नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मालाई ३ प्रश्न

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

सडक दुर्घटनाबाट दैनिक सातजनाले ज्यान गुमाइरहेको तथ्यांकले के संकेत गर्छ ?
यो तथ्यांक दिन–प्रतिदिन बढ्दै छ । हामीकहाँ सडक निर्माणदेखि नै लापरबाही सुरु हुन्छ । सडकको ‘क्वालिटी कन्ट्रोल’मा खासै ध्यान दिइन्न । ठेकेदार, कन्सल्टेन्सी र सरकारबिच कसले बढी कमाउने भन्ने होड चल्दै आएको छ । चालकको लापरबाही पनि यसमा जिम्मेवार छ । हाइवेमा भन्दा भित्री सडकहरूमा यस्तो दुर्घटनाको ‘ग्राफ’ उच्च छ । अधिकांश ग्रामीण सडक योजनाबद्ध रूपमा भन्दा पनि स्थानीय जनप्रतिनिधिको लहड र डोजरचालकको ज्ञानका भरमा खनिन्छन् । सवारीसाधनको कन्डिसन पनि ठिक हुँदैन । पुराना सवारीसाधन पनि गुडिरहेका हुन्छन् । व्यवसायीको सिन्डिकेटले पनि दुर्घटना बढाउन सहयोग पुर्याइरहेको हुन्छ । 

सडक दुर्घटनामा यात्रुहरूको जिम्मेवारीचाहिँ कति हुन्छ ?
दुर्घटनामा चालकसँगै यात्रुहरूको जिम्मेवारी पनि अत्यन्त धेरै हुन्छ । पहिले–पहिलेजस्तो छतमा बसेर यात्रा गर्ने क्रम धेरै रोकिएको भए पनि खाँदाखाँद गरेर सवारीसाधनको क्षमताभन्दा बढी यात्रुले एकसाथ यात्रा गर्ने क्रम चलिरहेकै छ । सवारीधनी या चालकहरूले पनि कमाउने मौकाका रूपमा यसलाई लिँदा दुर्घटना बढिरहेको छ । यसमा यात्रुहरू स्वयं बढी सचेत हुनुपर्छ ।   

दुर्घटना न्यूनीकरणका उपाय के–के हुन सक्छन् ?
यसका लागि सर्वप्रथम यातायात ऐनमै सुधार गर्नुपर्छ । लाइसेन्स परीक्षा प्रणालीमा सुधार गरी विदेशतिर जस्तै फिल्डमै टेस्ट गर्ने व्यवस्था हुनुपर्छ । पर्याप्त इन्जिनियरिङ तयारी र उनीहरूको प्रभावरकारी ‘मनिटरिङ’मा सडक निर्माण गर्नुपर्छ । ‘मास ट्रान्सपोर्ट’ सञ्चालनमा ल्याउनुपर्छ । व्यवसायीबिचको अनावश्यक प्रतिस्पर्धा र सिन्डिकेट अन्त्य गर्नुपर्छ । पुराना सवारीसाधन विस्थापित गर्नुपर्छ । सवारीसाधनको ‘कन्डिसन’ परीक्षण गर्ने संयन्त्र बनाउनुपर्छ । ‘टोल’ उठाउने अधिकारसहित सडक निर्माण र मर्मतसम्भारको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ । पर्याप्त साधनस्रोतसहितको ‘हाइवे पेट्रोलिङ पुलिस’को व्यवस्था गर्नुपर्छ । 

सुझावित समाचार