ठुला अस्पतालमै स्वास्थ्य बिमा कार्यक्रम किन रोकिएको हो ?
ठुला अस्पतालमा ‘पेमेन्ट’को ‘भोल्युम’ पनि ठुलै छ । समयमै भुक्तानी हुन नसक्दा त्यो बढ्दै गयो । फेरि स्वास्थ्य बिमा बोर्डबाट ‘भेरिफिकेसन’ हुँदा कतिपय ‘केस’मा कागजात नपुगेको हुनाले पनि भुक्तानीमा ढिलाइ भएको अवस्था छ । विगतदेखिकै बक्यौता थपिँदै गएकाले कतिपयले यो सेवा रोक्नुभएको हो । हामीले पत्राचार गरेर बक्यौता भुक्तानी हुन्छ, सेवा नरोक्नुस् भनेर अनुरोध गरेका छौँ । कतिपयले सेवा दिइराख्नुभएको पनि छ भने कतिपयले रोक्नुभएको छ । तर, अब चालू आर्थिक वर्षभित्रै बिमा दाबीको बक्यौता भुक्तानी गर्ने प्रयास भइरहेको छ । कम्तीमा पनि ०८२ को चैतसम्मको मात्र भुक्तानी गर्न पाइयो भने पनि आगामी आवमा सहज हुनेछ ।
स्वास्थ्य बिमाको दाबी भुक्तानीमा किन यति ठुलो समस्या आएको होला ?
प्रत्येक बिमितले आफू स्वस्थ भएको अवस्थामा पनि बिमाको सीमाले भ्याएसम्मको परीक्षण गराइहाल्ने अवस्थाले गर्दा दाबी बढी देखिएको हो । फेरि हाम्रो बिमितको संख्या पनि ठुलो छैन । यसले गर्दा उठ्नुपर्ने प्रिमियम निकै कम हुने र दाबी बढी हुने हुँदा यो समस्या आएको हो । अत्यावश्यक बिरामीले नगरी नहुने परीक्षण मात्र गराउने हो भने यस्तो समस्या आउँदैन ।
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
यसका लागि बिमा ऐनमै संशोधन गरी त्यसलाई नयाँ मोडेलमा सञ्चालन गर्नुपर्छ । सामाजिक सुरक्षा कोषसँग आबद्ध गरेर पनि जान सकिन्छ । सबै नागरिकलाई बिमित बनाउन सकियो भने पनि यो प्रभावकारी हुन सक्छ । साथै, आयका आधारमा बढी र कम प्रिमियम लिने व्यवस्था पनि लागू गर्न सकिन्छ । आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकेको खण्डमा सामान्य उपचार तलै हुन सक्छन् । यसले पनि ठुला अस्पताल र बिमामा पर्ने दबाब घटाउँछ ।