सहर पसेको रैथाने खाना : सम्भ्रान्तको भान्सादेखि तारे होटेलसम्म

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण
  • दूरदराजबाट सहर पसेको रैथाने खाना तारे होटेलका मेनुदेखि सम्भ्रान्तका भान्सासम्म पुगेका छन्, सहरमा प्रतिष्ठा पाए पनि त्यसको लाभ किसानसम्म पुग्न सकेको छैन

एक समय गाउँघरको भान्सामा सीमित मानिने रैथाने खाना अचेल सहरका सम्भ्रान्तका घरदेखि रेस्टुरेन्ट र पाँचतारे होटेलका मेनुमा समावेश भइरहेका छन् । कोदो र फापरको ढिँडो, गुन्द्रुक, सिस्नोजस्ता परिकार पहिले निम्न आय भएका गाउँका मानिसले खाने मानिन्थ्यो । अचेल भने स्वास्थ्यमा लाभदायक हुने भन्दै सहरीवासीको रोजाइमा ती खाना पर्न थालेका छन् । विशेषज्ञका अनुसार पछिल्लो समय बढ्दो स्वास्थ्य सचेतना र स्थानीय उत्पादनप्रतिको आकर्षणले रैथाने खानाको माग बढाएको हो ।

सहरका विभिन्न रेस्टुरेन्टले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसहित पस्किन थालेपछि रैथाने खानाले नयाँ पहिचान पाएको छ । कुनै समय ग्रामीण भेगको जीविकाको आधार मानिने सिस्नो, गुन्द्रुक र ढिँडोजस्ता रैथाने परिकार अहिले सहरका सुविधायुक्त पाँचतारे होटेल र सभ्रान्तहरूको भान्सामा पुगेको छ । सिनियर सेफ एवं सेफ सोसाइटी नेपालका अध्यक्ष एलपी कौशलका अनुसार नेपालका प्रमुख सहरका रेस्टुरेन्ट र होटेलमा नेपाली रैथाने खानाको माग र उपस्थिति क्रमिक रूपमा बढ्दै गएको छ । 

कतिपय पाँचतारे होटेलमा नेपाली रैथाने खानालाई ‘हिमालयन थाली’ वा ट्रेडिसनल नेपाली थालीका रूपमा समावेश गर्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘कतिपय होटेलमा गुन्द्रुक–भटमासको अचार, मासको बारा र स्थानीय चामलका परिकारले प्राथमिकता पाउन थालेका छन् । सिस्नो र गावाको सुपले विदेशी पर्यटक मात्र होइन, स्वदेशी पाहुनालाई समेत आकर्षित गरिरहेको छ ।’

कौशलको अनुभवमा अहिले धेरै रैथाने खाना मेनुमा देखिन थालेका छन् । बन्दीपुर पुग्नेले सिस्नो, गुन्द्रुक र भेडाको मासु खान पाउँछन् भने भैरहवा र नेपालगन्जका होटेलमा पाल्पाली बटुक र सेलरोटीलाई ब्रेकफास्ट मेनुमा अनिवार्यजस्तै बनाइएको छ । यद्यपि, पाँचतारे होटेलमा अझै पनि अन्तर्राष्ट्रिय खानाको तुलनामा नेपाली खानाको हिस्सा दुई प्रतिशत मात्र रहेको उनको भनाइ छ ।

सोल्टी होटेल समूह (द सोल्टी वेस्ट्रेन)का एक्जुकेटिभ सेफ आरबी बुढाथोकीका अनुसार पछिल्लो समय चारतारे, पाँचतारे लक्जरी होटेलहरूमा नेपाली पाहुनाको संख्या बढ्दै गएपछि मेनुमा नेपाली खानाको समावेश अनिवार्यजस्तै बनेको छ । सेफ बुढाथोकीका अनुसार अहिले धेरैजसो तारे होटेलका मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने परिकार समावेश हुने गरेका छन् । सोल्टी होटेल समूहले आफ्ना देशभर रहेका १२ वटा युनिटमा स्थानीय र रैथाने खानालाई प्राथमिकताका साथ मेनुमा राखेको उनी बताउँछन् ।

