डलरको मूल्य नयाँ उचाइमा, एक डलरको १५४.४६ रुपैयाँ

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको खरिद मूल्य १५३.८६ रुपैयाँ र बिक्री मूल्य १५४.४६ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । 

यसअघि शनिबारदेखि सोमबारसम्म डलरको खरिद मूल्य १५३.२५ रुपैयाँ र बिक्री मूल्य १५३.३८५ रुपैयाँ तोकेको थियो । डलरको मूल्यले मंगलबार त्यो रेकर्ड तोडेर नयाँ रेकर्ड राखेको हो । शुक्रबार डलरको खरिद मूल्य १५२.९३ रुपैयाँ र बिक्री मूल्य १५३.५३ रुपैयाँ थियो । 

नेपाली मुद्रा भारतीयसँग पेग (विनिमय दर स्थिर) हुँदा भारतमा डलरको मूल्य बढेसँगै स्वतः नेपालमा पनि मूल्य बढेको हो । पश्चिम एसियामा जारी तनावका कारण भारतीय अर्थतन्त्र प्रत्यक्ष प्रभावित भइरहेको छ । इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भारत धेरै तेल आयात गर्ने मुलुकमा पर्छ । 

सोही कारण मूल्य बढेपछि तेल आयातमा भारतले धेरै विदेशी मुद्रा खर्च गर्नुपरेको छ । युद्धले विश्व आपूर्ति शृंखला प्रभावित भएसँगै भारतको वैदेशिक व्यापारमा त्यसको असर परेको छ । अहिले भारतमा व्यापार घाटा पनि बढ्दो छ । भारतबाट पुँजी पलायन बढ्दै गएको छ । जसले गर्दा भारतमा अहिले डलरको माग उच्च भएको छ । डलरको मागले मूल्य बढाएको छ, त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । डलर सञ्चिति जोगाउन भारतले अहिले सुन र चाँदी आयात प्रतिबन्ध गरेको छ । 

इजरायल र अमेरिका मिलेर गत २८ फेब्रुअरी (१६ फागुन)मा इरानमाथि गरेको आक्रमण र त्यसपछि मध्यपूर्वी मुलुकमा देखिएको तनावका कारण भारतमा डलरको मूल्य बढ्दै आएको छ । त्यसपछि नेपाली मुद्रा बजारमा पनि डलरको मूल्य स्वतः निरन्तर बढ्दै आएको छ । 

डलरको मूल्य बढ्दाका फाइदा–बेफाइदा
डलरको मूल्य बढेपछि विदेशी मुद्रामा हुने आम्दानी बढ्नेछ । अर्थात्, रेमिट्यान्स, निर्यात, विदेशी पर्यटनमार्फत हुने आम्दानी बढ्नेछ । तर, आयात भने महँगो हुनेछ । यसैगरी, नेपालले तिर्ने वैदेशिक ऋण पनि महँगो हुनेछ । विदेशबाट लिएको ऋण नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । त्यसले गर्दा डलरको मूल्य बढेको अवस्थामा वैदेशिक ऋणको दायित्व पनि महँगो पर्नेछ । यद्यपि, डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा कमजोर हुनु हो ।

See More On

सुझावित समाचार