इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का

हर्मुजमा चल्ने जहाजमाथि इरानले उठाउने शुल्क चिनियाँ युआनमा हुने तेहरानको भनाइ कार्यान्वयन भए विश्वशक्ति सन्तुलनमा ठुलो परिवर्तन आउनेछ

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

‘स्ट्रेट अफ हर्मुज’मा हप्तौँ लामो नाकाबन्दीपछि इरान र अमेरिकाका लागि यो साँघुरो जलमार्ग यस द्वन्द्वको परिणामका लागि निर्णायक भएको स्पष्ट बनेको छ । यसबिच गत साता अमेरिकाले खाडी क्षेत्रमा फसेका ​​जहाजलाई सैन्य बल प्रयोग गरेर हर्मुजबाट निकाल्ने प्रयाससमेत गर्यो । यस सैन्य कदम त्यस्तो वेला भयो, जब फारसी खाडीमा ऊर्जा सुरक्षा गम्भीर परिवर्तनको सँघारमा आएको छ ।

इरान र अमेरिकाले यस क्षेत्रबाट हुने तेल, ग्यास, हिलियम र मलको विश्वव्यापी प्रवाह नियन्त्रण गर्ने प्रयास गरिरहँदा अमेरिकाको सहयोगी देश युएई तेल उत्पादक देशको समूह ‘ओपेक’बाट बाहिरिएको छ । उता इरानले युद्धबाट आफूले भोगेको क्षतिको भरपाईका रूपमा स्ट्रेट अफ हर्मुजमा आउजाउ गर्ने जहाजमाथि शुल्क लगाउने घोषणा गरेको छ । शुल्क कार्यान्वयन भयो इरानले प्रतिवर्ष ४० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्म राजस्व संकलन गर्ने अनुमान छ । यस रकमले अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्धको प्रभावलाई कम गर्नसमेत सघाउनेछ ।

महŒवपूर्ण रूपमा, हर्मुजमा चल्ने जहाजमाथि इरानले उठाउने शुल्क चीनसँग सम्बन्ध बलियो बनाउने उपाय हुनेछ । किनभने शुल्क अमेरिकी डलरमा नभई चिनियाँ युआनमा हिसाब हुने तेहरानले बताएको छ । यसले क्षेत्रीय र विश्वव्यापी शक्तिसन्तुलनलाई उल्लेखनीय रूपमा परिवर्तन गर्नेछ । 

५० वर्षको प्रभुत्व :  इरानले स्ट्रेट अफ हर्मुजमा चल्ने जहाजमाथि लगाउने शुल्क कायम राख्न सक्यो भने यसले पेट्रोडलरको ऐतिहासिक प्रभुत्वलाई घटाएर मध्यपूर्वको राजनीतिलाई चीन र एसियातर्फ ढल्काउन सक्छ । मूलतः पेट्रोडलर प्रणालीले तेलको मूल्य र व्यापार अमेरिकी डलरमा निर्धारण गर्यो । यो शब्द सन् १९७० को दशकमा प्रचलनमा आयो, जब अमेरिकाले साउदी अरबलाई सैन्य सहायताको बदला तेलको मूल्य अमेरिकी डलरमा निर्धारण गर्न भन्यो । पछि यो व्यवस्था ओपेकमा फैलियो र विश्वव्यापी तेल व्यापारको बेन्चमार्क बन्यो । यसले अमेरिकी डलरलाई विश्वव्यापी रिजर्भ मुद्राका रूपमा बलियो बनायो र अन्ततः अमेरिकाको शक्तिलाई थप सबल बनाउन सघायो ।