कागुनोको खिरदेखि परम्परागत छोइला, साँधेका परिकार, ढिँडो, गुन्द्रुक, मुस्ताङे आलु, भटमास साँधेको र आलुको अचारजस्ता परिकार लोकप्रिय छन् । त्यसैगरी, कर्णालीको जुम्ली मार्सी चामलको भात, जुम्ली दाल र मस्याङको दालजस्ता टिपिकल नेपाली परिकारले पनि विशिष्ट स्थान पाएका छन् । सेफ बुढाथोकी भन्छन्, ‘हामीले कोदो र फापरका परिकारलाई आधुनिक शैलीमा फ्युजन गरी पस्किन्छौँ । सोल्टी समूहले जर्मनीको फ्रान्कफर्टमा सञ्चालन गरिरहेका दुइटा आउटलेटमा पनि विगत दुई वर्षदेखि नेपाली खानालाई मुख्य मेनुमा समावेश गरेको छ । यसले नेपाली रैथाने स्वादलाई विश्वव्यापीकरण गर्न सहयोग गरेको छ ।’

सिनियर सेफ विष्णु राईका अनुसार अन्तर्राष्ट्रिय चेन होटेलमा कम्तीमा २० प्रतिशत स्थानीय परिकार राख्नुपर्ने ब्रान्ड स्ट्यान्डर्ड नै बनिसकेको छ । अन्तर्राष्ट्रिय चेन होटेलले आफ्नो ब्रान्ड स्ट्यान्डर्डमै कम्तीमा २० प्रतिशत स्थानीय परिकार समावेश गर्नुपर्ने नियम बनाएका छन् । यसले गर्दा थाली सेट, मःम र नेवारी छोइलाजस्ता परिकारलाई परिष्कृत रूपमा पस्कने अभ्यास बढेको छ ।

फेरिँदै होटेलका मेनु 
अहिलेका तारे होटल र अप–स्केल रेस्टुरेन्टमा २५ देखि ३० प्रतिशत नेपाली खानाका परिकारले ओगट्न थालेका छन् । विशेषगरी, थाली सेट, मःम र नेवारी छोइलाजस्ता परिकारले अन्तर्राष्ट्रिय चेन होटेलमा प्राथमिकता पाएका छन् । सेफ राईका अनुसार धेरैजसो ठाउँमा थकाली खानालाई नै केन्द्रमा राखेर मेनु व्यवस्थापन भइरहेको छ । यो व्यावसायिक रूपमा बढी सफल देखिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुरजस्ता सहरी क्षेत्रका रेस्टुरेन्टमा ढिँडो र मार्सी चामलको माग छ । पहिले मल्टी कुजिनमा केन्द्रित हुने रेस्टुरेन्ट पनि अहिले क्लासिक नेपाली खानामा मोडिन थालेको सेफ राईको भनाइ छ ।

‘सहरी क्षेत्रमा बस्ने मानिसले गाउँका रैथाने खाना रुचाएका छन् । रेस्टुरेन्टमा रैथाने खानाको माग बढे पनि पाँचतारे होटेलमा भने ढिँडोजस्ता परिकार अझै पनि सहजै उपलब्ध छैनन्,’ उनी भन्छन्, ‘होटेलमा नेपाली थाली सेट उपलब्ध भए पनि ढिँडो बनाउन प्रयोग गरिने परम्परागत विधि फलामको कराही र काठको पन्युले चलाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण यसलाई पूर्ण रूपमा अंगीकार गर्न सकिएको छैन ।’

विदेशी पर्यटक पनि नेपाल आउनासाथ यहाँको लोकल थट र वास्तविकता बुझ्न स्थानीय स्वाद चाख्न चाहन्छन् । यसै कुरालाई ध्यानमा राखेर नेपालका सेफले रैथाने खानामा नयाँ प्रयोगसमेत गर्न थालेको उनको अनुभव छ । राई भन्छन्, ‘सिस्नुको सुप मात्र नभएर अहिले सिस्नुको केकसमेत बनाउन थालिएको छ, जसलाई आधुनिक शैलीको ‘प्लेटिङ’मार्फत प्रस्तुत गरिन्छ ।’

