चितवनको विकट इच्छाकामना गाउँपालिका– १, कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र दुई बालिकाको पाँच दिनभित्रै मृत्यु भएपछि स्थानीय चेपाङ परिवार उजाडिएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा १३ वर्षीया मनिता चेपाङको मंगलबार बिहान मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि उनका ११ वर्षीय भाइ सञ्जय चेपाङ र नौ वर्षीया बहिनी नमुना चेपाङको पनि ज्यान गइसकेको छ । मृतक तीनैजना स्थानीय श्यामबहादुर चेपाङ र पदमकुमारी चेपाङका सन्तान हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार च्याउ खाएर बिरामी परेकी नौ वर्षीया नमुना चेपाङको गत जेठ १ गते गाउँमै मृत्यु भएको थियो । अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पताल ल्याइएका ११ वर्षीय सञ्जयको शनिबार राति उपचारकै क्रममा ज्यान गयो । जेठी छोरी मनिताको पनि मंगलबार बिहान ६ बजे अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनीष श्रेष्ठले बताए ।
पाँच दिनको अन्तरालमा आफ्ना भएका सबै सन्तान गुमाएपछि बुबा श्यामबहादुर र आमा पदमकुमारी पीडामा छन् । ती बालबालिका स्थानीय विद्यालयको कक्षा २, ३ र ५ मा अध्ययनरत थिए ।
च्याउ खाएका बुबा श्यामबहादुर र आमा पदमकुमारी भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक दुई बालबालिकाको दाहसंस्कार भइसकेको छ भने मनिताको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
पारिवारिक स्रोतका अनुसार श्यामबहादुरको परिवारले गत २९ वैशाखमा जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए । बालबालिकाका बुबा श्यामबहादुरले आफूहरूले विगतमा पनि खाने गरिएको ‘कटुसे च्याउ’ ठानेर सो च्याउ पकाएको प्रहरीलाई बताएका छन् । च्याउ खाएको केही समयपछि नै परिवारका सदस्यहरूमा टाउको दुख्ने, बान्ता हुने र कडा पखाला लाग्नेजस्ता लक्षण देखिएका थिए ।
सुरुमा सामान्य स्वास्थ्य समस्या ठानेर उनीहरूलाई स्थानीय काउले स्वास्थ्य चौकी पुर्याइएको थियो । तर, निको नभएपछि बालबालिकालाई भरतपुर अस्पताल रेफर गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार बालबालिकामा देखिएको लक्षण जंगली च्याउको कडा विषसँग मिल्दोजुल्दो रहेको र सोही कारण अंगहरूले काम गर्न छोडेर मृत्यु भएको हो ।