संघीयताविज्ञ खिमलाल देवकोटालाई ३ प्रश्न

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

प्रदेशका सरकारहरू किन अस्थिर देखिएका होलान् ?
हाम्रा राजनीतिक दलहरूले बदलिँदो परिस्थितिअनुसार आफूलाई ढाल्न सकेनन् । उनीहरूले सच्चिने कुनै छाँट देखाएनन् । जेनजी आन्दोलनको रापतापमा कतै प्रदेश संरचना नै खारेज हुने त होइन भन्ने प्रश्न उठिरहेको समयमा पनि न प्रदेशमा राजनीति गर्नेहरू सच्चिए न त दलहरू नै केन्द्रीकृत मानसिकताबाट माथि उठ्न सके । प्रदेशको राजनीति जहिल्यै पार्टी केन्द्रको छायामा पर्यो । पार्टीहरूका केन्द्रले संघीयताको मर्म नै बुझेनन् । उनीहरूले प्रदेशलाई अधिकार दिने विषयमा जहिल्यै कन्जुस्याइँ गरे । संविधान जारी भएको १० वर्षसम्म पनि प्रहरी, निजामती र शिक्षालगायत ऐन ल्याउन यिनलाई केले रोकेको थियो ? अब पनि दलहरू सच्चिएनन् भने आगामी प्रदेश निर्वाचनमा यी सक्किन्छन् । 

मधेश प्रदेशको पछिल्लो राजनीतिक किचलोले के संकेत गरेको छ ?
हाम्रा हरेक प्रदेशमा जे भइरहेको छ, त्यो सधैँ गलत नै भइरहेको छ । अहिले मधेशमा सिके राउतजीले पनि गलत गरिरहनुभएको छ । उहाँहरूले राजनीति गर्न नजानेको हो कि के हो ? बदलिँदो परिस्थितिमा प्रदेश संचरनालाई चुस्त बनाउने दिशामा कसैको पनि ध्यान गएको छैन । सबै सत्ताका लागि मात्र दौडधुप गरिरहनुभएको छ । सबैलाई मौका यही हो भन्ने परेको छ । त्यसैको प्रकटीकरण हो, मधेश प्रदेशको पछिल्लो राजनीतिक किचलो ।

प्रदेशलाई प्रभावकारी बनाउन र राजनीतिक स्थिरता ल्याउन के गर्नुपर्ला ?
पुराना पार्टीहरूले सुध्रिने छाँट देखाएनन् । अहिले संविधान संशोधनको विषय बहसमा छ । संविधानले प्रदेशलाई विकासको वाहक बनाएको छ । त्यसैअनुरूप अब प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था ल्याएर बढीमा सात सदस्यीय चुस्त मन्त्रिपरिषद् बनाएर राजनीतिक स्थायित्व कायम राख्ने व्यवस्था ल्याउनुपर्छ ।  

सुझावित समाचार