महँगियो रैथाने खाना 
रैथाने खानाको बढ्दो आकर्षणसँगै यसको मूल्य पनि केही महँगो देखिन्छ । रैथाने खाना सामान्य मानिसले खाने होटेलमा दुर्लभ छ । गुन्द्रुक–सिन्की सहरमा पैसा तिरेर खान पनि सजिलो छैन । सहरका राम्रा रेस्टुरेन्टमा एउटा नेपाली थाली सेटको मूल्य ६ देखि आठ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । लोकल कुखुरा वा खसीको मासुसँगै सर्भ गरिने यस्ता सेटको मूल्य मार्केटिङ रणनीतिअनुसार फरक–फरक देखिन्छ । मार्सी चामल र ढिँडो सेटको मूल्य सामान्यतया ६०० देखि ८०० रुपैयाँको बिचमा छ । सेफ विष्णु राईका अनुसार रेस्टुरेन्टको स्तर र त्यसमा प्रयोग हुने मासुको प्रकार अनुसार मूल्यमा केही भिन्नता छ ।

लोकल कुखुरा वा खसीको मासुसँग यसको मूल्य करिब ७०० देखि ८०० रुपैयाँको हाराहारीमा पर्छ । कुखुराको मासुसँग यसको मूल्य ६५० देखि ६८० रुपैयाँसम्म पर्न सक्छ । यसको मूल्य अलि महँगो हुनुको मुख्य कारण सामग्रीको ढुवानी हो । मार्सी चामल, कोदो वा फापरजस्ता सामग्री दुर्गम र हिमाली क्षेत्रबाट सहरसम्म ल्याउनुपर्ने भएकाले यसको लागत बढ्न गएको हो । कतिपय रेस्टुरेन्टले मार्सी चामलको सेटमा अरूभन्दा ५० देखि १०० रुपैयाँ बढी शुल्क लिने गरे पनि धेरैले व्यावसायिक रणनीतिका रूपमा ६०० देखि ८०० रुपैयाँकै दायरामा यी परिकार बेचिरहेका छन् ।

मूल्यका हिसाबले यी परिकार सामान्य होटेलको तुलनामा केही महँगो हुने गरेका छन् । सेफ बुढाथोकीका अनुसार नेपाली सेट वा विशेष परिकारको मूल्य एक हजार रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ । गुन्द्रुक वा भटमास साँधेकोजस्ता खाजाका परिकारको मूल्य करिब ५०० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ । उच्चस्तरीय प्रस्तुति, बनावट र गुणस्तरीय सामग्रीका कारण मूल्य केही बढी देखिए पनि ग्राहकले यसलाई रुचाएको उनको अनुभव छ ।

परिकारमा विविधीकरण 
रैथाने एग्री फुड्स नेपाल प्रालिका संचालक तिलक ढकाल सहरमा कोदो र फापर मात्र नभई अन्य धेरै प्रकारका रैथाने बाली तथा तिनका परिकार भित्रिएको बताउँछन् । उनी भन्छन्, ‘अहिले सहरमा कागुनो र चिनोको माग निकै बढेको छ । विशेषगरी कागुनोको खिर, सेलरोटी, भात र कुकिज सहरका होटेल तथा हाटबजारमा उपलब्ध हुन थालेका छन् । चिनोलाई पनि स्वास्थ्यवर्द्धक भातको रूपमा प्रयोग गरिन्छ ।’

ग्रामीण क्षेत्रमा परम्परागत रूपमा खाइने मकैको ढिँडो अहिले सहरका रेस्टुरेन्टमा निकै चल्तीमा छ । हिमाली र पहाडी क्षेत्रबाट जौ र उवाजस्ता बाली पनि सहरमा आउने गरेका छन् । हिमाली क्षेत्रको स्वाद र विशिष्टताका कारण लेकाली आलु र जिम्बुजस्ता वस्तु पनि सहरका उपभोक्ताको रोजाइमा परेका छन् । रैथाने बालीकै रूपमा मिठे फापरको पिठो पनि सहरमा भित्रिएको छ ।

त्यस्तै, अन्य प्रशोधित वस्तु, बालीका अतिरिक्त रैथाने प्रविधिबाट तयार पारिएका गुन्द्रुक, मस्यौराजस्ता वस्तु पनि गाउँबाट सहर भित्रिएका छन् । विभिन्न क्षेत्रका विशिष्ट परिकार, जस्तै– सुदूरपश्चिमको ‘माडा रोटी’ र बागमती क्षेत्रको ‘योमरी’ पनि सहरका हाटबजार र होटेलमा पुगेका छन् ।

