राजनीतिक विश्लेषक माधव न्यौपानेलाई ३ प्रश्न

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेसका देउवा र शेखर समूहका समानान्तर गतिविधिले पार्टी जीवनमा कस्तो प्रभाव पार्ला ?
पार्टी विधानले दिएको अधिकारको अभ्यासबाट विशेष महाधिवेशन आयोजना गरी नेतृत्वमा व्यापक रूपान्तरण ल्याएको गगन–विश्व समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता पाइसकेको छ । ऐतिहासिक रूपमा पनि कांग्रेसमा जहाँ चारतारे झन्डा र रुख चिह्न रहन्छन्, त्यहीँ पार्टी नेता र कार्यकर्ता रहने परम्परा छ । फेरि, नयाँ पुस्ताले विश्वास गरेका गगन, विश्व र प्रदीपहरूको नेतृत्वमा पछिल्लो केन्द्रीय समिति विस्तारपछि जोडिएका चन्द्र भण्डारीलगायत नेताप्रति धेरैको भरोसा पनि छ । यस्तो अवस्थामा इतर समूहले गरेको गतिविधिले सार्थकता पाउला जस्तो लाग्दैन । कांग्रेस राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भइसकेको हुनाले राम्रा, देश र जनताले पत्याएका, युवा नेता तथा कार्यकर्ता इतर समूहतिर जालान् जस्तो लाग्दैन । त्यसैले, इतर समूहको गतिविधिले क्षणिक प्रभाव पारे पनि दीर्घकालमा सबै मूलधारमै समेटिने निश्चित छ । 

यस्ता गतिविधि बढ्दै जाँदा पार्टी फुटको दिशातिर जाने त होइन ?
इतर पक्षका गतिविधिले पार्टी फुटको दिशामा जाने त होइन भन्ने प्रश्न नउठेको होइन । तर, जबजब देश र लोकतन्त्र संकटमा पर्छन्, तबतब कांग्रेसले एकढिक्का भएर त्यसको सामना गरेको इतिहास छ । अहिले पनि संसदीय मूल्य, मान्यता र आचरणमाथि प्रश्न उठिरहेको हुनाले कांग्रेसका सबै नेता, कार्यकर्ता एक भएर अघि बढ्ने विश्वास गर्न सकिन्छ । 

कांग्रेसलाई बलियो बनाउन संस्थापन र इतर दुवै समूहले गर्नुपर्नेचाहिँ के हो ?
यसका लागि दुवै पक्षले अहं त्यागेर हातेमालो गरी अघि बढ्नुपर्छ । नयाँ पुस्ताले पनि पुराना पुस्ताको विश्वास जितेर सम्मानपूर्वक उनीहरूको व्यवस्थापन गर्नुपर्छ । इतर पक्षले पनि पार्टीभित्र आमूल परिवर्तन भइसकेको यथार्थलाई आत्मसात् गरेर पार्टी संस्थापनसित मिल्नुको विकल्प छैन । 

सुझावित समाचार