राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष महाश्रम शर्मालाई ३ प्रश्न

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

२०८२ को एसइईको नतिजा कस्तो लाग्यो ?
गत वर्षको एसइईमा ६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । यसपालि थोरै बढी अर्थात् करिब ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विगतदेखि नै प्रत्येकजसो वर्ष नतिजामा क्रमिक सुधार आइरहेको हुनाले अहिलेको यो ४.१७ प्रतिशतको सुधार स्वाभाविक हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । 

अघिल्ला वर्षमा भन्दा छिटो नतिजा प्रकाशित हुनुले के संकेत गर्छ ?
यस वर्ष नयाँ सरकारले फास्ट ट्र्याकबाट नतिजा निकाल्न सहयोग गर्यो । सकभर कक्षा १२ सम्मैको शैक्षिक सत्र सँगसँगैजस्तो सुरु गर्ने विगतकै तयारीस्वरूप सरकारले यो निर्णय गरेको देखिन्छ । सरकारको निर्णयसँगै कर्मचारीले पनि साँझबिहान फास्ट ट्र्याकमै काम गरे । परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र बनाएर काम गरियो । हुन त विगतदेखि नै नतिजा प्रकाशनको अवधि घटाउँदै ल्याउने प्रयास गरिएको हो । यस वर्ष समयमै नतिजा आए पनि उत्तरपुस्तिका परीक्षणमा कति ‘भेरिएसन’ आउँछ, त्यो त हेर्न बाँकी नै छ । तर, आगामी दिनमा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरूको ‘ओरियन्टेसन’मा विशेष ध्यान दिनुपर्छ । पुनर्योगमा जानुपर्ने अवस्था नै आउन नदिने या सकभर कम भेरिएसन आउने अवस्था सिर्जना गर्नुपर्छ । 

यो नतिजाले विद्यार्थीको सिकाइ गुणस्तरमा सुधार भएको कति संकेत गर्छ ?
उत्तीर्ण प्रतिशतले विद्यार्थीको सिकाइ गुणस्तर निर्धारण गर्दैन । कक्षा १० वा १२ को परीक्षाको नतिजामा मात्र विद्यार्थीको शैक्षिक गुणस्तर खोज्न थाल्यौँ भने हामी उल्टो बाटो हिँडेको ठहरिन्छ । हाम्रो शिक्षा क्षेत्रमा धेरै गर्न बाँकी छ । यसका लागि हामीले तलैदेखि काम सुरु गर्नुपर्छ । ‘रेगुलर एसेस्मेन्ट’का लागि शिक्षकलाई ‘ट्रेन्ड’ गर्नुपर्छ । एउटा परीक्षाको नतिजाले मात्र गुणस्तर सुध्रियो भन्न मिल्दैन । 

सुझावित समाचार