पहिले कोदोको ढिँडो निम्न आय भएका वर्गले खाने भन्ने सोच थियो, तर अहिले यो वर्गसँग नभई स्वास्थ्यसँग जोडिएको छ । अहिले स्वास्थ्यका लागि ढिँडो, फापर र कागुनो खानुपर्छ भन्ने सोच सहरका मानिसमा आएको छ,’ ढकाल भन्छन् ।

ढकाल सहरमा रैथाने खाना भित्रिनुको पहिलो कारण स्वास्थ्यप्रतिको सचेतना देख्छन् । उनी भन्छन्, ‘हाइब्रिड बाली र अत्यधिक विषादीको प्रयोगले गर्दा मानिसको स्वास्थ्य मात्र नभई प्रकृति र वातावरणको स्वास्थ्य पनि बिग्रियो । सहरमा बस्ने मान्छेको स्वास्थ्य खानाकै कारणले बिग्रियो, त्यसैले अब शुद्ध, पौष्टिकतायुक्त र स्थानीय खाना खानुपर्छ भन्ने सचेतना बढेपछि रैथाने खानाले सहरमा प्रवेश पायो ।’

बसाइँ सर्दा जिब्रोको स्वाद र संस्कृति पनि सँगै सर्यो । मानिस मात्रै सहर पसेन, उसले आफ्नो कला, संस्कृति, इच्छा, चाहना र आफ्नो जिब्रोको स्वाद पनि सँगै लिएर आयो । सहरमा बस्ने अधिकांश मानिस ग्रामीण परिवेशबाट आएकाले उनीहरूलाई आफ्नै गाउँघरको स्वाद प्यारो लागेको र यसैकारण रैथाने खाना सहरका भान्सामा छिरेको ढाकालको विश्लेषण छ ।

अहिलेको नयाँ पुस्तालाई आकर्षण गर्न रैथाने बालीका परम्परागत परिकारलाई आधुनिक रूप दिइएको छ । पहिले कोदोको ढिँडो वा रोटी मात्र हुन्थ्यो भने अहिले कोदोको कुकिज, सुप, बिस्कुट, मःम र फापरको मःमजस्ता विविधीकृत परिकार बन्न थालेका छन् । यसले गर्दा नयाँ पुस्ताले पनि रैथाने स्वादलाई मन पराउन थालेको उनी बताउँछन् ।

अहिले रैथाने एग्रो फुड्स नेपालजस्ता संस्थाले देशभरका करिब १० हजार किसानलाई बजारसँग जोडेका छन् । यसमा एक सय समूह, सहकारी र ६ वटा पालिकासँगको प्रत्यक्ष समन्वय रहेको छ । हिमाल, पहाड र तराईका दुर्गम भेगमा फल्ने रैथाने बालीलाई सहरको भान्सासम्म पुर्याउने बलियो संयन्त्र निर्माण भएको छ ।

यसको सीधा फाइदा किसानलाई पुगेको छ । ढकालका अनुसार आजभन्दा पाँच वर्षअघि किसानबाट ३५ रुपैयाँ प्रतिकिलोमा खरिद गरिने कोदो अहिले ८० देखि ९० रुपैयाँमा खरिद गरिँदै छ । बजार सिर्जना हुनु र परिकारमा विविधीकरण गरिनुले किसानले आफ्नो उत्पादनको उचित र उच्च मूल्य पाउन थालेका छन् ।

ढकालका अनुसार किसान र उपभोक्ताबिचको सेतु सहरका विभिन्न ठाउँमा (धापासी र सामाखुसी) सञ्चालित साप्ताहिक हाटबजारले करिब ३०० किसान तथा उद्यमीलाई उपभोक्तासँग सीधै जोडेका छन् । यस्ता बजारमा किसानले आफूले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा, माडा रोटीजस्ता वस्तु सीधै बेच्न पाउँछन्, जसले गर्दा मध्यस्थकर्ता वा बिचौलियाको भूमिका कम भई किसानले बढी नाफा कमाउन सक्ने उनको अनुभव छ ।

बजार अब केवल कच्चा खाद्यान्न बिक्रीमा मात्र सीमित छैन । उपभोक्ताको स्वाद र नयाँ पुस्ताको चाहनाअनुसार बजारले कोदोको कुकिज, फापरको मःम र कागुनोको खिरजस्ता परिकार माग गरिरहेको छ । यसरी परिकारमा विविधता आउँदा बजारको दायरा फराकिलो भएको छ । यसले किसानलाई हौसला थपेको छ ।