पेट्रोडलर व्यवस्थाले तेल उत्पादक राष्ट्रहरू विशाल पेट्रोडलर जम्मा गर्न सफल भए । तेल बेचेर आएको विशाल आय आफ्नो अर्थतन्त्रमा लगानी गर्न बढी भएकाले बचेको रकमलाई अमेरिकी धितोपत्र र स्टकमै लगानी गर्न थाले । बाँकी रकम अन्य देशको सार्वभौम सम्पत्ति कोषमा पनि लगानी गरियो । पेट्रोडलर ओपेक सदस्य मात्र नभई समूहबाहिरका तेल निर्यातकर्ता कतार र नर्वेका लागि राजस्वको प्राथमिक स्रोत बनेको छ । यस प्रणालीले तेल उत्पादक देशलाई वासिङटनसँग जोड्छ भने अमेरिकालाई विश्वव्यापी मामिलामा महत्वपूर्ण वित्तीय लाभ प्रदान गर्छ । 

नयाँ विश्वव्यवस्थाको संकेत :  युएई, बहराइन, कतार, कुवेत र साउदी अरबजस्ता प्रमुख तेल उत्पादक खाडी देशले इरानलाई तिर्ने शुल्क ‘पेट्रोयुआन’मा तिर्दा पर्ने प्रभावबारे अर्थशास्त्री एन्टोनियो भारद्वाज भन्छन्, ‘यसले पेट्रोडलर प्रणालीको प्रणालीगत क्षय र विश्वव्यापी ऊर्जा लेनदेनको एक विश्वसनीय, संस्थागत रूपमा जोडिएको वैकल्पिक ढाँचाका रूपमा पेट्रोयुआनको उदयलाई इंगित गर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक पाकिजाह परविन यसबारे टिप्पणी गर्दै भन्छन् :  ‘तेल बजार दुई भागमा विभाजित हुनेछ । एउटा, इरानी घोषणा अनुपालन गर्ने पक्षले युआनमा भुक्तानी गर्नेछन् भने अर्को युआनमा भुक्तानी गर्न नमान्ने पक्षले डलर–निर्धारित ब्यारेलमा उल्लेखनीय रूपमा उच्च लागत व्यहोर्नेछन् ।’ विशेषतः पाकिस्तान, दक्षिण कोरिया, जापान र फिलिपिन्सजस्ता प्रमुख अमेरिकी सहयोगीले बढी शुल्क तिनुपर्ने हुन सक्छ । यी देशले यसै पनि खाडी र मध्यपूर्वमा देखिएको उथलपुथलका कारण गम्भीर आर्थिक दबाबको सामना गरेका छन् । पेट्रो–युआनमा शुल्क तिर्दा उनीहरू चीनतर्फ नजिकिनुपर्ने हुन्छ । साथै, बेइजिङको भरपर्दो र स्थिर आर्थिक शक्तिको भाष्यले बल पाउँछ । 

हर्मुजमा इरानले उठाउने शुल्कले विश्व अर्थतन्त्रकै ‘डी–डलरीकरण’ (डलर प्रयोगको अन्त्य) निम्त्याउने तर्क गर्नु चाँडै हुन्छ । तथापि, यो अमेरिकी डलरको महत्व कम हुने दिशामा एक कदम हुन सक्छ । समग्रमा अमेरिकी डलरबाट टाढिन कुनै पनि देशले उठाउने हरेक कदम आर्थिक र राजनीतिक रूपमा अमेरिकामाथिको निर्भरता घटाउने कदम हो । यसले युआनलाई अन्तर्राष्ट्रियकरण गर्ने चीनको प्रयासलाई पनि मद्दत गर्नेछ ।

सन् १९९६ पछि पहिलोपटक, विश्वभरका केन्द्रीय बैंकले आफ्नो भण्डारणमा अमेरिकी ऋण धितोपत्रभन्दा सुन बढी राखेका छन् । समग्रमा, युआनमा मूल्यांकन गरिएको इरानी कर उदीयमान बहुध्रुवीय संसारको अर्को संकेत हुनेछ, जहाँ अमेरिकी प्रभुत्व अब नरहन सक्छ । यसको अर्थ ठुला र साना सबै देशहरूका लागि थप रणनीतिक लचिलोपन हुनेछ, तर थप अनिश्चितता पनि हुनेछ ।
द कन्भरसेसनबाट

सुझावित समाचार