पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई ३ प्रश्न

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

कार्यालयहरूमा स्तनपान कक्षको खाँचो कति छ ?
कार्यालयहरूमा स्तनपान कक्षको अति खाँचो छ । अहिले महिलाहरू काममा जाने क्रम निकै बढेको छ । बच्चा जन्मिसकेपछि सुत्केरी बिदा सकिएसँगै उनीहरू काममा फर्किन्छन् । यस्तो अवस्थामा स्तनपान गराउनु र गर्नु आमा र नवजात शिशु दुवैको अधिकार हो । यसका लागि आमाले बच्चालाई पनि आफूसँगै लिएर जान पाउने अवस्था हुनुपर्छ । साथै, सिंहदरबारजस्ता स्थानमा शिशु स्याहार केन्द्र नै हुनुपर्छ । जसले गर्दा त्यहाँ काम गर्ने आमाहरूले शिशुलाई त्यहाँ छाड्न सक्छन् र आवश्यकताअनुसार वेलावेलामा त्यहाँ गएर शिशुलाई स्तनपान गराउन सक्छन् । यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्छ । 

सरकारी कार्यालय र अस्पतालहरूमा यस्ता कक्ष स्थापना गर्न के गर्नुपर्छ ?
कार्यालय र अस्पतालहरूमा यस्ता कक्षहरू धेरै पहिले नै स्थापना गर्नुपर्ने थियो । तर, ढिलै भए पनि कतिपय कार्यालय र अस्पतालहरूमा यस्ता कक्ष स्थापना हुने क्रम बढेको छ । कार्यालयहरूमा स्तनपान कक्ष स्थापना गर्न खासै ठुलो खर्च पनि लाग्दैन । यसका लागि बस्ने कुर्सी र सम्भव भयो भने बेड पनि भए राम्रो हुन्छ । साथै, बच्चाको डाइपर बदल्ने ठाउँ र राख्ने डस्टबिन पनि आवश्यक हुन्छ । हात धुन साबुनपानीको व्यवस्था पनि हुनुपर्छ ।   

यस्ता कक्ष नहुँदा के–कस्ता असर पर्न सक्छन् ?
विदेशतिर चाहिँ शिशु स्याहार केन्द्र नै हुन्छन् । त्यस्ता केन्द्र या घरमै ‘केयर टेकर’को जिम्मामा शिशुलाई छाड्दा आमाले स्तन पम्प गरेर शिशुको आवश्यकताअनुसार फ्रिजमा दुध राखिदिने पनि गरिन्छ । तर, यहाँ ‘हाइजिन’लगायत कारणले गर्दा त्यो त्यति प्रभावकारी हुन सकेको छैन । त्यसैले, कार्यालयहरूमा स्तनपान कक्षसँगै शिशु स्याहार केन्द्र पनि सञ्चालन गर्नुपर्छ । यसका लागि निश्चित गाइडलाइन भने तयार गरी लागू गर्नुपर्छ । 

सुझावित समाचार