परम्परागत परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै सोल्टीजस्ता होटेलले नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयास गरिरहेका छन् । सोल्टी (द सोल्टी वेस्ट्रेन)का एक्जुकेटिभ सेफ आरबी बुढाथोकीका अनुसार रैथाने परिकारलाई विशेष प्रस्तुतीकरणका साथ पस्किँदा ग्राहकमा आकर्षण बढेको छ । उनी भन्छन्, ‘हामीले परम्परालाई जोगाउँदै आधुनिकता थपेका छौँ । रैथाने खानालाई पाँचतारेस्तरमा उकास्नु केवल स्वादको कुरा मात्र नभई सांस्कृतिक पहिचानको पुनर्स्थापना पनि हो ।’

रैथाने खानाको उचाइ, किसानको पीडा उस्तै
सहरका पाँचतारे होटेलमा रैथाने खानाको माग र मूल्य दुवै उकालो लाग्दै गर्दा यसको जरोमा रहेका किसान भने अझै समस्यासँग जुधिरहेका छन् । गुन्द्रुक, ढिँडो, तामा, सिन्की, भटमास, सिस्नो, मार्सी चामल, सिमीजस्ता परिकार अहिले ‘प्रिमियम मेनु’को हिस्सा बनेका छन् । तर, तिनै खाद्यान्न उब्जाउने किसानले न बजार पाएका छन्, न उचित मूल्य ।

मौलिकताका नाममा व्यापार र भ्रम दुवै मौलाएको पनि छ । अहिलेका उपभोक्ता रोगव्याधिबाट बच्न स्वस्थ र पोषणयुक्त खाना खोज्दै गाउँका रैथाने उपजतिर फर्किएका छन् । तर, बजारले गाउँको मौलिकतालाई टपक्क टिपेर व्यापारको हतियार बनाएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी भन्छन्,‘गाउँको कुन चिज राख्दा बिक्छ, कुन मौलिक नामले उपभोक्तालाई आकर्षण गर्न वा झुक्याउन सकिन्छ भन्नेमा मात्र बजारको ध्यान छ ।’

यसको ज्वलन्त उदाहरणका रूपमा काठमाडौंका अर्ग्यानिक मार्ट र अनलाइन पसललाई लिन सकिन्छ । ती पसलले कर्णालीका सामान बेच्ने दाबी गरे पनि वास्तविकता भने फरक छ । ‘किसानले रैथाने बालीको प्रवर्द्धनमा केही योगदान दिए पनि सरकारी अनुगमन फितलो हुँदा उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले रैथानेका नाममा अन्य बालीको तुलनामा न्यूनतम १० देखि २० प्रतिशत बढी मूल्य तिरिरहेका छन्, तर त्यसको लाभांश वास्तविक किसानसम्म पुगेको छैन,’ उनी भन्छन्, ‘हामीले खाइरहेको कोदो वा च्याँख्ला नेपाली नै हो कि छिमेकी मुलुकबाट आयातित हो भन्ने स्पष्ट छैन । नेपालमा कोदोको उत्पादन क्षेत्र घट्दो छ, तर बजारमा कोदोको व्यापार बढेको छ । यसको कुनै अध्ययन नै भएको छैन ।’

कृषि मन्त्रालयअन्तर्गतका एकाइले रैथाने बालीको कुरा गरे पनि राज्यको मूल नीतिमा यो अझै पर्न सकेको छैन । तीनवटै तहका सरकारको प्राथमिकतामा धेरै फल्ने र आयातित बाली मात्रै छन् । जलवायु अनुकूलन र जैविक विविधताका लागि महŒवपूर्ण मानिने रैथाने बालीलाई प्रवर्द्धन गर्न राज्यले ठोस कदम चाल्न सकेको देखिन्न ।

