अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई ३ प्रश्न

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

होल्डिङ सेन्टरहरूमा राखिएका सुकुमवासीहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
होल्डिङ सेन्टरहरूमा राखिएका परिवारका सदस्यहरू काममा जानुहुन्छ भने उहाँहरूलाई रोकिएको छैन । उहाँहरू बिहान सेन्टरमै खाना खाई काममा जानुहुन्छ । बेलुकाको खानाको पनि सेन्टरमै व्यवस्था हुन्छ । दिउँसो सेन्टरमै बस्नेहरूका लागि खाजाको पनि व्यवस्था गरिएको छ । बिरामी भएका या कुनै दुर्घटनामा परेकाहरूको उपचारको पनि व्यवस्था गरेका छौँ । नियमित औषधि सेवन गर्नुपर्नेहरूको चाहिँ छिटफुट रूपमा औषधि सेवन गर्न नपाएका गुनासा सुनिएका छन् । तर, हामीलाई पहिल्यै जानकारी गराउनुहुनेहरूका हकमा त्यस्तो समस्या छैन, तर हामीलाई जानकारी नभएको अवस्थामा कहीँकतै त्यस्तो समस्या रहेछ भने त्यसमा पनि सहजीकरण गरिरहेका छौँ । कसैमा मानसिक तनाव बढेको देखिएमा काउन्सिलिङ पनि गराउँदै छौँ । देखिएका समस्यालाई क्रमशः सल्टाउँदै छौँ । 

होल्डिङ सेन्टरमा रहेकाहरूले स्वास्थ्यमा असर परेकोदेखि रोजगारीमा समेत असर परेको गुनासो गरेका छन् नि ?
यस्ता गुनासा यदाकदा सुनिन्छन् । कसैमा समस्या छ भने उहाँहरूले हामीलाई प्रस्ट भन्नुपर्छ । हामीले अनुगमन गरिरहेका छौँ । मानवीय सेवा–सुविधामा कुनै कन्जुस्याइँ गरेका छैनौँ । बालबालिकाले स्कुल जान नपाएको गुनासो पनि आइरहेको छ । तर, राधास्वामीमा राखिएका बालबालिकाको शिक्षाको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । केही होल्डिङ सेन्टरका बालबालिका स्कुल जान थालिसकेका छन् । केहीका बालबालिकाका लागि पनि स्कुलहरूसँग कुराकानी भइरहेको छ । 

वास्तविक सुकुमवासीको पहिचान कहिलेसम्म भइसक्ला ? 
सरकारले छिटो रिजल्टका लागि ताकेता गरिरहेको छ । हामीले पहिलो चरणको स्क्रिनिङ सकिसकेका छौँ । अहिले दोस्रो चरणमा सम्बन्धित व्यक्तिको परिवारका सम्पूर्ण सदस्यको डाटा लिएर त्यसलाई डाटाबेसमा राख्ने काम सुरु गरेका छौँ । यो छिट्टै टुंगिन्छ र त्यसपछि हामी पहिचान भएका परिवारको व्यवस्थापन गर्ने चरणमा प्रवेश गर्नेछौँ । 

सुझावित समाचार