अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् । ‘मैले कसैले स्वतन्त्र हुन खोजिरहेको हेर्न चाहेको छैन,’ अमेरिकी राष्ट्रपतिले शुक्रबार बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको दुईदिने शिखर सम्मेलनको अन्त्यमा ताइवानप्रति संकेत गर्दै भने । यसअघि ताइवानका राष्ट्रपतिलाई चिंग–तेले ताइवान एक सार्वभौम राष्ट्र भएकाले औपचारिक रूपमा स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको बताएका थिए । ताइवानले बारम्बार आफूलाई स्वतन्त्र राष्ट्रको दाबी गर्दै आएको छ, जसलाई चीनले ठाडै अस्वीकार गरेको छ ।
अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ । यसअघि ताइवानलाई बाह्य हमला भएमा उसलाई हतियार सहयोग गर्ने भन्दै वासिङटनले बेइजिङलाई चिढाउने प्रयत्न गरेको थियो । तर, चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण हिस्सा मान्दै आएको छ । ताइवानलाई एक प्रान्तको रूपमा लिँदै आवश्यक परेमा आफ्नो अधीनमा राख्न सक्ने चीनले धम्की दिँदै आएको थियो । ताइवान मुद्दालाई लिएर विगतमा पनि अमेरिका र चीनबिच बाम्बार विवाद हुने गरेको थियो । तर, चीनको भ्रमणलगत्तै राष्ट्रपति ट्रम्पले स्वतन्त्र घोषणा नगर्न चेतावनी दिनुलाई कूटनीतिक जगत्मा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा ‘कुनै प्रतिबद्धता नजनाएको’ बताएका थिए । अमेरिकाको स्थापित अडान भनेको उसले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन र बेइजिङसँग उसको निरन्तरको सम्बन्ध एउटा मात्र चिनियाँ सरकार रहेको स्वीकार गर्ने कुरामा निर्भर छ । वासिङटन फर्कने क्रममा राष्ट्रपति ट्रम्पले आफू र सी जिनपिङले उक्त टापुका बारेमा ‘धेरै’ कुरा गरेका पत्रकारहरूलाई बताए ।