कृषि क्षेत्रमा आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनका नारा बारम्बार दोहोरिए पनि व्यवहारमा प्रभावकारी नीति र कार्यान्वयनको कमी देखिएको छ । विज्ञका अनुसार यदि ढुवानी, बजार पहुँच र मूल्य निर्धारणमा राज्यले हस्तक्षेप नगर्ने हो भने रैथाने खानाको ‘ब्रान्डिङ’ केवल सहरको विलासितामै सीमित रहनेछ । रैथाने खानाले सहरमा प्रतिष्ठा पाएको छ, तर त्यसको लाभ किसानसम्म पुग्न सकेको छैन । गाउँमा उत्पादन भएको खाना सहरमा महँगो छ, तर उत्पादक र उपभोक्ता दुवै सन्तुष्ट छैनन् । यसबिचको खाडल पुर्न राज्यको सक्रिय भूमिका अपरिहार्य देखिन्छ । अधिकारीका अनुसार व्यापारीले मात्र फाइदा लिने तर किसानले उचित मूल्य नपाउने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्र बलियो हुनुपर्छ ।

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने ग्यारेन्टी सरकारले गर्नुपर्छ । अधिकारी भन्छन्, ‘यदि किसानले उचित मूल्य पाउने सुनिश्चितता भयो भने मात्र उनीहरूले खेतीको क्षेत्रफल बढाउँछन् । अन्यथा, बाँझो जमिन बढ्दै जाने र आयात झन् बढ्ने खतरा रहन्छ ।’

०००

प्रतिनिधिसभा सांसद तथा कृषि वैज्ञानिक डा. सुजाता तामाङ रैथाने बाली तथा स्थानीय खाद्य प्रणालीको प्रवर्द्धनसँगै त्यसमा देखिएका बेतिथि र चुनौतीप्रति राज्य गम्भीर हुनुपर्ने बताउँछिन् । किसानले उत्पादन गरेका रैथाने बाली तथा खाद्य सामग्री बजारसम्म प्रत्यक्ष रूपमा जोडिन नसकेको उनको बुझाइ छ । ‘गाउँघरका अधिकांश रैथाने उत्पादन किसानको बारीबाटै व्यापारी तथा मध्यस्थकर्ताले खरिद गर्ने गरेको पाइन्छ । जसले किसानले बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यमा ठुलो खाडल छ । किसानले उचित मूल्य पाएका छैनन् । किसानका लागि मध्यस्थकर्ता पनि आवश्यक पर्छ । तर, किसान र उपभोक्ताबिच सुहाउँदो मूल्य हुनुपर्छ,’ उनले भनिन् ।

उनका अनुसार उपभोक्ताले महँगो मूल्य तिरेर खरिद गरे पनि ती उत्पादन साँच्चै स्थानीय किसानकै बारीबाट आएको हो वा होइन भन्नेमा अन्योल देखिन्छ । रैथाने खानाको प्रवर्द्धन सकारात्मक भए पनि त्यसमा मिसावट, गलत प्रचार तथा व्यावसायिक दुरुपयोग बढ्दै गएको उनको टिप्पणी छ । रैथाने र स्थानीय नामलाई केवल व्यापारसँग जोडेर गलत अभ्यास भइरहेको उनको बुझाइ छ । स्थानीय उत्पादन केवल निर्यात र सहरकेन्द्रित मात्र नभई स्थानीय उपभोग, परिवारको स्वास्थ्य र खाद्य सुरक्षासँग पनि सम्बन्धित हुनुपर्ने उनको भनाइ छ । 

गाउँघरमा रैथाने बाली तथा बिउ हराउँदै गएकोप्रति उनको चिन्ता छ । जलवायु परिवर्तन, वातावरणीय असर तथा विगतमा सरकारले उन्नत बालीको नाममा आयातीत बिउ वितरण गरेका कारण स्थानीय बाली संकटमा परेको उनको भनाइ छ । विगतका नीतिगत कमजोरी सच्याउँदै रैथाने बाली संरक्षणमा राज्यले स्पष्ट नीति र कानुनी व्यवस्था गर्नुपर्ने उनको जोड छ । उनी भन्छिन्,‘गाउँघरमा रैथाने बालीको बिउ हराउँदै गइरहेको छ । कतिपय ठाउँमा किसानले जोगाउन सकेको छैन । कतिपय ठाउँमा जलवायु परिवर्तनका कारणले रैथाने बालीहरू लोप भएका छन् । सरकारले पहिले बालीलाई उन्नत बनाउने नाममा आयातीत बिउ बाँड्यो । जसले गर्दा रैथानै बिउ हराए । हिजो भएको गल्तीलाई अब सच्याउनुपर्छ ।’ 

सुझावित समाचार