ संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागू गरिएको थियो । संशोधित विधानमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था नभई साधारणसभाबाट प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।